काठमाडाैं । चिनियाँ व्यापारीको दबदबा बढेको भन्दै केन्यामा चीनविरुद्ध प्रदर्शन भइरहेकाे समाचारलाई काठमाडाैँका लाेकल व्यापारीहरुले गहन रुपमा अध्यन गरिरहेका छन् ।
चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धराशायी बनाएको विरोधमा केन्यामास्थानीय व्यापारी सडकमा उत्रिएकाे समाचार विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यममा आइरहेका छन्।
केन्याको जस्तै हालत काठमाडौंको ठमेलमा पनि भएको छ। यहाँका व्यापारी प्रदर्शनमै त उत्रिएका छैनन् तर चिनियाँ व्यापारीको मारमा भने परेका छन्। चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राजले स्थानीय व्यापारीलाई चिन्तित बनाएको छ।
काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा केही वर्षयता चिनियाँ व्यापारीहरु बाक्लिएका छन् र यसले नेपाली व्यवसायीको मनोबल खस्किएको छ।
नेपालमा विदेशी पर्यटकको रोजाइको गन्तव्य हो ठमेल। विदेशी पर्यटकको बाक्लो आगमनका कारण नै ठमेलले आफ्नोपन पाएको हो। यहाँ ठूलाभन्दा स(साना व्यवसाय बढी फस्टाएका छन्। होटल(रेस्टुराँसँगै पश्मिना, हस्तकला, सोभेनियर, कफी पसल, मनी एक्सचेन्ज, ट्रेकिङ, टुरलगायत व्यवसाय ठमेलको जीवनसँग गाँसिएका छन्। तर पछिल्लो समय यसमा चिनियाँको दबदबा बढेको छ।
स्थानीय व्यवसायीहरुका अनुसार दशक अघिसम्म यहाँका सबै व्यवसायका होर्डिङ बोर्डमा नेपाली र अंग्रेजी अक्षर हुन्थे, अहिले चिनियाँ अक्षर पनि थपिएका छन्। चिनियाँहरुको लगानी रेस्टुराँ र होटलमा सीमित छैन, कार्गो र ट्राभल एजेन्सीमा पनि फैलिरहेको छ। चिनियाँ लगानीका व्यवसायबारे कुनै निकायसँग आधिकारिक विवरण उपलब्ध छैन। चिनियाँहरु खासगरी रेस्टुराँमा लगानी बढाइरहेका छन् र ती रेस्टुराँ चीनबाटै आउने पर्यटक लक्षित छन्। ज्याठा क्षेत्रमा चिनियाँ लगानी र व्यवस्थापनका रेस्टुराँ धेरै छन्।
सातघुम्ती र क्षेत्रपाटीमा पनि चिनियाँ व्यवसायीको वृद्धि देखिन थालेको छ। चिनियाँहरुको चासो हेल्थ क्लिनिकमा पनि थालेको छ। अक्युपन्चर पद्धतिबाट उपचार गरिने यस्ता केन्द्रको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ। चिनियाँ लगानी बढ्दै गर्दा वर्षौंदेखि जोगाइएको ठमेलको मौलिकता जोखिममा पर्दै गएकोमा चिन्ता व्यक्त गर्छन् नेपाली व्यवसायी। मौलिकता जोगाउने ठोस नीति राज्यले ल्याउनुपर्ने उनीहरुको माग छ।
ज्याठामा एउटा कम्प्लेक्सको नाम नै चाइना टाउन छ। उक्त कम्प्लेक्सका अधिकांश व्यवसायी चिनियाँ नै छन्। चिनियाँहरुले त्यस क्षेत्रमा चिनियाँ कलाकृतिका गेटहरु पनि बनाएका छन्। ठमेलमा चिनियाँ बजारको झल्को दिने उनीहरुको प्रयास छ।
