काठमाडौंका विभिन्न स्थानबाट २ सय ७ पाकेटमार पक्राउ, यस्ता छन् काेड भाषा

काठमाडौं । काठमाडौंमा २ सय ७ पाकेटमार पक्राउ परेका छन् ।

प्रहरीले चाडपर्वमा हुनसक्ने चोरी डकैती कम गर्नलाई लागु गरेको सुरक्षा योजना अन्तर्गत उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । प्रहरीले चाडपर्वलक्षित विशेष योजनाअगावै बसपार्क तथा सार्वजनिक यातायातहरुमा पाकटेमारी गर्नेहरुमाथि निगरानी राखेको थियो ।

यातायात व्यवसायीहरुको सहकार्यमा सादा पोसाकमा प्रहरी खटिई भदौ २५ गतेदेखि असोज १५ गतेसम्ममा २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार २०७ जनामध्ये १६१ जना माथि अनुसन्धान भइरहेको, ४६ जनामाथि अनुसन्धान भई कारागार चलान गरिएको छ । विभिन्न स्थानमा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पाकेट तथा झोलामा रहेका नगद मोबाइल, गरगहना, चोर्दा रंगेहात उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पकेटमारहरु २/२ जनाको समूह बनाएर एउटा बसमा ६ जनासम्म प्रवेश गर्ने, त्यसपछि पकेट मार्ने यात्रुको पहिचान गरी घेराबन्दी पारेर ठेलमेल गरी सामान चोरेर बसबाट झर्ने शैली अपनाउने गरेको पनि खुलेको छ ।

पकेट मार्दा चोरले सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन् । जस्तै, पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पाकेट पीडितलाई ‘रामे’, पाकेट मार्ने व्यक्तिलाई ‘काशी’, धेरै पैसा छ भन्न ‘टानको द’, थोरै पैसा उल्लेख गर्न ‘जुटको द’, गाडीलाई ‘काँचा’, केटा मान्छेलाई ‘छापा’, केटीलाई ‘भद्री’, पुलिस आयो भन्न ‘ठूल्दाई आयो’, ड्राभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भाग भन्न ‘टप्की’, गाडीभित्र अगाडि सर भन्न ‘अकल जा’ र पछि सर भन्न ‘चिछल जा’ जस्ता सांकेतिक भाषा पनि प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।