भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ? (नामसहित)

काठमाडौं । सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका छन् ।

‘मन्त्रिपरिषद् विस्तारको सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘भोलि दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

हिजो सत्तारुढ दलको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । बाँडफाँटअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको एक नेताले जानकारी दिए ।

सत्तारुढ तीन दलले एक/एक राज्यमन्त्री पाउने सहमति गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी रहने चार जना मन्त्रीको टुंगो लगाएको हो ।

माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो ।

यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन् ।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार/चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एक/एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

काँग्रेसबाट कोको ?
काँग्रेस स्रोतका अनुसार काँग्रेसबाट दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । सो समूहबाट तेजुलाल चौधरीसमेत मन्त्री बन्ने कसरतमा छन्। सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने छन्।

यस्तै काँग्रेस संस्थापनबाट पुष्पा भुषाललाई समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्मा ल्याउँदै छन्। बडु र रिजाल काँग्रेस भित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्। यस्तै प्रधान र चौधरी सिटौला समूहका हुन्। भुषाल भने देउवा निकट हुन्।

यस्तै सरकारमा हाल कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने सञ्चार मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने यथावत् राख्ने कि हटाउने भन्ने प्रधानमन्त्रीको निर्णयमा भर पर्छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए। यस्तै १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए। यस्तै ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए। देउवा क्याबिनेटमा हाल रहेका सबै मन्त्री पार्टी भित्रको उनकै समूहसँग आबद्ध छन्।

नेकपा एसबाट कोको ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि ५ मन्त्री र एक राज्यमन्त्री बन्नेछन्। सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट सरकारमा सहभागी हुने पक्का छ। सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्ने छन्।

जसपाबाट यी नाम चर्चामा
जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ। प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन्।

यस्तै जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मध्येबाट चार जना मन्त्री हुने छन्।