काठमाडाैँ । चीनले नेपाली भूमि अतिक्रमण गरेकाेप्रति राष्ट्रिय एकता अभियान भूमि व्यवस्था, सहकारी तथा ग़रीबी निवारण मन्त्रीकाे ध्यानाकर्षण गराएकाे छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति अभियानका अध्यक्ष विनय यादवले ज्ञापन पत्र बुझाउँदै भूमि मन्त्री शशी श्रेष्ठकाे ध्यानाकर्षण गराएका हुन् ।
साेही क्रममा भूमि मन्त्री श्रेष्ठले ज्ञापन पत्र बुझदै मिचिएकाे सीमा बारे कूटनीतिक तवरबाट छलफल गरिने बताइन् । उनले भनिन्, ‘ जहाँ-जहाँ चीनले सीमा मिचेकाे छ, त्यहाँ त्यहाँ अनुगमनकाे साथै सत्य तथ्यकाे छानवीन गरिन्छ, अनि त्यस पश्चात कूटनीतिक तवरबाट भूमि फिर्ता ल्याउन छलफल गरिन्छ।’
अध्यक्ष यादवले भने, ‘अन्तर्राष्ट्रिय कानुन र मुल्यमान्यताको उल्लंघन गर्दै नेपाल-चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भैइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पुर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो।’उनले चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक-पटक प्रहार हुँदै आइरहेकाे छ ।
ज्ञापन पत्रमा भनिएकाे छ, हालको सरकार गठन भएको सुरुआती अवस्थामा नै नेपाल-चीन सीमामा हुने अतिक्रमणहरूविरुद्ध चालिएको कदमहरू प्रशंनीय थिए । सरकारको सुरूआती कदमहरूले राष्ट्रवादी जनता उत्साहित थिए। यद्यपि सरकारले गरेका कुटनैतिक प्रयासहरूको वावजुद पनि सीमा अतिक्रमण जारी हुनु दु:खद छ। सरकारबाट सीमा रक्षाका लागि गरिएको प्रयासहरूवाट अपेक्षित परिणाम हासिल हुनसक्दा नेपाली जनता पुनः दुखित र अधैर्य भएको छ।’
अध्यक्ष यादवले तसर्थ, हामी यस सरकारबाट सीमा अतिक्रमणबारे निर्णायक र कठोर कदम चालिने अपेक्षा राख्दै सरकारका हरेक कदमहरू अभियानको पुर्ण सर्मथन र सहयोग रहने प्रतिबद्धता जनाउँन यो ज्ञापनपत्र बुझाइएको बताए । अभियान नेपाली सीमाको रक्षाको लागि स्थापनाकाल देखि नै आवाज उठाउदै आएको एक राष्ट्रभक्त संस्था रहेकाे उनले बताए ।
