रुपन्देही । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । मेयर सुवेदीमाथि आक्रमण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर भएको छ। बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए ।
सुवेदीमाथि आक्रमण गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।
सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आग्रह नगरेको बताएको छ ।
प्रहरी प्रमुख केसीले भने– ‘त्यस विषयमा अहिलेसम्म कसैले केही भनेको मलाई जानकारी छैन । हामी अनुसन्धानको प्रक्रियामा छौं ।’मेयरमाथि मुक्का प्रहार गर्ने पंगेनी एमाले कार्यकर्ता हुन् । उनी एमाले निकट अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका छन् ।