काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ। जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् ।
भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ । कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा सर्वसाधारण नागरिकको चासो बढ्दो छ ।
नेपालमा कोभिड–१९ का संक्रमण वा संक्रमणमुक्त भएका बिरामीमा यसको संक्रमण देखिए पनि यसबाट मृत्यु भएको आधिकारिक पुष्टि भने सरकारले गरेको छैन । तर वीरगञ्ज र बाँकेका अस्पतालहरुमा यसको संक्रमण देखिएका बिरामीको मृत्यु भएको चिकित्सकहरु बताउँछन् ।
सर्वसाधारण नागरिकको यही चासो तथा जिज्ञासालाई सम्बोधन गर्ने प्रयास स्वरुप नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको संगठनका महासचिव एवं शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. योगेश न्यौपाने को सुझावलाई प्रस्तुत गरेका छौं :
कालो ढुसी के हो ?
म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।
सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ । जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ ।
पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन् । यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्याउनु आवश्यक छ ।
प्रारम्भिक लक्षण के–के हुन् ?
अनुहार, नाक, मुख, आँखा वरिपरि दुख्ने ,आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, नाकबाट रगत जस्तो तरल पदार्थ बग्ने, बाक्लो सिंगान आउने, आँखाको ढकनी सुनिने र दुख्ने, आँखाले धमिलो देख्ने, दाँत दुख्ने वा हल्लिने, टाउको भारी हुने, ज्वरो आउने. अचेत हुने, बरबराउने हुन्छ
कतिखेर अस्पताल भर्ना हुने ?
जुनसुकै उमेर समूहका मानिसमा कोलो ढुसीको संक्रमण हुनसक्छ । तर नेपालको सन्दर्भमा १८ देखि ६० वर्ष उमेर समूहमा देखा परेका छन् । कालो ढुसीका लक्षणहरु देखा परेमा नजिकैको अस्पताल जानुपर्छ ।
चिकित्सकहरुले आवश्यकता अनुसार परीक्षण गरेर यसको पहिचान गर्छन् । फङ्गल टेस्टदेखि लिएर एमआरआईमार्फत यसको परीक्षण गरिन्छ । परीक्षणमार्फत शरीरको कुन–कुन भागमा यसको इन्फेक्सन देखिएको छ सोही अनुसार चिकित्सकहरुले उपचार प्रक्रिया अगाडि बढाउँछन् ।
के छ उपचार विधि ?
यसको उपचारका क्रममा स्लाइनबाट दिने औषधि १० देखि १४ दिनसम्म दिनुपर्ने हुन्छ । त्यसपछि पोसाकोनाजोल नामक खाने औषधि बिरामीको अवस्था हेरेर एकडेढ महिनाका लागि दिइन्छ ।कालो ढुसीको उपचारमा विशेषतः ‘एम्फोटेरिसिन बी’ इन्जेक्सन मार्फत औषधिको प्रयोग गरिन्छ ।
यो औषधि अनिवार्य हो । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ । यसको संक्रमण विशेष गरी नाक, आँखा, साइन, मस्तिष्क लगायतको भागमा हुन्छ । आँखामा यसको संक्रमण गम्भीर भए नानी नै निकाल्नुपर्ने हुन्छ ।
कस्ता व्यक्तिलाई हुन सक्छ उच्च जोखिम ?
यो कुनै नयाँ रोग होइन । तर यो एकदम दुर्लभ संक्रमण हो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । त्यसैले यो रोग सरुवा होइन । तर यो संक्रमण निकै गम्भीर हुन्छ, संक्रमण बढ्दै जाँदा यो प्राणघातक पनि बन्न सक्छ ।