पूर्वयुवराज पारस शाहको निवासमा चोरी, कामदार पक्राउ

काठमाडौं । पोखरास्थित पूर्वयुवराज पारस शाहको निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरी भएकाे हाे ।

चाेरी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतम चाेरीकाे आरोपमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार पूर्वयुवराज शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको हाे ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेकाे छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । पक्राउ परेका गौतम शाहको निवासका कामदार हुन् ।