कांग्रेस-एमाले छलफल : सरकारका प्रवक्ता यसो भन्छन्

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफल सकिएको छ । बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक सकिएसँगै एमाले नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता सहभागी थिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गरौं, सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौं भन्नु भयो’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीले पुरानै कुरा राख्नु भएको छ। जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यसको निराकरण नहुँदा सम्म संसदमा आएर विचार राख्न कठिनाइ छ भन्नु भएको छ ।’

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन यो वार्ता जारी रहने कुरामा नेताहरु सहमत भएको उनको भनाइ छ । समस्या समाधान चाँडै गर्नुपर्छ भन्नेमा नेताहरु सहमत भएपनि निष्कर्ष ननिस्किएको उनको भनाइ छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.