चिनियाँ विद्युतीय गाडी रोक्न अमेरिकाले भन्सार शुल्क अत्यधिक बढाउने

एजेन्सी । अमेरिकाले चीनमा निर्मित विधुतीय सवारीमा सतप्रतिशत भन्सार शुल्क लगाउने तयारी गरिरहेको छ। सस्तो मूल्यका चिनियाँ गाडीले अमेरिकी बजारमा स्थानीय कार कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको भन्दै बाइडेन प्रशासनले यस्तो निर्णय गर्न लागेको समाचारहरुमा उल्लेख गरिएको छ ।

ब्लुमबर्ग र सिएनबिसी लगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरे अनुसार यस्तो थप शुल्क यही मंगलबार नै घोषणा हुने तयारी छ। अमेरिकाले बिजुलीबाट चल्ने चिनियाँ कारहरुमा अहिले २५ प्रतिशत भन्सार शुल्क लिँदै आएको छ।

समाचारहरुमा उल्लेख भए अनुसार बिजुली गाडी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा समेत यस्तो शुल्क बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघीको ट्रंप प्रसाशनले लगाएका करहरुको समिक्षा गरिअरेको बताएको बाइडेन प्रशासनले यसप्रकार भन्सार शुल्क थप गर्न लागेको हो। राष्ट्रपति बाइडेनले गएको महिनामा नै पेन्सल्भेनिया राज्यको भ्रमणका क्रममा चिनियाँ स्टिल र आल्युमिनियममा तीन गुणा शुल्क थप्न चाहेको बताएको न्युयोर्क टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ।

अमेरिकाले चीनमाथि आन्तरिक रुपमा विधुतीय गाडी, सेमीकन्डक्टर लगायतका उद्योगहरुलाई ठुलो अनुदान दिएर सस्तोमा उत्पादन गरी विश्व बजार कब्जा गर्ने रणनीति अख्तियार गरेको आरोप लगाउँदै आएको छ।

विद्युतीय सवारी साधन, सोलार प्यानल लगायतका हरित औद्योगिक क्षेत्रमा चीन धेरै अगाडि बढेपछि अमेरिकाले त्यो क्षेत्रमा चीनको गति रोक्ने प्रयास गरिरहेको अवस्थामा यो नयाँ कदम चालेको बतैआएको छ।

अमेरिकामा यही वर्षको नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यसैले घरेलु उद्योगको संरक्षणमा आफु प्रतिवद्ध रहेको प्रमाणित गर्न पनि बाइडेनले यस्तो नीति अवलम्बन गरेको बताईन्छ ।

त्यसले पनि चिनियाँ आयातलाई रोक्न र आन्तरिक उद्योगहरुलाई बढावा दिन राष्ट्रपति बाइडेन माथि बढ्दो दवाब छ।

चीनले यस्ता शुल्कहरु अन्यायपूर्ण र स्वतन्त्र व्यापारको अवधआरणा बिपरित रहेको र चीनको प्रगतीलाई रोक्नकालागि लगाउने गरिएको भन्दै बिरोध गर्दै आएको छ।