अवैध रकमसहित दुई जना पक्राउ

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी भारतीय रु तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम रु २७ हजारसमेत बरामद भएको छ । “भारतीय र नेपाली रकम गरी दुवैबाट रु पाँच लाख सात हजार रकम बरामद भएको छ”, उनले भने, “यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ ।” विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.