महामन्त्रीमा गगन र विश्वप्रकाशसँग भिड्ने प्रदीप पौडेलको घोषणा

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १४ औं महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। युना नेता पौडेलले गृह जिल्ला तनहुँमा आयोजित एक कार्यक्रममा आफू कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भएको घोषणा गरेका हुन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा भएको चियापान कार्यक्रममा पुगेर पौडेलले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरे। उनले पार्टीमा आफूले पाएका सबै जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गरेको बताउँदै त्यसको मूल्यांकन अब हुनुपर्ने बताएका छन्।

‘मैले पाएको जिम्मेवारीमा परीणाम आउने गरी काम गरेको छु र त्यसको मूल्यांकन पार्टीपंक्तिले गरेको नै छ। समस्याको पहिचान गरेर समाधान दिनसक्ने व्यक्तिले नै जिम्मेवारी लिने हो,’ पौडेलले भने, ‘त्यसैले आसन्न महाधिवेशनमा मैले कांग्रेसको महामन्त्रीमा उठ्ने निर्णय गरेको छु। तपाईंहरू सबैको सहयोग र सद्भावको अपेक्षा छ।’

नेता पौडेलले कांग्रेस महामन्त्रीका रुपमा गर्नुपर्ने सबै कामहरु गरी आन्तरिक लोकतन्त्रको सुदृढीकरण र संगठनलाई सबल बनाउन भूमिका खेल्ने बताए। नेविसंघ र पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव स्मरण गर्दै पौडेलले महामन्त्री पदमा उठ्ने निर्णय गरेको जानकारी दिएका छन्।

कार्यक्रममा पौडेलले भने, ‘मेरो धेरै लामो अनुभव भैसक्यो । जटिक समस्या सामाधान गर्ने विषयमा पनि मेरो अग्रसरता देखिइसक्यो । समस्या के हो भन्ने पनि थाहा छ र समाधानका उपाय के हुन् भन्नेमा पनि म स्पष्ट नै छु । त्यसैले नेपाली कांग्रेसकाे संगठन चुस्तदुरुस्त र प्रभावकारी बनाउनका लागि मेरो उम्मेद्वारी महामन्त्री पदमा नै हुन्छ।’

कांग्रेसको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने पौडेल तेस्रो नेता हुन्। यसअघि गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको सदस्यमा रहेर काम गरिरहेका कारण पौडेलले महामन्त्री पदको उम्मेदवारी घोषणा गरिसकेका थिएनन्। पौडेलले क्रियाशिल सदस्यता विवाद सकिएपछि आफूले यसबारे निर्णय गर्ने बताउँदै आएका थिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.