नेपाल-चीन सीमाका मुख्य मामिला

बुद्धिनारायण श्रेष्ठ
नेपाल–चीन सीमारेखाको संयुक्त सुपरिवेक्षण गरी भत्के–बिग्रेका सीमास्तम्भ मर्मत सम्भार एवं लोप भएका खम्बा यथास्थानमा पुनर्निर्माण गर्ने, सीमा नदीको बहाव परिवर्तन भएको देखिए सीमा सन्धि भई सन् १९६१–६२ मा सीमांकन गरिएका समयको नदी धारलाई नै कायम राख्ने र दशगजा क्षेत्रलाई सफा राख्ने काम गरी चौथो सीमा प्रोटोकल तयार पार्न सन् २००६ मा नेपाल–चीन संयुक्त सीमा समिति गठन गरिएको थियो ।

नेपाल-चीन सीमाका मुख्य मामिला
समितिले सन् २०१० सम्ममा काठमाडौं र बेइजिङमा आलोपालो गरी ६ पटक संयुक्त बैठक गरेको थियो । समितिको छैटौं बैठक २०१० अप्रिल ४ देखि १० सम्म काठमाडौंमा भएको थियो । बैठकमा सगरमाथाको उचाइ घटेकाले नक्सामा कम लेख्नुपर्छ भनी चीनले प्रस्ताव गर्‍यो । नेपालले भने दोलखा लामाबगर लाप्चीगाउँ उत्तरको कोर्लाङपारिको टिप्पामा रहनुपर्ने सीमाखम्बा नम्बर ५७ केही दक्षिण नेपालतिरको भिरालो ठूलो चट्टानमा सीमाचिह्न ५७ अंकन गरिँदा नेपालको करिब ६ हेक्टर जमिन मिचिएकाले यसलाई ठीक स्थानमा सीमाखम्बा बनाउनुपर्छ भनी उल्लेख गर्‍यो । यी विषयमा छलफल गर्न २०१२ फेब्रुअरी १ देखि ५ सम्म सियानमा संयुक्त बैठक गर्न नेपाललाई चीनले आह्वान गरेको थियो ।

नेपालले अन्तिम समयमा बैठकमा भाग नलिने निर्णय गर्‍यो । त्यसपछि अर्को बैठक गर्न चीनले दिलचस्पी देखाएन । नेपालले पनि विधिवत् ताकेता गरेन । फलतः १२ वर्षसम्म कुनै काम भएन । सीमा सुपरिवेक्षणको काम सुषुप्त अवस्थामा पुग्यो । तर हालै चीनले संयुक्त बैठकका लागि नेपाली विज्ञ समूहलाई बेइजिङमा बोलायो । यही जुन १८–२० (असार ४–६) मा बैठक गरेर नेपाली टोली भर्खरै काठमाडौं फिर्ता आएको छ । संयुक्त विज्ञ समूहले दुई मुलुकबीचको सीमारेखा निरीक्षण गरी खम्बा मर्मत सम्भार गर्ने, विवाद समाधान गर्ने र चौथो प्रोटोकल हस्ताक्षरका लागि तयार पार्ने जिम्मेवारी लिने निर्णय बैठकमा भएको छ । यसरी १२ वर्षसम्म सुषुप्त अवस्थामा रहेको नेपाल–चीन संयुक्त सीमा समिति अहिले ब्युँतिएको छ ।

सन् २०१२ मा नेपाली टोली अन्तिम अवस्थामा बैठकमा भाग लिन नजानुको कारण के थियो भने टोली प्रस्थान गर्नु दुई दिनअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई सीमा मामिलाबारे माथि उल्लिखित दुई बुँदाबारे जानकारी प्रस्तुत गरिएको थियो । प्रधानमन्त्रीले सवाल सुन्नेबित्तिकै यी मामिलामा हाम्रो गृहकार्य पुगेको छैन, यथेष्ट अध्ययन गरी सुसज्जित भएपछि मात्र जानू भनिदिए । त्यसपछि नेपाली टोली चीनको सियान बैठकमा गएन ।

नेपालको फितलो सीमा कूटनीतिका कारण नेपाली टोली केही सातामा आउनेछ भनी एउटा पत्रसम्म पनि पठाइएन । सायद नेपाली टोली अन्तिम अवस्थामा आएन भन्ने खराब भान चीनलाई पर्‍यो होला । त्यसपछि संयुक्त बैठकका लागि न चीनले वास्ता गर्‍यो न नेपालले नै ताकेता गर्‍यो । संयुक्त समितिको काम यथास्थानमा अड्किएर रह्यो । नेपालले पनि बेलाबेलामा सशक्त तरिकाले चीनलाई झकझक्याउन सकेन । १२ वर्षपछि अहिले चीनले नेपाली प्राविधिक समूहलाई बेइजिङमा आमन्त्रण गरेर संयुक्त बैठक भयो ।

त्यस बखतका दुई मामिलामध्ये सगरमाथाको उचाइ थियो । नेपाल र चीनले आआफ्नै तर्फबाट मापन गरी २०७७ मंसिर २३ मा परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल बैठक गरी संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर घोषणा गरेपछि विवाद समाधान भएको छ । लाप्चीगाउँ उत्तरको ६ हेक्टर जमिनको विवाद बाँकी रहेको छ । यहाँ जिज्ञासा उत्पन्न हुन्छ, तत्कालीन प्रधानमन्त्री भट्टराईले भनेझैं अहिले नेपालको गृहकार्य पुगेको छ कि छैन ? हामी नेपाली समयमै गृहकार्य गर्न अल्छी छौं ।

सीमा प्रोटोकल
सन् १९६१ मा नेपाल–चीन सीमा सन्धि भएको थियो । सन् १९६१–६२ मा संयुक्त सीमांकन गरियो । सीमांकनको दौरान ३२ स्थानमा दुई देशबीच विवाद परेको थियो । सगरमाथामा पनि चीनले दाबी गरेको थियो । तर पञ्चशीलको सिद्धान्त, पारम्परिक सीमा, समान मित्रताको आधार, प्राकृतिक वस्तु, पानीढलो तथा बीचनदी सीमा सिद्धान्तका आधारमा डेढ वर्षको समयावधिमा सीमांकन कार्यर् पूरा गरियो । दुई देशका प्रधानमन्त्रीस्तरबाट शिखरको चुचुरो नेपालतर्फ पर्ने, आरोहण दुवै देशतर्फबाट गरिने भनी सगरमाथाको मामिला समाधान भएको थियो ।

दुई देशबीचको सगोल सीमारेखामा ७९ थान मूल र २० सहायक सीमाखम्बा स्थापना गरी ५३ थान ‘स्ट्रिप म्याप’ (सीमा नक्सा) तयार पारिएको थियो । यी नक्साका साथ मन्त्रिपरिषद्का तत्कालीन उपाध्यक्ष तथा परराष्ट्रमन्त्री तुलसी गिरी र चीनका विदेशमन्त्री मार्सल चेन यीले दुई देशका सर्वाधिकारसम्पन्न पदाधिकारीका हैसियतले २० जनवरी १९६३ मा सीमा प्रोटोकलमा संयुक्त हस्ताक्षर गरेका थिए ।

सीमा सन्धिमा उल्लेख भएअनुसार सीमारेखाको सुपरिवेक्षण, खम्बाहरूको मर्मत सम्भार गरी नक्सांकनको सम्पूर्ण काम गरिसकेपछि दुवै देशका सर्वाधिकारसम्पन्न अधिकारीका हैसियतले तत्कालीन परराष्ट्रमन्त्री केबी शाही र चीनका विदेशमन्त्री ह्वाङ हुआले २० नोभेम्बर १९७९ मा दोस्रो सीमा प्रोटोकलमा संयुक्त हस्ताक्षर गरेका थिए । यसैगरी चीनका तत्कालीन प्रधानमन्त्री ली पेङको उपस्थितिमा परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्याय र चीनका विदेशमन्त्री सिआन सिचानले ६ डिसेम्बर १९८८ मा बेइजिङमा तेस्रो प्रोटोकल नवीकरणमा संयुक्त हस्ताक्षर गरेका थिए । त्यसबखत यो पंक्तिकार संयुक्त सीमा समितिको प्राविधिक विज्ञ समूह प्रमुख थियो । त्यसैले नेपाली समितिका १० सदस्यमध्ये पंक्तिकारलाई समेत ६ जनालाई चिनियाँ प्रधानमन्त्रीले भेट दिएका थिए ।

हुम्ला सीमा मामिला
हुम्लाको लिमी–नाम्खा इलाकामा चीनले नेपालको भूभाग मिचेर ११ वटा भवन बनाएको छ भन्ने कुरा निकै समाचारमाध्यमले लेखे । यस सम्बन्धमा ‘चीनले नेपालको भूभाग मिचेको छैन, उसले आफ्नै भूमिमा भवन बनाएको छ’ भनी परराष्ट्र मन्त्रालयले २०७७ असोज ७ मा समाचार सम्प्रेषण गर्‍यो । काठमाडौंस्थित चिनियाँ दूतावासले पनि तत्कालै विज्ञप्ति जारी गर्दै ‘चीनले नेपालको भूमि मिचेको छैन, चीनले भवन बनाएको क्षेत्र आफ्नै भूभाग प्रमाणित भएको छ, नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ’ भनेको थियो ।

अर्को वर्ष गृह मन्त्रालयको सहसचिव नेतृत्वको टोलीले त्यहाँको क्षेत्रगत निरीक्षण गरी २०७८ असोज १० मा गृहमन्त्रीसमक्ष प्रतिवेदन बुझायो, जसमा ‘चीनले नेपाली भूमि मिचेको प्रस्ट प्रमाण नभेटिएकाले सीमा मिचिएको आधार देखिएन तर सीमा व्यवस्थापनमा समस्या रहेको छ, सीमाखम्बा नं. ९ मा सटाएर फलामे बार बनाइएको, खम्बा नं. ५ मा एकतर्फी तरिकाले तारबार गरेको पाइयो’ भन्ने उल्लेख गरिएको थियो । यस मामिलालाई नयाँ संयुक्त टोलीले निराकरण गर्नुपर्छ ।

चीनसँग सीमा जोडिएका केही क्षेत्रका मामिला समय–समयमा सञ्चारमाध्यममा आउने गरेका छन् । हुम्लाको लिमी–नाम्खाबाहेक गोरखाको रियु, संखुवासभाको किमाथांका क्षेत्रको भाग मिचियो भन्ने चर्चा चल्ने गरेको छ । यस्तो चर्चा चलेको केहीपछि यी क्षेत्रका जग्गा मिचिएको छैन भन्ने संशोधित समाचार पनि आउने गरेको पाइन्छ । जिज्ञासा उत्पन्न हुन्छ, किन यस्ता समाचार आउँछन् अनि जान्छन् ? यसलाई हालै ब्युँताइएको दुवै देशका संयुक्त सीमा निरीक्षण टोलीले निराकरण गर्नुपर्छ ।

निचोड
चीनले सीमा अतिक्रमण गर्‍यो भन्ने समाचार बेलाकुबेला प्रकाशन भएको सन्दर्भमा त्यस्ता भूभागमा किचोला छ कि छैन भन्ने विषयमा नेपाल र चीनको सीमा निरीक्षण प्राविधिक टोलीले संयुक्त रूपमा स्थानीय बासिन्दा, गाउँपालिका पदाधिकारी र जिल्लास्तरीय राजनीतिक नेता तथा स्थानीय प्रशासनलाई राखेर सीमानक्सा र खम्बाको तथ्यांकलाई जमिनमा भिडाउँदै क्षेत्रगत तरिकाले जमिनमा देखाउँदै, बुझाउँदै गरे सीमा मिचिएको हो वा होइन भन्ने निर्क्योल हुन्छ । एकतर्फी रूपमा सीमाखम्बामा फलामे बार, तारजाली लगाइएको पाइए त्यसलाई अविलम्ब हटाउने व्यवस्था गरिनुपर्छ । यस्तो प्रक्रिया अपनाएर दुवैतर्फका सीमावर्ती स्थानीय बासिन्दालाई जानकारी गराइए यस्ता समाचार फेरि आउने छैनन् ।

चौथो प्रोटोकल तयार पार्नका लागि सन् २००६ मा गठित संयुक्त सीमा समितिले सन् २०१२ सम्म काम गरेपछि त्यो सुषुप्त अवस्थामा रह्यो । अहिले त्यो संयन्त्र ब्युँतिएको छ । अब यसको विज्ञ समूहले नयाँ परिवेशमा सीमारेखाको निरीक्षण, भत्केबिग्रेका सीमास्तम्भको मर्मत सम्भार, लोप भएका खम्बा यथास्थानमा पुनर्निर्माण गराउने, विवाद समाधान गर्ने र मूलतः चौथो प्रोटोकल हस्ताक्षरका लागि तयार पार्ने काम गर्नुपर्छ ।

सन् २०१२ देखि हालसम्म कतिपय सीमाखम्बा जीर्ण भएका र लोप भएका हुन सक्छन् । केही नदीले धार परिवर्तन गरेको पनि हुन सक्छ । यस्ता मामिला सदाका लागि हटाउन हाल ब्युँत्याइएको संयुक्त सीमा प्राविधिक समूहको निरीक्षण टोलीले सीमावर्ती जनतालाई सीमारेखाबारे तत्काल आवश्यक जानकारी गराउँदै चौथो प्रोटोकल नवीकरणको काम सकेर जनस्तरमा आपसी मित्रता प्रगाढ बनाउनुपर्छ । सभार कान्तिपुर दैनिकबाट

वर्तमान भू–राजनीतिमा चिनियाँ अर्थ व्यवस्थाको असर

विपिन देव
काठमाडौं । सन् २०२४ लाई परिवर्तनको वर्ष भनिए तापनि सकारात्मक परिवर्तनको अनुभूति र अनुभव मानव समुदायले प्रत्याभूत गर्न सकेको छैन । सन् २०२४ मा ६० वटा मुलुकहरूले चुनावी प्रक्रियाद्वारा आफ्नो शासन पद्धतिमा परिवर्तनको अनुभव गर्ने जमर्को गरेको छन्। अर्को कुरा संसार कुरुक्षेत्रको रूपमा रूपान्तरण हुँदै छ।

भर्खरै अमेरिकी सदनले युक्रेनलाई उपलब्ध गराउने ६० बिलियन अमेरिकी डलरको पराकम्पन रसिया–युक्रेन युद्धमा देखिनेछ भने इजरायल र हमासको युद्धमा इरानको सहभागिताले मध्यएसिया र खाडी मुलुकहरूको अमनचयन अपहृत हुने सम्भावनालाई नकार्न सकिँदैन। इजरायलको प्रतिकारात्मक क्षमताको प्रकोपवाट जोगिन इरानका राष्ट्रपतिले पाकिस्तानमा भ्रमण गर्नु आफैँमा अर्थपूर्ण रहेको छ।

यी पृष्ठभूमिका पछाडि चीनको भूमिका के–कस्तो हुनेछ भन्ने आफैँमा एउटा शोधको विषय भएको छ । पुटिनले रसियाको शासन सत्ता पुनः सम्हालेपश्चात् आफ्नो प्रथम उद्घोषमा रसिया–चीनको मैत्रीमा अधिक जोड दिएका छन्। इरान र पाकिस्तानसमेत चिनियाँ आर्थिक भरथेगमा निर्भर रहेको छ। जानकारहरूको समीक्षाअनुसार चिनियाँ पूँजी र निवेश नै यी मुलुकहरूको लागि बेलाबखतमा सञ्जीवनी बनेको देखिन्छ । यही पृष्ठभूमिमा चिनियाँ अर्थ व्यवस्थाको स्वास्थ्य अवस्थालाई अवलोकन गर्न अति आवश्यकता देखिन्छ, जसको पराकम्पन र बाछिटाले भू–राजनीतिलाई प्रभावित गर्न सार्मथ्र्य राख्दछ।

सन् १९७८ देखि दोहोरो (डबल डिजिट) को विकास गरिरहेको चीन विश्व अर्थतन्त्रको नमुना नै थियो । निरन्तर २५ वर्षसम्म दोहोरो अंकको विकास दरले गर्दा चीन विश्वको दोस्रो अर्थतन्त्रको रूपमा आफूलाई सफल बनाउन सामर्थ्य भएको छ। तर कोरोनाको कहरपश्चात् भने चिनियाँ अर्थतन्त्रमा शिथिलता देखिएको छ ।

एक अध्ययनअनुसार सन् २०२३ मा चीनको आर्थिक विकास दर ५ दशमलव २ प्रतिशत मात्र रहेको छ। आर्थिक शिथिलताका कारक तत्वहरूमध्ये चीनको जिरो कोभिड नीति नै रहेको थियो । अर्थात् कोरानाको कहरमा अधिकांश कलकारखानाहरू बन्द अवस्थामा थिए । कामदारहरू शहरी क्षेत्रबाट गाउ‘मा विस्थापित भएका थिए । वर्तमान परिवेशमा चीनमा घरेलु खपतमा कमी भएको छ । उत्पादन र उपभोगमा तादत्म्यता देखिएको छैन । आर्थिक शिथिलताको पराकम्पन हरेक क्षेत्रमा महसुस गर्न सकिन्छ । चीनको निर्यातमा १२ दशमलव ४ प्रतिशतको कमी देखिएको छ । युवाहरू बेरोजगारीको सिकार भएका छन् । विगत ७ दशकमा चीनको बेरोजगारी दर यस प्रकारले बढेको थिएन । एक शोधअनुसार चीनको बेरोजगारी दर २० दशमलव ८ प्रतिशत रहेको छ ।

रियलस्टेटको व्यापारलाई चिनियाँ अर्थतन्त्रको मेरुदण्डको रूपमा लिइन्छ । रियलस्टेटको व्यापारमा ५० प्रतिशतसम्मको गिरावट देखिएको छ । चीन दगाङ्ग शहरका ठूला–ठूला सुविधासम्पन्न घरहरू खरिद–बिक्रीविना खण्डहरमा परिणत भइरहेका छन् । चीनको भीमकाय बीआरआई परियोजनाबाट लाभभन्दा हानि बढी भइरहको छ । बीआरआई परियोजना लागू भएका देशहरू आर्थिक दिवालियापनको संघारमा देखिएका छन्। पाकिस्तानको सी.पेक योजना र श्रीलङ्काको हम्बन टोटा बन्दरगाह यसका प्रतिनिधि उदाहरणहरू हुन् । चिनियाँ अर्थतन्त्र शिथिलीकरणको अवस्थामा जानुको कारण जनसांख्यिक लाभांशमा कमी हुनु पनि हो । वर्तमान परिवेशमा चीनले लागू गरेको ‘एक बच्चा नीति’ चिनियाँ अर्थतन्त्रको लागि नकारात्मक सिद्ध भएको छ । चीनमा वृद्ध जनसंख्याको बढोत्तरीको असर अर्थतन्त्रमा देखिएको छ ।

यी घरेलु नीतिबाहेक राष्ट्रपति सीको परराष्ट्र नीतिको कारणले गर्दासमेत चिनियाँ अर्थतन्त्र खस्केको देखिन्छ। चिनियाँ आर्थिक विकासको प्रधान कारण चीनको अमेरिका र युरोपसँगको आर्थिक सम्बन्ध थियो । पश्चिमा पू‘जी र प्रविधिको आधारस्तम्भमा नै चीनले आर्थिक फड्को मारेको थियो। वर्तमान अवस्थामा चीनको सम्बन्ध अमेरिकालगायत युरोपसँग चिसिएको छ, जसको असर अर्थतन्त्रमा देखिएको छ।

संसारमा सम्पूर्ण समृद्ध देशहरूसँग चीनको सम्बन्ध असामान्य रहेको छ । जापानसँग सिनकाकु टापुको विवाद, भारतसँग सीमा विवाद, अस्ट्रेलियासँग व्यापारिक विवाद, आसियान मुलुकहरूसँग दक्षिण सागरको नीतिले गर्दा भएको विवादको असर चिनियाँ अर्थतन्त्रमा झल्किन्छ । दक्षिण चीन सागरमा चीनको दबदबाका कारणले गर्दा फिलिपिन्स र भियतनाम आक्रान्त भएका छन्। भर्खरै फिलिपिन्स र भियतनामले भारतसँग वह्रमोस क्षेप्यास्त्र खरिद गरेर आफ्नो सुरक्षा व्यवस्थालाई बलियो पार्न प्रयत्न गरिरहेका छन् । चिनियाँ नीतिको कारणले गर्दा हिन्दमहासागरीय क्षेत्रसमेत तनावग्रस्त भएको छ। हिन्दमहासागरीय क्षेत्रमा अमेरिका, जापान, अस्ट्रेलिया र भारतले चतुर्भुजीय संगठन (कर्वाड)को निर्माण गरेका छन् । त्यस्तै अस्ट्रेलिया, अमेरिका र बेलायतले समेत अक्सजस्ता संगठनको निर्माण गरेका छन् ।

वास्तवमा चीनसँग घनिभूत सम्बन्ध भएका मुलुकहरू आर्थिकरूपमा अब्बल रहेका छैनन्। वर्तमान परिवेशमा रसियाको आर्थिक आकार भारतभन्दा आधा रहेको छ। रसियाको आर्थिक आकार १ दशमलव ५ ट्रिलियन डलर रहेको छ भने पाकिस्तानको आर्थिक आकार ३ सय बिलियन डलरको मात्र रहेको छ। अर्थशास्त्रको नियमअनुसार समृद्ध देशसँग व्यापार भएको खण्डमा राष्ट्रले आर्थिक सबलता प्राप्त गर्दछ।

आर्थिक कारणले गर्दा चिनियाँ जनतामा उग्र राष्ट्रवाद बढाउन चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो सक्रियता देखाइरहेको छ। तदनुरूप ‘मिडिल किङ्गडम’ को सिद्धान्तअनुरूप चीनले आफ्नो दक्षिण चीन सागरको नीतिअन्तर्गत अन्तर्राष्ट्रिय सामुद्रिक कानुनलाई मानमर्दन गर्दै दक्षिण चीन सागरमा सैन्य भण्डारण बढाएको छ भने चीनले आफ्नो विस्तारवाद नीतिअन्तर्गत ताइवानलाई चीनमा समाहित गर्न समयसीमासमेत निर्धारण गरेको छ।

भारतलाई दबाबमा राख्न अरुणाचललगायत ग्लवाल क्षेत्रमा समेत आफ्नो दाबी पेस गरेको छ। चीनको बढ्दो आक्रामकताका कारण चीनको शिथिलीकरण अर्थ व्यवस्था नै हो भन्ने यी तथ्यहरूको आधारमा आँकलन गर्न सकिन्छ।

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

२०२० बाट आरम्भ भएको कोरोना महामारीले २०२२ मा पुग्दा विश्वलाई हल्लाइदियो । श्रीलंकामा २०२० बाट कमजोर हुन आरम्भ भएको अर्थतन्त्र २०२२ मा पुग्दा श्रीलंकाका प्रधानमन्त्रीले देशलाई ‘बैंकरप्ट’ घोषणा गर्नुपर्ने अवस्थामा पुग्यो । १९४८ मा स्वतन्त्र भएपछि ७० वर्षको इतिहासमा श्रीलंका बैंकरप्सीको अवस्थामा कहिल्यै पुगेको थिएन ।

सिंगापुरका राष्ट्रपति ली क्वान यु श्रीलंकाको भ्रमणमा गएका बेला सिंगापुरलाई श्रीलंकाजत्तिको बनाउने सपना बोकेर आफ्नो देश फर्केका थिए रे ! जुन वर्ष (सन् २०२३) श्रीलंका टाट पल्टेर जनता भोकभोकै जीवनसँग लडिरहेका थिए, त्यही वर्ष सिगापुर प्रतिवर्ष प्रतिव्यक्ति आय यूएस डलर ८२ हजार पुर्‍याएर प्रतिव्यक्ति आयमा संसारको दोस्रो स्थानमा विराजमान भइराखेको थियो । जम्मा ६० लाख जनसंख्या भएको सिंगापुर यूएस डलर ६१८ बिलियनको जीडीपीसहित विश्व अर्थतन्त्रको ३४औँ स्थानमा छ ।

श्रीलंकामा विद्युत् उत्पादनका लागि कोइला किन्न विदेशी मुद्राको अभावले दैनिक १३ घण्टाको लोडसेडिङ भएको थियो । पेट्रोल, डिजेल पाउन छाडेको थियो । खाद्यवस्तुको अभाव प्रचुर थियो । बिरामीका लागि औषधिको अभाव थियो । विद्यार्थीका लागि कागज किन्न नसकेर परीक्षा स्थगन भएको थियो । कच्चापदार्थको अभावमा उद्योगधन्दा बन्द भएका थिए । मलको अभावमा कृषि व्यवसाय ठप्प भएको थियो । बेरोजगारीको अवस्था उच्चतम विन्दुमा पुगेको थियो ।

श्रीलंका त्यो अवस्थामा रातारात पुगेको भने होइन । श्रीलंका त्यो अवस्थामा पुग्नुको कारण शासन गर्नेहरूको कुशासन नै एउटा मात्र कारक हो । विदेशी मुद्राको अभाव सतहमा देखिन आएको कारण बन्न गएको थियो । कुनै बेला बलियो विदेशी मुद्रा सञ्चितिको अवस्था भएको श्रीलंका नेताहरूको कुशासनमा परेर टाट पल्टेको थियो ।

सरकारले लिएको नीति र कोरोनाको मारले अर्थतन्त्र कमजोर हुँदै जानु स्वाभाविक थियो । यसका अलावा श्रीलंकाले अनुत्पादक संरचनामा चीन सरकारबाट अत्यधिक मात्रामा लिएको ऋण (ब्याजदर ६.५ प्रतिशत)बापत तिर्नुपर्ने साँवा–ब्याजले विदेशी मुद्राको सञ्चितिमा मार पर्न गयो । चीन सरकारबाट श्रीलंकाले लिएको ऋण १२ अर्ब डलर पुगेको छ । यो संकटबाट पार पाउन श्रीलंका सरकारले ऋणको पुनर्संरचना गर्न वा साँवा–ब्याज तिर्ने अवधि पर सार्न गरेको अनुरोधलाई चीन सरकारले अस्वीकार गरिदियो ।

श्रीलंकाले चीन सरकारको ऋण सहयोगमा बनाएको कोलम्बो पोर्ट सिटी आंशिक रूपमा र हम्बनटोटा पोर्ट पूर्णतः चीन सरकारको स्वामित्वमा पुग्न गएको दृष्टान्तले अनुत्पादक संरचनामा गरेको लगानीबाट उत्पन्न हुने आर्थिक र सार्वभौमिक संकट जान्न राम्रो उदाहरण बनेको छ ।

देशको एउटा नेता इमानदार र ‘भिजनरी’ हुँदा देश सिंगापुरजस्तो बन्दो रहेछ । देशको एउटा लिडर बेइमान, नातावादी, ‘नन–भिजनरी’ हुँदा देश श्रीलंका बन्दो रहेछ । हामीले हाम्रै आँखाअगाडि देखेका छौँ ।

पोखरा एयरपोर्ट सेतो हात्ती बन्दै छ
बाह्रखरी गल्फ टुर्नामेन्टमा भाग लिन जाने सिलसिलामा अघिल्लो साता पोखरा भ्रमण गर्ने अवसर प्राप्त भयो । प्लेनबाट ओर्लंदै गर्दा पोखरा एयरपोर्ट भव्य नै देखिन्छ । पटक–पटक सुधार गर्दा पनि रङ न रूपको बन्न पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बिल्डिङ देखेर हीन भावनाले सदा ग्रस्त बनिरहेको मन पोखरा एयरपोर्टको टर्मिनल बिल्डिङको अग्रभाग हेर्दा पुलकित हुन पुग्छ ।

एकछिन त्यहाँ बस्दा टर्मिनल बिल्डिङको एक छेउबाट अर्को छेउ हिँडेर अवलोकन गर्न मन लाग्यो । जसै आन्तरिक प्रस्थानको भागबाट अन्तर्राष्ट्रिय प्रस्थानको भागतिर अगाडि बढियो, अन्तराष्ट्रिय प्रस्थानको भित्री भागमा सबै सामानहरूलाई धुलोले धपक्कै ढाकेको प्लास्टिकले छोपेर राखेको देख्दा एकछिनअघि पुलकित भएको मन दुःखी र निराश बन्न पुग्यो ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण नेपाल सरकार, एसियाली विकास बैंक र ओपेक फन्डको लगानीमा निर्माण हुन गइरहेको थियो । एसियाली विकास बैंककै लगानीमा मुग्लिन–पोखरा चार लेनको सडक पनि बन्ने निश्चितजस्तै थियो, अहिले निर्माण भइरहेको छ । काठमाडौंबाट पोखरा २५ मिनेटको उडानमा पुगिन्छ । काठमाडौं–पोखराको यात्रा सडक विस्तारपछि चार घण्टाभन्दा कममा पुग्न सकिन्छ ।

यो तथ्यगत पृष्ठभूमिमा पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण अर्थतन्त्र र रणनीतिक दृष्टिकोणले आवश्यक थियो भनेर पुष्टि गर्ने कुनै आधार देखिँदैन । तर पनि पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट बन्यो । जुन बेलामा पोखरा एयरपोर्टबारेमा छलफल भइराखेको थियो, विभिन्न सरोकारवालाले पोखरा एयरपोर्ट नबनाउन आफ्नो दलिल नराखेको भने होइन ।

तर, एकथरी मान्छेहरू – जो शक्तिकेन्द्रसँग नजिक थिए, त्यो एयरपोर्ट बन्दा व्यक्तिगत लाभ प्राप्त गर्थे । तिनको प्रयास र प्रभावले पोखरामा २२ अर्बको लागतमा एयरपोर्ट बनेरै छाड्यो ।

लुम्बिनीमा १० अर्बमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको छ । लुिम्बनीको भन्दा सानो पोखरामा बनेको अन्तर्राष्ट्रिय एयरपोर्टमा २२ अर्ब खर्च भएको छ । पोखरा एयरपोर्टको लागत कृत्रिम रूपले दुई गुणाभन्दा बढी बनाइएको देखिन्छ ।

पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले न्यारोबडी एयरक्राफ्टलाई मात्र सेवा पुर्‍याउन सक्छ । त्यो न्यारोबडी एयरक्राफ्टले पनि पूरा लोड लिएर टेकअफ ल्यान्डिङ गर्न नसक्ने देखिएको छ । एकातिर पोखरा वरिपरिको भूगोल र एयरपोर्टको फिजिकल फिचर (भौतिक सुविधा)ले अन्तर्राष्ट्रिय एयरलाइन्सहरू पोखरामा उडान गर्न इच्छुक हुने देखिँदैनन् भने अर्कातिर नेपाल भ्रमणमा आउने पर्यटकका लागि पोखरा मात्र गन्तव्यको केन्द्र हुन नसक्ने भएकाले पोखरा एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सक्ने सम्भावना देखिँदैन ।

पोखरा एयरपोर्टले फगत आन्तरिक उडानमा सीमित रहने निश्चित देखिन्छ । पोखरा एयरपोर्ट अर्थतन्त्रका लागि सेतो हात्ती बन्दै छ । यो सेतो हात्तीले देशको अर्थतन्त्रमा दूरगामी नकारात्मक प्रभाव पार्नेछ । पोखरा एयरपोर्टले कतै श्रीलंकाको कोलम्बो पोर्ट सिटी र हम्बनटोटा पोर्टले भोगेको नियति भोग्ने त हैन भन्ने भय पैदा गर्दै छ ।

हाम्रोभन्दा धेरै बलियो अर्थतन्त्र भएको श्रीलंकाको हालत यो अवस्थामा पुगेको दिनहुँको समाचारले नेपालको अर्थतन्त्रको अवस्था नबुझेका नेपालीलाई समेत उद्धेलित बनाइदिएको थियो । हामीले पनि श्रीलंकाको जनताको जस्तै संकट बेहोर्नुपर्ने हो कि भन्ने आशंकाले बेचैनी बनाइदिएको थियो । त्यो जोखिमबाट हामी तत्काललाई मुक्त भएको देखिन्छ । हामी तत्कालको जोखिमबाट मुक्त भएका छौँ, स्थायी रूपमा जोखिमबाट मुक्त भएका छैनौँ ।

कुनै पनि देशको अर्थतन्त्र आर्थिक वृद्धिदर बढाउने गरी चलायमान र संकट नआउने गरी स्थिर हुन आवश्यक रहन्छ । नेपालको वर्तमान अर्थतन्त्रलाई बलियो र स्थिर बनाउन मूलतः आर्थिक वृद्धिदर, व्यापार घाटा र विदेशी मुद्रा आर्जनमा वृद्धि हुन आवश्यक हुन जान्छ । नेपालको केसमा भने आर्थिक वृद्धिदर, व्यापार घाटा र विदेशी मुद्रा आर्जनमा असमान्य रूपमा वृद्धि हुन सके मात्र देशले आर्थिक रूप सशक्त बन्दै जानेछ ।

आर्थिक वृद्धिदर
नेपालको अर्थतन्त्र बलियो बनाउँदै सम्पन्नताउन्मुख बनाउन देशको आर्थिक वृद्धिदर ७ प्रतिशत न्यूनतम हुन जरुरी छ । आर्थिक वृद्धिदरलाई ७–१० प्रतिशत पुर्‍याउन पूर्वाधार विकास, कलकारखाना (म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज) र टेक्नोलोजीमा जीडीपीको २५–३५ प्रतिशत लगानी हुनुपर्ने विभिन्न देशको अनुभव र अध्ययनले देखाएको छ ।

गत वर्षको जीडीपी ५५ खर्ब देखिन्छ । देशको आर्थिक वृद्धिदर ७–१० प्रतिशत पुर्‍याउन पूर्वाधार विकास, कलकारखाना (म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज) र टेकनोलोजिमा १२–१८ खर्ब प्रतिवर्ष लगानी गर्नुपर्ने हुन्छ ।

चालु बजेटलाई हेर्ने हो भने पूर्वाधार विकासमा जीडीपीको १० प्रतिशतभन्दा कम र वार्षिक बजेटको १७ प्रतिशत मात्र बजेट विनियोजन भएको छ । त्यो पनि खर्च हुन सक्ने देखिँदैन । कलकारखाना (म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज) र टेक्नोलोजीमामा सरकार र निजी क्षेत्रको लगानी शून्यको बराबर भन्दा हुने अवस्थामा छ । गत वर्ष म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजको जीडीपीमा जम्मा ४ प्रतिशतको टिठलाग्दो योगदान रह्यो । योस्तरको बजेटबाट देशको आर्थिक वृद्धिदरलाई ७ प्रतिशत पुर्‍याउँछु भनेर डिङ हान्नु भनेको दिउँसै रात पार्नु हो ।

आजको दिनमा राजस्वले साधारण खर्च समेत धान्न छोडेको छ । पूर्वाधार विकास, म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र टेक्नोलोजीमा जीडीपीको २५–३५ प्रतिशत लगानी गर्न साधारण खर्चमा भारी कटौती गर्न सक्नुपर्‍यो । राजस्वमा भारी वृद्धि गर्न सक्नुपर्‍यो । आन्तरिक ऋण म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजमा परिचालन गर्न सक्नुपर्‍यो । दातृनिकायबाट प्राप्त ऋण तथा अनुदानमा भारी वृद्धि हुनुपर्‍यो । वैदेशिक लगानी प्रचुर मात्रामा आकर्षित गर्न सक्नुपर्‍यो ।

जुन किसिमको शासनशैली र आर्थिक नीति देशले अंगीकार गरेको छ, पूर्वाधार विकास, म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र टेक्नोलोजीमा १३–१८ खर्ब प्रतिवर्ष लगानी गर्न सक्ने हैसियतमा देशलाई पुर्‍याउन असम्भवप्रायः छ ।

व्यापार घाटा
देशमा म्यानुफ्याक्चरिङ इन्डस्ट्रिजमा लगानी हुन नसकिरहेको कारण देशले चुलाचौकाका सामग्री र लत्ताकपडादेखि निर्माण सामग्री र मेसिनरी औजारसम्म आयात गर्छ । विभिन्न कठिनाइ भोगेर वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनीको रगतपसिनाले आर्जेको रेमिट्यान्स जीडीपीको २८ प्रतिशत पुगेको छ । जसका कारण आमनागरिकको क्रयशक्तिमा सुधार हुन पुगेको छ ।

उपभोग्य वस्तुको आयात बढिरहेको छ । व्यापारीले आयात गरेको वस्तुमा कति प्रतिशत मुनाफा लिन मिल्छ भन्ने सरकारी नियमनको अभावमा उपभोक्ता चर्को महँगीको मारमा परेका छन् । देशमा सबैभन्दा बढी फस्टाएको कुनै व्यवसाय छ भने ट्रेडिङ व्यवसाय हुन पुगेको छ ।

जब ट्रेडिङ व्यवसाय सबैभन्दा आकर्षित व्यवसाय बन्न पुग्छ, त्यो देशमा औद्योगिकीकरणको सम्भावना रहँदैन । देशले लिएको उद्योग अमैत्री नीति र ट्रेडिङ व्यवसायमा विद्यमान आकर्षण नै नेपालमा औद्योगिकीकरण कुनै विस्तार हुन नसक्नुको प्रमुख कारण हो ।

देशको जीडीपीमा राजस्वको हिस्सा २६ प्रतिशत छ । भारत, चीन र बंगलादेशमा जीडीपीको राजस्वको हिस्सा क्रमशः १८, १७ र ९ प्रतिशत छ । यस तथ्यबाट स्पष्ट छ, नेपाल जनतामाथि धेरै कर लाद्ने मुलुकमा पर्छ । यस्तो अवस्थामा करको दर बढाएर राजस्वमा वृद्धि गर्न सक्ने स्थिति देखिँदैन ।

ट्रेडिङ बिजनेसमा लागेका व्यापारीहरूसँग अनौपचारिक कुरा गर्दा भन्सार महसुल उठाउने विधि र नियतमा सुधार गर्ने र कर निर्धारणको विधि सरलीकरण गर्ने हो भने हालकै अवस्थामा पनि राजस्वमा २५–३० प्रतिशतसम्म वृद्धि गर्न सकिन्छ भन्ने गर्छन् । उद्योग, व्यवसायीहरूका भनाइ सत्य मान्ने हो भने सरकारले आफ्नो ‘नीति र नियत’मा सुधार गरेमा एकातिर प्रशस्त करको दायरा बढाउन सकिने र अर्कोतिर करको संकलनमा भारी वृद्धि गर्न सकिने देखिन्छ ।

देशले राजस्व वृद्धिको आधार भन्सार महसुललाई बनाएको छ । निर्यात गर्ने वस्तु र उपभोग्य वस्तु देशमा उत्पादन गर्न नसकेको कारण व्यापार घाटा जीडीपीको ३० प्रतिशतको हाराहारीमा छ । यो स्केलको व्यापार घाटाले देशको अर्थतन्त्रमा बहुआयामिक नकारात्मक असर परेको छ । देशमा विद्यमान कमजोर अर्थव्यवस्थाको प्रमुख कारण नै यो स्केलको व्यापार घाटा हो । यसले करेन्ट एकाउन्ट डेफिसिट, बेलेन्स अफ पेमेन्ट, विदेशी मुद्राको सञ्चितिजस्ता अर्थतन्त्रको सबै आयामहरूलाई नराम्रोसँग प्रभाव पुर्‍याउँछ ।

विदेशी मुद्रा आर्जन
उद्योगको लागि कच्चापदार्थ, पूर्वाधार निर्माणका लागि निर्माण सामग्री तथा मेसिनरी औजार र नागरिकका लागि चाहिने सेवा तथा वस्तु आयात गर्न पुग्ने विदेशी मुद्रा आर्जन हुन सकेमा अर्थतन्त्र स्थिर मान्न सकिन्छ । कुनै पनि देशले विदेशी मुद्रा आर्जन गर्ने भनेको उत्पादित वस्तु तथा सेवा निर्यात गरेर, खनिजपदार्थ तथा अन्य प्राकृतिक स्रोतबाट उपलब्ध वस्तु निर्यात गरेर, पर्यटन आगमनमा भारी वृद्धि गरेर गर्ने हो । यसका अतिरिक्त सरकारले प्राप्त गर्ने ऋण तथा अनुदान, वैदेशिक लगानी र रेमिट्यान्स विदेशी मुद्रा आर्जनको अन्य बाटाहरू हुन् ।

देशको वर्तमान अवस्थामा जीडीपीको ३० प्रतिशत व्यापार घाटा भएको, खनिजपदार्थ तथा अन्य प्राकृतिक स्रोतबाट निर्यातजन्य वस्तु शून्यबराबर छ । नेपालमा आउने सीमित पर्यटक र त्यसमा पनि ट्रेकिङमा बढी समय बिताउने पर्यटकको संख्या बढी छ । सरकारले प्राप्त गर्ने ऋण तथा अनुदान र वैदेशिक लगानीमा खासै वृद्धि नभएको अवस्थामा देशलाई चाहिने परिमाणको विदेशी मुद्रा आर्जन गर्न सकिने देशको स्थिति देखिँदैन ।

गत वर्ष हामीले विदेशी मुद्रा खर्चेर १६.१० खर्बबराबरको सामान आयात गरेका छौँ । जीडीपीको ३० प्रतिशत व्यापार घाटा रहेको पृष्ठभूमिमा हामीले वस्तु तथा सेवा आयातमा यत्रो भारी मात्राको विदेशी मुद्रा खर्च गर्‍यौँ भन्दा विस्मयकारी लाग्न सक्छ ।

गत वर्ष रेमिटेन्सबाट हामीले जीडीपीको २८ प्रतिशतबराबरको विदेशी मु्द्रा आर्जन गरेछौँ । हो, देशको अवस्थादेखि विरक्तिएर आफ्नो भएभरका जायजेथा ३६ प्रतिशतसम्मको ब्याजमा धितो राखेर, म्यानपावर कम्पनीदेखि दलालसम्मबाट ठगिएर, सरकारी निकायबाट हैरानी खाएर रुँदै देश छाडेर गएका युवायुवतीले रगतपसिना बगाएर कमाएर देशमा पठाएको रेमिटयान्सले हामीलाई विदेशी मुद्रा खर्चेर १६.१० खर्बबराबरको सामान आयात गर्न सक्ने बनाएको छ ।

एकछिन कल्पना गरौँ, यदि यति मात्राको रेमिट्यान्स देशमा भित्रिँदैनथ्यो भने हामी खाद्यवस्तु तथा औषधिलगायत केही पनि आयात गर्न सक्ने अवस्थामा हुँदैन थियौँ । राजा ज्ञानेन्द्रको परोक्ष÷प्रत्यक्ष शासनका चार वर्ष छाड्ने हो भने गएको ३० वर्ष जनताले चुनेकाहरूबाट देशको शासनसत्ता चलेको रहेछ ।

तर, देशको आर्थिक अवस्था यो ३० वर्षमा कस्तो बन्न पुगेछ भने, रेमिट्यान्स नहुँदो हो त आजको दिनमा नेपाली रुपैयाँ फगत कागजको खोस्टा सावित हुने थियो । नेपाली रुपैयाँले केही पनि किन्न सक्ने हैसियत राख्ने थिएन । देश टाट पल्टिसक्ने थियो । अरू कुरा त धेरै परका हुने थिए, देश भोकमरीको अवस्थामा पुग्ने थियो ।

उपसंहार
मैले माथि उल्लेख गरिसकेँ कि देशलाई आर्थिक रूपमा सबल बनाउँदै समृद्धिको बाटोमा अघि बढ्ने हो भने देशको आर्थिक वृद्धिदर ७–१० प्रतिशत हुन आवश्यक छ । देशको आर्थिक वृद्धिदर ७–१० प्रतिशत पुर्‍याउन भौतिक पूर्वाधार, म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र टेक्नोलोजीमा जीडीपीको २५–३५ प्रतिशत लगानी आवश्यक पर्छ ।

हालको जीडीपीको हिसाबमा भौतिक पूर्वाधार, म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र टेक्नोलोजीमा १३–१८ खर्ब लगानी गर्नुपर्ने हुन्छ । यही हिसाबमा भौतिक पूर्वाधार, म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज र टेक्नोलोजीमा पाँच गुणाभन्दा बढी पुँजी जुटाउनुपर्ने देखिन्छ, जुन काम हालका अर्थमन्त्रीका लागि महाभारत हुनेछ ।

लक्ष्य जतिसुकै कठिन देखिए पनि लक्ष्यमा पुग्न पहिले पाइला त चाल्नैपर्छ । वर्तमान अर्थमन्त्रीले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेर काम गर्न आवश्यक छ । अर्थमन्त्रीले तल उल्लिखत काम (अन्य कामका अतिरिक्त) युद्धस्तरमा थालनी गर्नुपर्छ ।

१. पहिलो लक्ष्य व्यापार घाटा कम गर्नेतर्फ केन्द्रित हुन जरुरी छ । आममानिसले उपभोग गर्ने वस्तु देशमै उत्पादन गर्ने म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज स्थापना गर्न उद्योगीलाई प्रोत्साहन गर्नुपर्‍यो । यसका लागि चाहिने पुँजी बैंकमा जम्मा भएको रकम उपयोग गर्न सरलीकरण र सहजीकरण गर्नुपर्‍यो । थप पुँजीको आवश्यक परे सरकारले आन्तरिक ऋण उठाएर बैंकहरूमा रकम प्रवाह गर्नेतर्फ लाग्नुपर्‍यो ।

आममानिसले उपभोग गर्ने वस्तु देशमै उत्पादन गर्ने म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज स्थापना गर्न सकेमा एकातिर व्यापार घाटा कम हुँदै जानेछ भने अर्कातिर विदेशी मुद्रामा चाप कम भएर जानेछ । देशमा रोजगारीको अवसर बढ्नेछ ।

२. भौतिक पूर्वाधार निर्माण, ठूलो स्केलको म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज (निर्माण सामग्री उत्पादन गर्ने, घरायसी काममा चाहिने मेसिनरी साधन उत्पादन गर्ने) र उच्च प्रविधि (हार्डवेयर तथा सफ्टवेयर)मा वैदेशिक लगानी भित्र्याउने ।

३. विश्व बैंक, एसियाली विकास बैंक तथा मित्रराष्ट्रबाट प्राप्त हुने ऋण तथा अनुदानको मात्रा बढाउन उपल्लोस्तरको कूटनीतिक तथा रणनीतिक पहलकदमी बढाउने । यी दाताहरूको विश्वसनीयता बढाउन पुँजीगत खर्च गर्न सक्ने क्षमता बढाउने ।

४. माथि उल्लेख गरिसकेको छु कि अन्य देशको तुलनामा नेपाल जनतामाथि अत्यधिक कर थोपर्ने देशमा पर्छ । करको दरलाई व्यावहारिक बनाउनेतर्फ लाग्नुपर्छ । करको दायरा बढाउन सकिने क्षेत्रको पहिचान गरेर कर संकलनमा वृद्धि गर्नेतर्फ लाग्नुपर्छ ।

५. आयकरको आधार भनेको अडिटरले तयार पारेको वासलात हो । लेखापरीक्षणमा कुनै प्रकारका बदमासी नहोस् र आयकरमा कुनै प्रकारको चुहावट नहुन अडिटरलाई उत्तरदायी र जिम्मेवार बनाउन जरुरी छ । अडिटरलाई उत्तरदायी र जिम्मेवार बनाउन अडिटरलाई नियमन गर्ने कानुनी व्यवस्था गरिनुपर्छ ।

६. पहाड–तराईमा कृषियोग्य भूमि बाँझो छ । खाद्यवस्तु समेत विदेशी मुद्रा खर्चेर आयात गर्नुपरेको छ । देशको स्वाभिमान तब मात्र कायम रहन्छ, जब देश खाद्यवस्तुमा आत्मनिर्भर हुन्छ । कृषकलाई खेतीमा आकर्षण गर्न र आर्थिक रूपमा सबल बनाउन पहिलो पाइला भनेको अर्थमन्त्रीले कृषिजन्य उपजको उत्पादन मूल्यमा कृषकलाई न्यूनतम ५० प्रतिशत मुनाफाको ग्यारेन्टी गर्न सक्ने संयन्त्र बनाउनुपर्छ । साभार बाह्राखरीबाट

एक सन्तान नीतिको दुष्परिणामबारे ढिलो गरी जागेको चीन

एजेन्सी । चीन विश्वसामु खुल्न थालेको चार दशकभन्दा लामो समयसम्म पनि त्यहाँको सरकारको नीति–निर्माण प्रक्रिया गोप्य रह्यो । यहाँ चीनको जनसंख्या नियन्त्रण नीति, तथ्यांक गोप्य राख्दाको परिणाम र तिनलाई चुनौती दिने मेरो व्यक्तिगत प्रयासबारे चर्चा गर्दै छु ।

सन् १९८० मा एकजना रकेट वैज्ञानिक सोङ जियान र अर्थशास्त्री चियान सुयानले चीनको जनसंख्या सय वर्षमा ४.२ अर्बमाथि पुग्ने प्रक्षेपण गर्दै एक खुला पत्र लेखे । उक्त प्रक्षेपणले चिनियाँ अधिकारीलाई त्रसित बनायो । त्यसपछि सरकारले एक बच्चा नीति लागू गर्‍यो । यथार्थमा एक सन्तान नीति लागू नगरेको भए पनि चीनको जनसंख्या धेरैमा १.६ अर्बसम्म पुगेर ओरालो लाग्न थाल्ने थियो ।

चीनमा हुर्किंदा मैले व्यक्तिगत रूपमा एक सन्तान नीतिको क्रूरता देख्न पाएँ । त्यसैबाट प्रेरित भएर म सन् २००० मा कठोर जनसंख्या नियन्त्रण नीतिविरुद्ध उभिएँ । सुरुमा मैले विदेशी वेबसाइटमा आलेख छपाउने काम मात्र गरेको थिएँ । त्यसपछि मैले प्राज्ञिक विधि अँगालेँ । सन् २००३ मा आइपुग्दा मेरा आलेखले छिटपुट रूपमा चिनियाँ माध्यममा छापिने अनुमति पाउन थालेका थिए । सन् २००४ अक्टोबरमा सरकारी पत्रिकाले नै मेरो आलेख छाप्यो, जसमा मैले देशमा लागू एक बच्चा नीति रोक्न आह्वान गरेको थिएँ । त्यस आलेखले कठोर जनसंख्या नियन्त्रण नीतिबारे एक प्रकारको बहस सुरु गरायो ।

मेरो अभियानले गति लिन थालेसँगै शीर्ष अधिकारीले पनि मेरो अनुसन्धानलाई गम्भीरतापूर्वक लिन थालेका थिए । उदाहरणका लागि तत्कालीन चिनियाँ वित्तमन्त्री जिन रेनछिङले व्यक्तिगत रूपमा मेरा पाँच रिपोर्टहरू हेरेका थिए । सन् २००७ मा मैले हङकङबाट ‘बिग कन्ट्री विथ एम्प्टी नेस्ट’ नामक पुस्तक छपाएँ । पुस्तकमा मैले चीनमा लागू भइरहेको एक बच्चा नीतिपछाडिको अवधारणालाई चुनौती दिँदै तत्काल त्यसलाई अन्त्य गर्न आह्वान गरेको थिएँ । पुस्तकले परिवार–नियोजन अधिकारी र जनसंख्या विज्ञमाझ हलचल ल्याएछ, तिनले मेरो प्रतिरोधी धारणालाई अवमूल्यन गर्ने र दबाउने प्रयास गरे । मेरो पुस्तक चीनमा प्रतिबन्धित भयो । तथापि पुस्तकको अनलाइन संस्करणलाई करोडौँले हेरे । यसबाट अधिकारीहरू मेरो आवाज दबाउने प्रयासमा असफल भए ।

तीन वर्षपछि मेरो एक आलेख ‘जनसंख्या नीतिबारे नयाँ आलोचनात्मक बहस’ नामक संग्रहमा ‘फरक’ विचारका रूपमा समावेश गरियो । सन् १९८० का खुला पत्र लेखक रकेट वैज्ञानिक सोङको भूमिका र अर्थशास्त्री चियान तथा चीनको राष्ट्रिय परिवार नियोजन आयोगका दुई उप–निर्देशकको आलेख रहेको पुस्तकका अधिकांश लेख मेरो आलोचनामा खर्च भएको थियो ।

चिनियाँ अधिकारीले गतिलो अनुसन्धानलाई निरन्तर बेवास्ता गरिरहँदा देश गम्भीर जनसांख्यिक संकट भोग्ने स्थितिमा आयो । यसको प्रभाव चीनभित्र मात्र होइन, विश्व अर्थतन्त्रसम्म हुने देखिन्छ ।

झन्डै दश वर्षसम्म मलाई ‘देशद्रोही’को बिल्ला लाग्यो । मैले यस अवधिमा चीन भ्रमण गरिनँ । लामो अन्तरालपछि सन् २०१० मा सुटुक्क चीनको वार्षिक जनसंख्या सम्मेलनमा भाग लिन गएको थिएँ । त्यहाँ सन् १९८० मा सरकारलाई एक सन्तान नीति अंगीकार गर्न बाध्य पार्ने खुला पत्रका एकजना मस्यौदाकारले मेरो आलोचनामा लामो भाषण गरे । पछि सम्मेलनमा म आएको हल्ला चलेपछि प्रहरीले मलाई खोज्न थाल्यो, जसले गर्दा रातारात मैले सहर छाड्नुपर्‍यो ।

त्यसपछिका वर्षमा मैले जबर्जस्ती गर्भपतन गराउन लागिएका दसौँ हजार महिलाको सहयोगको याचनायुक्त निवेदन हात पारेँ । मैले कैयौँ बच्चालाई बचाउन सहयोग गरेकोमा अहिले पनि गर्व लाग्छ । एक बच्चा नीतिको मानवीय असरमाथि प्रकाश पार्न पछि पनि मैले राष्ट्रिय संसद्का हरेक सदस्य, विभिन्न प्रातीय र मन्त्रालय अधिकारीलाई पुस्तिका पठाइरहँ । म प्रायःबाट सकारात्मक जवाफ पाउने गर्थें । र, पछि मेरो प्रक्षेपण नै सही निस्कियो । सार्वजनिक तथा प्राज्ञिक बहसमा मेरो अनुसन्धानप्रति चासो बढ्न थाल्यो । सन् २०१० देखि २०१७ बीचमा मैले चीनभित्रका झन्डै सय शीर्ष थिंक ट्यांक र विश्वविद्यालयबाट बोल्न निमन्त्रणा पाएँ । उलेखनीय कुरा केही परिवार नियोजन अधिकारी मेरो मन्तव्य सुन्न टाढा–टाढाका प्रान्तबाट आएका हुन्थे ।

सन् २०१३ मा चिनियाँ राज्य परिषद्प्रति जवाफदेही प्रकाशकले ‘बिग कन्ट्री विथ एन एम्टी नेस्ट’को नयाँ संस्करण प्रकाशित ग¥यो । पुस्तक सो वर्ष चाइना पब्लिसिङ टुडेले चुनेको सय उत्कृष्ट पुस्तकमध्ये पहिलो स्थानमा रह्यो । मेरो कामको स्वीकारोक्ति बढिरहँदा मलाई सन् २०१६ को ‘बोआयो फोरम फर एसिया कन्फरेन्स’ (जसलाई डेभोसमा हुने ‘वल्र्ड इकोनोमिक फोरम’को चिनियाँ संस्करण मानिन्छ ।)मा आमन्त्रण गरियो ।

मेरो पहिले प्रतिबन्धित पुस्तक बेस्टसेलर बनेको थियो भने नीति–निर्मातामाझ लोकप्रिय थियो । कुनै समय ‘देशद्रोही’ घोषित म आफैँ राज्यको विशिष्ट पाहुनाका रूपमा बोलाइन थालेको थिएँ । तर, सन् २०१६ मा द न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मैले चीनको अर्थतन्त्र अमेरिकाभन्दा ठूलो हुन नसक्ने बताएपछि चिनियाँ अधिकारी मसँग रिसाए । परिवार नियोजनका अधिकारीले केन्द्रीय सरकारसँग मलाई सरकारी कालोसूचीमा राख्न लबी नै गरे । पछि मैले चीनको जनसंख्या सन् २०१८ बाटै घट्न थालेको हुन सक्ने र सरकारले जनसंख्या तथ्यांक बढाइचढाइ गरिरहेको हुन सक्ने बताएपछि अधिकारी थप रुष्ट बने ।

मेरो सल्लाहअनुरूप पूर्ण जनसंख्या नियन्त्रण हटाउनुको साटो चिनियाँ नेतृत्वले संयमित नीति अपनायो । सन् २०१४ मा सरकारले दुई बच्चा नीति अंगीकार गर्‍यो, तर यसका लागि अभिभावकमध्ये एकजना परिवारको एकल बच्चा भए मात्र लागू हुने सर्त राखियो । दुई वर्षपछि सबै परिवारका लागि दुई बच्चा नीति खुला गरियो । अन्ततः २०२१ मा चीनले अभिभावकलाई तीन बच्चासम्म पाउन खुला गर्‍यो ।

दुर्भाग्यवश यो परिवर्तन ढिलो गरी आएको छ । चीन अझै गलत मार्गमा छ । यसको पछाडि एक बच्चा नीति कायम रहेको अवस्थामा प्रजनन दर १.८ रहने र सन् २०३३ सम्म १.५ अर्ब पुगेर ओरालो लाग्ने त्यहाँको सरकारी जनसांख्यिक प्रक्षेपणले निम्त्याएको डरले काम गरिरहेको छ । यही प्रक्षेपणमा सबै जोडीलाई दुई बालबच्चा जन्माउन दियो भने जनसंख्या सन् २०४४ मा १.६ मा उचाइमा पुगेर ओरालो लाग्ने उल्लेख छ ।

तथापि यी सबै सन् १९८० मा एक बच्चा नीति लागू गर्नुअघि चर्चामा आएको प्रक्षेपणजस्तै बकवास भएको खुलिसकेको छ । चीनको बढाइचढाइ गरिने सरकारी तथ्यांकअनुसार नै पनि देशको जनसंख्या सन् २०२२ बाट घट्न सुरु भएको छ । प्रजनन दर १.० सम्म पुगिसकेको छ । चीनको जनसंख्या नियन्त्रण नीतिलाई चुनौती दिँदाको मेरो झन्डै २५ वर्षे अनुभवले म सही थिएँ भन्ने कुरामा मात्र सन्तोष प्रदान गर्छ । अर्कोतर्फ चिनियाँ अधिकारीले गतिलो अनुसन्धानलाई निरन्तर बेवास्ता गरिरहँदा देश गम्भीर जनसांख्यिक संकट भोग्ने स्थितिमा आयो भन्ने कुराले दुःखी बनाउँछ । यसको प्रभाव चीनभित्र मात्र होइन, विश्व अर्थतन्त्रमसम्म हुने देखिन्छ । लेखक यी फुजियान युनिभर्सिटी अफ विस्कनसिन–म्याडिसनका वरिष्ठ प्रजनन तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

आर्थिक मन्दी र चिनियाँ युवाको बेचैनी

सन् १९८५ मा पपगायक जर्ज माइकल र एन्ड्रु रिडगेले पहिलो पटक चीन पुगेका थिए। यसरी चीन पुग्ने पहिलो पश्चिमा पपगायक समूह उनीहरूकै बनेको थयो। सांगीतिक कार्यक्रमका सहभागीलाई आ–आफ्नो सिटमा बस्न निर्देशन दिइएको थियो।

तर त्यतिबेला पनि चिनिया युवाहरू यी पपगायकलाई देख्न लालायित थिए। कम्युनिस्ट देश भएकाले त्यति स्वतन्त्रता नभए पनि त्यतिबेला चीन बिस्तारै विश्वसामु खुल्दै थियो र आर्थिक सुधारलाई अगाढि बढाउँदै थियो। तर त्यसको ३ दशकमा अर्थतन्त्र दु्रुत गतिमा अगाडि बढेको थियो र चीनमा नयाँनयाँ अवसर सिर्जना भएका थिए। ठूलो संख्यामा चिनियाँ युवा विदेश अध्ययन गर्ने र भ्रमण गर्ने अवसर पाएका थिए। यो अवधिमा हुर्केका युवाहरूमा भविष्यप्रति नयाँ आशाको सञ्चारसमेत भएको थियो।

तर अहिलेको वास्तविकता अपेक्षा गरे भन्दा फरक छ। सन् १९९० र २००० मा जन्मेका चिनियाँले आफ्नो अगाडि कालो बादल देख्न थालेका छन्। राष्ट्रपति सी चिनफिङले

सन् २०१२ मा सत्ता सम्हालेयता शासन झन कठोर र समाज कम गतिशील बनेको छ। सेन्सरसिपका कारण इन्टरनेट निरस बनेको छ र राष्ट्रवादी नारा बोकेका सन्देशहरूले इन्टरनेटमा व्यापकता पाएका छन्। विश्वविद्यालयका विद्यार्थी राष्ट्रपति सीको व्यक्तिगत विचारधारालाई आत्मसात गर्न बाध्य बनेका छन्। सबै भन्दा चिन्ताको पक्ष के हो भने अधिकांशका लागि चीनका अर्थतन्त्र ठप्प बनेको छ। सहरमा बस्ने १६ देखि २४ वर्षका युवा समूहमा बेराेजगारी २१ प्रतिशतले बढेपछि गत महिनादेखि चीनले बेरोजगारी दर सार्वजनिक गर्न छाडेको छ।

राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्।

इकोनोमिस्टले यो साता चीनका युवा तथा युवतीहरूसँग उनीहरूको अवधारणा बुझेको थियो। अधिकांशले अझै पनि पार्टीप्रति विश्वास रहेको र राष्ट्रपति सीलाई झन् बलियो बनाउनुपर्ने बताएका छन। तर कतिपय युवा आक्रोशित देखिएका छन्। रोजगारदाताहरूले खोजे जस्तो सिप विश्वविद्यालयका ग्राडुएटहरूले दिन सकेका छैनन्। रोजगारीको अभाव र खस्कँदो सम्पत्तिको मूल्यका कारण अधिकांशको घर किन्ने र परिवार बसाल्ने सोचमा तुषारापात आएको छ। सामाजिक सञ्जालमा प्रवाहित सन्देशहरूको विश्लेषण गर्दा आमजनताको मुड निराशाजनक देखिन्छ। मोहभंग भएका युवाहरूले सामाजिक दबाबलाई मतलव नगर्ने (टङपिङ) र यस्ता कुरालाई यत्तिकै सड्न दिने (बैलान) जस्ता शब्द प्रयोग गर्ने गरेका पाइएको छ। यी प्रचलित शब्दावलीले युवाहरूले हार मानेको देखिन्छ।

त्यसो त, उदास युवाहरूको वर्चस्व रहेका देशहरूमा चीन मात्र छैन। अमेरिकाका १८ देखि ३४ वर्ष समूहका अमेरिका झण्डै आधा युवा जनसंख्याले पनि भविष्यप्रति आफ्नो आत्मविश्वास नरहेको बताएका छन्। यसरी चिनियाँ युवाहरूले आफ्नै हिसाबले प्रतिरोध (लाइ फ्ल्याट) गरेका छन् भने अमेरिकी युवा चूपचाप देखिन्छन्। मिलिनियस्ल र त्यसपछि जन्मेको पिँढी अर्थात जेनेरेसन जेड विश्वभर उदास प्रकृतिको देखिएको छ। तर १६ वर्षदेखि ३५ वर्षभित्रका चीनका ३६ करोड जनसंख्या गंभीर हिसाबले चिन्तित देखिएको छ। समुन्नत जिन्दगीका लागि आवश्यक पर्ने भर्याङ उनीहरूबाट टाढिएको छ। परिवर्तित परिस्थितिमा कतिपयले यो दौडबाट आफूहरूलाई अलग पारेका छन् भने अन्य अन्तर्मुखी बन्दैछन्। एकातिर यो शताब्दीको मध्यसमममा चीनलाई ठूलो शक्तिका रूपमा विश्वसामु उभ्याउने राष्ट्रपति सीको चाहना छ भने त्यो चाहना पूरा गर्न सहयोगी हुनपर्ने युवाहरू तयार नहँुदा राष्ट्रपतिको आकांक्षामा ठूलो प्रश्न उठेको छ।

यो अवस्थामा युवा बेचैनीले राजनीतिक जोखिम निम्त्याउन सक्ने देखिएको छ। निराश युवाले स्वतन्त्रता र भ्रष्टाचारको विरोधमा

सन् १९८९ मा तियानमेन स्क्वायरमा प्रदर्शन गरेर चीनलाई थर्काएका थिए। गत वर्ष पनि, सरकारले अवलम्बन गरेको सख्त कोभिड–१९ नीतिको विरोधमा विभिन्न सहरमा प्रदर्शनी भएको थियो। त्यतिबेला, कतिपयले राष्ट्रपति सी र उनको पार्टीले सत्ता छाड्नुपर्ने मागसमेत गरेका थिए।

यस्तो अवस्थामा नयाँखाले अशान्तिको संभावनालाई कसैले इन्कार गर्न सक्दैन। तर गत वर्षको प्रतिरोध सानो स्तरको थियो र हाम्रो समीक्षाले के देखाएको छ भने युवा चिनियाँहरूमा क्रान्तिकारी जोशको प्रष्फुटन भएको छैन। यी युवाहरू फायरवालद्वारा सीमित गरिएका समाचार र सूचनाहरूसहितको इन्टरनेट युगमा हुर्केका पिँढी हुन। कम्युनिस्ट पार्टीका ठूलो सफलता हासिल गरिरहेको छ भन्ने प्रोपोगान्डाको बीचमा हुर्केको यो पिँढीका कतिपयले मनदेखि कम्युनिस्ट पार्टीको समर्थन गरेको पाइएको छ। सहरिया युवाहरूसमेतले कतिपय स्वतन्त्रतालाई सीमित पार्नुपर्ने धारणा व्यक्त गरेका छन्।

चिनियाँ महानतालाई पुनस्र्थापना गर्ने सीको उद्देश्यलाई साथ दिन चिनियाँ युवाहरूले बिहे गर्नुपर्छ, बालबच्चा पाउनुपर्छ र विद्यमान जनसांख्यिक क्षयीकरणलाई उल्टाउनुपर्छ। राष्ट्रपति सीले युवालाई ‘कठिनाइ सहन र तीतोपना स्वीकार गर्न’ आह्वान गर्दै आएका छन् तर राष्ट्रपतिको चाहना किन पूरा गर्नुपर्ने भन्नेमा अधिकांश युवा अनुत्तरित छन्। (बेलायती पत्रिका इकोनोमिस्टमा प्रकाशित समाचारको भावानुवाद)

तिब्बती भूमिमा सगरमाथाको नक्सा

बाबुराम विश्वकर्मा
सगरमाथा शिखर चुम्ने आरोहीले नेपालको भूमि टेक्नैपर्छ । सगरमाथा शिखरलाई लिएर उत्तरी छिमेकी चीनसँग बेलाबेला नेपालले झमेला झेल्नुपरेको छ । नेपालको एकलौटी र सार्वभौम आधिपत्य कायम रहेको सगरमाथा–चुचुरोको नयाँ उचाइ घोषणामा सन् २०२० मा चीनलाई सामेल गरिएपछि सगरमाथा उचाइ फेरि विवादमा तानियो ।

बेमौसमको बाजा बजाउन नेपाली नेतालाई बेलाबेला रहर लाग्छ । त्यसैको नतिजा हो, सन् २०२० मा चीनसँग मिलेर गरिएको सगरमाथाको संयुक्त उचाइ घोषणा । विश्व समुदायले मान्यता दिएको सगरमाथा चुचुरोको प्रचलित र सार्वभौम उचाइ ८,८४८ मिटर हो । नेपाल र संसारका अधिकांश देशले मान्यता दिएको यो उचाइलाई विस्थापित गर्न नयाँ उचाइ घोषणा गरिएको थियो ।

८ डिसेम्बर २०२० मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका विदेश मन्त्री वाङ यीले संयुक्त भिडियो सम्मेलन गरेर संसारको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरे । नेपालसँग मिलेर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न राजी भएको चीनले यसअघि गरेका तीनवटा उचाइ मापनमा एउटै नतिजा आएको थियो । चीनले मापन गरेको सगरमाथाको उचाइ ८,८४४.४३ मिटर थियो । चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङले सन् १९७५ मा पहिलो पटक निकालेको सगरमाथाको उचाइ र सन् २००५ मा चिनियाँ स्टेट ब्युरो अफ सर्भेइङ एन्ड म्यापिङले गरेको मापनको नतिजा एउटै थियो । सन् २०२० मा चीनले तेस्रो पटक गरेको मापनमा पनि पुरानै नतिजा दोहोरिएको थियो । संयुक्त उचाइ घोषणाअघि चीनले सगरमाथाको उचाइ ८,८४४.४३ मिटरलाई आधिकारिक मानेको थियो ।

सगरमाथाको नयाँ उचाइ घोषणा गरिएपछि चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ ले सन् २०२० मा सगरमाथा तिब्बती भूमिमा रहेको नक्सा सार्वजनिक गरेको थियो । तर, त्यसको नेपाल र विश्वभरि नै आलोचना गरिएको थियो । ‘ग्लोबल टाइम्स’ ले सार्वजनिक गरेको सगरमाथाको विवादास्पद नक्साको विरोध भएपछि त्यस पत्रिकाले त्यो नक्सा हटाएर क्षमा मागेको थियो । चीनका नेता माओत्सेतुङको पालामा पनि सगरमाथालाई तिब्बती भूमिमा पारेर चीनले नक्सा सार्वजनिक गरेको थियो । तर, त्यो नक्सालाई विश्व समुदाय र नेपालले मान्यता दिएन । फेरि माओकै पालाको जस्तो नक्सा चीनको सरकारी मिडियामार्फत सार्वजनिक भएपछि त्यसले नेपाल र नेपालीलाई झस्कायो ।

नेपाली भूमिको सगरमाथा शिखरको उचाइ घोषणामा चीनका विदेशमन्त्रीलाई किन सहभागी गराइयो ? यो विषयलाई तत्कालीन नेकपा सरकारले प्रष्ट पारेन । नेकपा नेतृत्वको तत्कालीन सरकारको चीनप्रतिको रुझानका कारण चीनलाई सगरमाथाको उचाइ घोषणामा सहभागी गराइएको अनुमान छ । हुन पनि १२ र १३ अक्टोबर २०१९ मा भएको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।

पानीढलो सिद्धान्तअनुसार, सगरमाथाको चुचुरोसहित दक्षिणतर्फको भाग नेपालको र उत्तरतर्फको चीनको स्वामित्वमा रहने गरी सन् १९६१ मा गरिएको नेपाल चीनबीचको सन्धिमा सगरमाथामाथि नेपालको आधिपत्य कायम भएको हो । सीमा विज्ञहरूका अनुसार सगरमाथाको उत्तरी मोहडाभन्दा दक्षिणी मोहडा अग्लो छ । तिब्बततिरबाट सगरमाथा आरोहण गर्दा पनि नेपालको चुचुरो नचुमी सगरमाथा आरोहण पूरा हुन सक्दैन । अरू मुलुकका मात्रै होइन, चीनका नागरिकहरूले पनि सगरमाथा आरोहण नेपालतिरबाट गर्न सहज मानेको देखिन्छ । चीनतिरबाट सगरमाथा आरोहण गर्न सकिने विकल्प भए पनि चीनका नागरिकका लागि नेपालको मार्ग मुख्य रोजाइ बन्नु खुसीको कुरा हो । चीनलगायत विश्वभरिका आरोहीका लागि नेपाली मार्गबाट सगरमाथाको आरोहण पहिलो रोजाइ बन्ने गरेको छ । पर्यटन विभागको आँकडाअनुसार, सन् २०२३ को वसन्तकालीन आरोहणको अनुमति लिने आरोहीमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् भने दोस्रोमा अमेरिकी आरोही ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा गएका बीपी कोइरालाले सगरमाथामाथिको नेपालको स्वामित्वको अडान प्रस्ट राखेर नेपाल फर्किए । कोइराला नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ६ देखि २१ मार्च १९६० सम्म चीन भ्रमणमा थियो । बीपी चीनबाट फर्केको एक महिनापछि चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपालको औपचारिक भ्रमण गरेका थिए । उनले २८ अप्रिल १९६० मा सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेपाल र चीनबीचको सगरमाथा विवाद मिलेको घोषणा गरेका थिए । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमणमा सगरमाथा नेपालकै भएको स्वीकार गरे पनि सगरमाथा शिखरसम्बन्धी विवाद मिलेको थिएन । नेपाल र चीनका अधिकारीहरूको ४ अक्टोबर १९६१ मा चीनको राजधानी बेइजिङमा भएको बैठकले त्यतिबेला जारी सगरमाथा विवाद निरुपण गरेको हो । बैठकपछि राजा महेन्द्र र चिनियाँ राष्ट्रपति लिउ साओ चीबीच ५ अक्टोबर १९६१ मा चीनमा भएको नेपाल–चीनबीचको सन्धिले सगरमाथालाई दुई देशको सीमा मान्दै चुचुरोमा नेपालको आधिपत्य कायम गरेको थियो ।

तत्कालीन नेपाली नेतृत्वको अथक प्रयासपछि नेपालको स्वामित्व कायम भएको सगरमाथा शिखर संसारकै रहस्य बनेको छ । विश्वको अभिरुचिको विषय भएकाले सगरमाथाको उचाइ मामिलामा बेलाबेला विवादास्पद तथ्य सार्वजनिक हुने गरेका छन् । सन् २०१९ मा इटालीको टोलीले जीपीएस प्रणालीबाट गरेको सगरमाथाको मापनले यसको उचाइ ८,८५० मिटर देखाएको थियो । तर, त्यसलाई नेपाल र विश्व समुदायले मान्यता दिएन । चीनतिरबाट सगरमाथा आरोहण गरेका आरोहीलाई चीनले यसअघि ८,८४४.४३ मिटर अंकित प्रमाणपत्र दिने गरेको थियो भने नेपालबाट आरोहण गर्ने आरोहीले ८,८४८ मिटर अंकित प्रमाणपत्र पाउने गरेका थिए । चीन र नेपालले संयुक्त उचाइ घोषणा गरेपछि दुवैतिरबाट आरोहण गर्नेले ८,८४८.८६ मिटरकै प्रमाणपत्र पाउने बाटो खुलेको छ ।

विदेशीहरूले सगरमाथालाई पन्ध्रौं चुली पनि भन्ने गरेका छन् । संसारका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा छन् । सन् १९२१ मा रोयल जोग्राफिकल सोसाइटीका सर्भेयर सर जर्ज एभरेस्टको नाममा सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ राखिएको थियो । नेपाली नाम सगरमाथाचाहिँ इतिहास शिरोमणि बाबुराम आचार्यले राखेका हुन् ।

नेपालतिरबाट सगरमाथा आरोहण गर्नेहरूबाट देशले हरेक वर्ष ठूलो धनराशि प्राप्त गर्ने गरेको छ । एक जना आरोहीले सगरमाथा आरोहण गर्दा औसत ५० हजार अमेरिकी डलर खर्च गर्ने अनुमान छ । पृथ्वीको सबैभन्दा अग्लो चुचुरो भएकाले सगरमाथाबारे वैज्ञानिक अनुसन्धान गर्नेहरूका लागि पनि यो विशिष्ट रुचिको विषय बनेको छ । उच्च भूगोल तथा हिमाल, जलवायु चक्र र जैविक प्रणालीको अध्ययन गर्न संसारका वैज्ञानिकहरू सगरमाथा क्षेत्रमा आउने गरेका छन् । त्यसैले सगरमाथाको महत्त्व नेपालमा मात्रै होइन, एसिया र संसारभरि नै उच्च छ । देशको लागि ज्यादै महत्वपूर्ण राष्ट्रिय गौरवको प्रतीक बनेको सगरमाथाको उचाइ घोषणामा चीनलाई सहभागी गराएर नयाँ विवाद सृजना गरियो ।

सगरमाथाको उचाइ मापनजस्तो राष्ट्रिय महत्त्वको विषयमा सार्वजनिक विमर्श र सर्वपक्षीय छलफल गरिएन । सगरमाथाको उचाइ मापनमा चीनलाई सामेल गर्नेबारे संसद्मा समेत छलफल गरिएन । सरकारको आन्तरिक तयारीका आधारमा सगरमाथाको उचाइ मापन गरेर चीनसँग मिलेर घोषणा गरियो । तर, नयाँ उचाइ पहिले कायम भएको उचाइभन्दा जम्मा ८६ सेन्टिमिटर मात्रै बढी देखिएको छ । सगरमाथाको पुरानो उचाइभन्दा थोरै अन्तर देखिएको नयाँ उचाइ प्राविधिकभन्दा बढी राजनीतिक र कूटनीतिक स्टन्टबाजीजस्तो लाग्छ । किनभने यसअघि भारतीय प्राविधिकहरूले मापन गरेको उचाइ विस्थापन गर्न चीनसँग साझेदारी गरेको कतिपयको बुझाइ छ । (प्रकाशोन्मुख किताब ‘भूराजनीतिको भार’ बाट)

चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै

श्रीमननारायण
विसं २०७२ सालमा मधेस केन्द्रित राजनीतिक दलहरूले नवनिर्मित संविधानप्रति असन्तुष्टि जनाउँदै सिमानाका केन्द्रित सडक आन्दोललाई लामो समयसम्म निरतन्रता दिँदा भारतसितको व्यापार प्रभावित भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यतिबेला देशका प्रधानमन्त्री थिए । भारतमाथिको व्यापारिक निर्भरतालाई कम गर्न उनले चीनसित अनेकौं सम्झौता गरे । खास गरिकन चीनबाट इन्धन किन्ने सम्झौता समेत गरे । त्यताबाट एकाध ट्रक पेट्रोल अनुदानमा आएपछि त्यसलाई ठूलो उपलब्धिका रूपमा र भारतको विकल्पको रूपमा प्रचारप्रसार गरियो ।

त्यतिबेला ठूलै हल्लीखल्ली गरेर पारवहन तथा यातायात सम्झौता गरियो तर त्यसको प्रोटोकोल टुंग्याउन नै तीन वर्ष लाग्यो । त्यतिबेलै सातवटा चिनियाँ बन्दरगाहको उपयोग गर्ने सम्झौता भयो जुन कागजमै सीमित रहेको देखियो । चीनले भूकम्पको नाममा र पछि कोभिड–१९ को महामारीका नाममा विगत आठ वर्षदेखि उत्तरी नाका सुचारु हुन दिएको छैन । यदाकदा चीनतिरबाट सामान निर्यात हुन दिए पनि नेपालबाट निर्यात शून्यप्रायः छ । यसरी एकोहोरो रूपमा आयातमात्रै ठूलो हुने तर निर्यात नहुने भएपछि चीनसितको दुईपक्षीय व्यापारीमा नेपालले ठूलो आयातको व्यापार घाटा भोग्नु परिरहेको अवस्था छ ।

नेपालका वाममन्थी राजनीतिज्ञ र बुद्धिजीवीहरूले चीनलाई नेपालको जतिसुकै भलो चिताउने राष्ट्रको रूपमा परिभाषित गरे पनि यथार्थ यसभन्दा विल्कुल फरक छ । नेपालमा उसले आफ्नो साख गुमाउँदै छ । केरुङ काठमाडौं रेलमार्गको अवस्था पनि अन्यौलमै छ ।

नेपालका वाममन्थी राजनीतिज्ञ र बुद्धिजीवीहरूले चीनलाई नेपालको जतिसुकै भलो चिताउने राष्ट्रको रूपमा परिभाषित गरे पनि यथार्थ यसभन्दा विल्कुल फरक छ । नेपालमा उसले आफ्नो साख गुमाउँदै छ । केरुङ काठमाडौं रेलमार्गको अवस्था पनि अन्यौलमै छ । नेपालले हतार हतारमा बिआरआई सम्झौतामा हस्ताक्षर गर्‍यो तर नेपालमा बिआरआई अन्तर्गतका कुनै परियोजना सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको छैन । चिनियाँ एक्जिम बैंकको २२ अर्ब ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गतकै ऋणबाट भएको सम्बन्धी चिनियाँ दाबीलाई हेर्दा चीनले नेपाललाई अनुदान सहयोग दिनुभन्दा ऋण प्रदान गर्नमा बढी विश्वास राख्ने गरेको पुष्टि हुन्छ ।

बिआरआई अन्तर्गत ऋण लिएका देशहरू चीनको कर्जाजाल (ऋणपासो) बाट मुक्त हुनसकेको एउटा पनि उदाहरण छैन । चिनियाँ राष्ट्रपति सी चिनपिङ २०७६ सालमा नेपाल आउँदा तामझामका साथ गरिएका प्रायः सम्झौताले पनि गति लिएनन् । हतार हतारमा केबल सम्झौतामात्रै गर्ने र चर्को व्याजदरमा ऋण स्वीकार गर्ने तर देशको सर्वोच्च हितलाई प्राथमिकता नदिने हो भने केबल राजनीतिक आस्थाका अथवा दलहरूबीचको सम्बन्धका कारण मात्रै कसैको ऋण स्वीकार गरिहाल्नुपर्ने अथवा सम्झौता गर्नुको औचित्य देखिँदैन । नेपालको समस्याप्रति चीन कहिल्यै गम्भीर देखिएन ।

यदि हालका दिनमा चीनप्रति नेपालीहरूको अविश्वास बढेको छ भने त्यसको प्रमुख कारण चीनका गलत कदमहरू नै हुन् । खासगरी तत्कालीन नेकपा सरकारका बेला नेपाली राजनीतिको सूक्ष्म व्यवस्थापन गर्ने पक्षमा खुलेर लागेको थियो । सत्ताधारी दलका वरिष्ठ नेताहरूको घरमै गएर सम्वाद गर्ने पवृतिबाट जनता दुःखी भए । त्यसले चीनप्रतिको आम सद्भावनालाई खण्डित बनाउने काम ग¥यो । कम्युनिष्ट कित्तातर्फ बढाएको मोह र त्यससँगै सी चिनपिङ विचारधाराको अध्यन गर्ने, व्यर्थको क्रान्तिकारी रोमाञ्चकताले उसलाई विवादमा तान्ने काम गर्‍यो ।

नेकपा सरकारको पालामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबाट जसरी प्रशिक्षण लिने काम गरे । भच्र्युअल माध्यमबाट भएको प्रशिक्षणले नेपालका वामपन्थी नेताहरूको हलुको राष्ट्रवाद आत्मसम्मान र स्वाभिमानको अनावरण गर्ने काम ग¥यो । यही प्रशिक्षण कुनै अन्य दलका नेताले कुनै अन्य देशबाट लिएका भए उनीहरूले नै चर्को विरोध गर्ने थिए । नेपालका वामपन्थीहरूको निम्ति यो प्रशिक्षण स्वाभाविक लागे पनि कतिपयले यसलाई उत्तरी छिमेकी चीनको हस्तक्षेपका रूपमा बुझे ।

कोभिड महामारीका बेला जिरो कोभिड पोलिसी लिएर सारा संसारबाट एक्लिएर बस्ने रुसको कदमले आफ्नो खुट्टामा बञ्चरो हान्ने काम ग¥यो । कोभिड-१९ को प्रकोप कम हुँदा पनि चीनमा अध्ययनरत एमबिबिएसका सयांै नेपाली छात्रछात्राहरूको भविष्यलाई अन्धकारमा पार्ने काम भयो । नेपाली विद्यार्थीहरू धर्ना जुलुसमा बस्न बाध्य भए । जति बेला नेपाललाई चीनसित सर्वाधिक सहयोगको आवश्यकता थियो, त्यतिबेला उसले आफ्नो नाका बन्द गर्‍यो । मित्रको काम आपत् परेको बेलामा आउनुपथ्र्यो । विगत आठ वर्षमा सिमानाका बन्द गरेर उत्तरी छिमेकी चीनले नेपालीहरूको विश्वास गुमाएको छ । सिमानाका बन्द भएका कारण सैयौं नेपाली व्यापारी, ट्रक मालिक र कर्मचारी बर्बादसम्म हुन पुगे । नेकपा एमालेका अध्यक्ष र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसित गरेको सम्झौताकै भरमा नेपाल बसेको भए यहाँ भोकमरीको अवस्था आउने थियो ।

भुइँचालोपछि पुनर्निर्माणको जिम्मेवारी लिएको चीनले २५ वटा परियोजनामध्ये अधिकांश पूरा हुनसकेका छैनन् । सात वर्षसम्म पश्चिम सेती ७५० मेगावाटको जलविद्युत् आयोजना ओगटेर पनि उसले निर्माण गर्न सकेन । यो १७ फागुन २०६८ मा विना प्रतिस्पर्धा चीनको थ्री गर्जेजलाई दिइएको थियो ।

उत्तरी छिमेकी चीनका निर्माण कम्पनीहरूबारे नेपालमा लामो समयसम्म यस्तो धारणा विकसित भइसकेको थियो कि चिनियाँहरूले गरेको विकास निर्माण काम ठोस, टिकाउ, किफायती र समयसीमाभित्र सम्पन्न हुने गर्दछ । चिनियाँहरू बोलीका पक्का हुन्छन् तसर्थ यिनको भनाइमा विश्वास गर्न सकिन्छ तर विगत ढेड दशकमा औंलामा गन्न लायक विकास निर्माणका कामबाहेक चिनियाँ कम्पनीहरूले नेपालमा चलाएका कतिपय सानाठूला परियोजनाको कार्य सम्पादनमा ढिलासुस्ती लापरबाही र गैरजिम्मेवारी देखिएको छ । थुप्रै चिनियाँ कम्पनीहरूले कम मोलमा ठेक्का कबोल गर्ने तर समयमा काम नगर्ने केहीले बीचैमा काम छोडेर हिँडिदिनेलगायतका बानीका कारण अब नेपालमा वामपन्थी प्रधानमन्त्रीको पालामा पनि चिनियाँ ठेकेदारहरूले अधिकांश ठेक्का पाउन सकिरहेका छैनन् । यसले गर्दा विकास निर्माणका अनेकौं परियोजना अधुरै रहेको पाइन्छ ।

खासगरी पश्चिम सिटीमा थ्रि गर्जेज, बुढी गण्डकी र चमेलीमा गेजुआ गरुप, मेलम्ची चाइना रेल्वे फिप्टी ब्युरो, ढल्केवर सबस्टेसनमा सेन्ट्रल चाइना पावरग्रीज जस्ता अनेकौं परियोजनामा चिनियाँ कम्पनीको ढिलासुस्ती र लापरबाही देखिएको छ । केही ठाउँमा त विवाद र मारपिट तथा नेपाल सरकारले हस्तक्षेप गर्ने अवस्थासमेत आयो । चिनियाँहरू मनले खाएका आयोजना छिट्टै बढाउँछन्, बाँकीको व्यथा त्यस्तैउस्तो छ । मेलम्ची परियोजनाको अवस्था जाहेर नै छ ।

भुइँचालोपछि पुनर्निर्माणको जिम्मेवारी लिएको चीनले २५ वटा परियोजनामध्ये अधिकांश पूरा हुन सकेका छैनन् । सात वर्षसम्म पश्चिम सेती ७५० मेगावाटको जलविद्युत् आयोजना ओगटेर पनि उसले निर्माण गर्न सकेन । यो १७ फागुन २०६८ मा विना प्रतिस्पर्धा चीनको थ्री गर्जेजलाई दिइएको थियो । २०७४ जेठ १ मा तत्कालीन सरकारले बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुआ ग्रुपलाई दिएको थियो । चमेलिया जलविद्युत् आयोजना निर्माणमा १२ वर्ष लाग्यो । त्यसको जिम्मा पनि गेजुवाले नै लिएको थियो । माथिल्लो त्रिशूली ‘घ’ ‘ए’ को जिम्मा पनि गेजुवाले पाएको हो ।

सम्भवतः यसको निर्माण पनि उसले दोब्बर १० वर्षमा पनि सिनो हाइड्रोको निर्माण गर्न सकेन । चीनको लगानीमा बन्ने परियोजनामा अधिकांश कामदार र प्राविधिक पनि उसकै हुन्छन् । चीनलाई केवल नेपालको जलविद्युत् परियोजनको टेन्डर चाहिन्छ, उसले हाम्रो बिजुली खरिद गर्ने होइन । तिब्बतमा पनि हाम्रो बिजुली बिक्री हुने होइन । अहिले पनि नेपालका कतिपय यस्ता राजनीतिक विचारधारका व्यक्ति छन्, जो आफूलाई राष्ट्रवादी पनि दाीब गर्ने गर्दछन् तर नेपालको हितको चिन्ता नगरी केवल उत्तरी छिमेकीलाई नेपालको ऊर्जा क्षेत्रको कसरी जिम्मेदारी दिन सकिन्छ भन्नेमात्रै सोच्दछन् । जबकि यथार्थमा चीनले आफ्नो विश्वसनीयता गुमाइसकेको छ ।

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

कृष्ण तिमल्सिना
चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीमा बनेको भनिएको थियो।

अघिल्लो बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्। जहाँ पर्यटनमन्त्री सुदन किराती आफैं उपस्थित् थिए। मन्त्री किराँतीले सम्झौता शर्त विपरितको चिनियाँ राजदूतको भनाइको खण्डन नगरी बरु नेपाल र चीन बीचको सम्बन्ध सगरमाथाको उचाई भन्दा पनि उच्च रहेको भन्दै चीनको प्रशंसा गरे।

यसअघि गत पुसमा विमानस्थल उद्घाटन समारोहमा तत्कालीन कार्यवाहक राजदूत वाङ सिनले ‘बीआरआई’ का लागि पोखरा विमानस्थल उज्ज्वल कार्य बनेको’ बताएपछि विज्ञले नेपाल सरकारमाथि बीआरआईको महंगो परियोजना तथा ऋण स्वीकार नगर्न सुझाव दिइरहेका थिए।

जबकी नेपाली अधिकारीले उक्त विमानस्थल निमार्ण सम्झौतामा कतै पनि बीआरआई अन्तर्गत भन्ने कतै उल्लेख नै छैन। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिषचन्द्र लाल सुमनका अनुसार चिनियाँ पक्षले ऋण लगानी र त्यसको ब्याज असुलीका विषयमा चीनले राखेको अनुचीत शर्त नागरिक उड्यान प्राधिकरणले तत्काल अस्वीकार गरेपछि चिनियाँ एक्जिम बैंकसँग पुनः २०१४ को मे महिनामा ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको थियो। जसमा बीआरआई भन्ने शब्द कतै उल्लेख छैन।

क्यानका तत्कालीन महानिर्देशक सुमनले यो राष्ट्रिय गौरवको आयोजना चीनको एक्जिम बैंककै ऋण सहयोगमा बन्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको तर उक्त सम्झौतामा यो विमानस्थल निर्माणका लागि एक्जिम बैंकले २० वर्षे समय राखेर दुई प्रतिशत ब्याजमा ऋण लगानी गर्ने कुरा मात्र उल्लेख रहेको स्मरण गरेका छन्।

जबकी यत्रो ठूलो ऋण लगानीमा चिनियाँ बैंकले दुई प्रतिशत ब्याजको शर्त राखेर नेपाललाई फसाइसकेको छ। त्यसमा पनि अहिले सम्झौता विपरित बीआरआई अन्तर्गतको परियोजना भन्दै चीनले नेपाललाई अर्को जालोमा पारेको छ। विज्ञका अनुसार चीनले दाबी गरे जस्तो यो विमानस्थल बीआरआई परियोजा अन्तर्गत बनेको होइन र दुई मुलुकबीच लगानी सम्झौता अथवा बीआरआई अन्तर्गतको परियोजना छनौट र प्राथमिकताको सूचीमा समेत यो विमानस्थल नेपालले राखेको छैन।

अहिले परियोजनामा सम्झौता विपरित चीनले महंगो ब्याज दर तोकेर असामान्य ऋण लगानी थोपरेर विमानस्थल तयार भएपछि बीआरआईको हिस्सा भन्दै नेपाललाई ऋणको बोझ थोपेरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यही बेला राजदूत छनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको पटकपटक स्मरण गराए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरिङबाट यो निर्माण भएको हो। अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो। राजदूतले पटकपटक बीआरआई अन्तर्गतको महंगो ऋण भनिरहँदा कार्यक्रममा उपस्थित विभागीय मन्त्री किराती भने चीनको प्रशंसा गरिरहेका थिए।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्राधिकरणले २०७२ सालमा चीन सरकार र त्यहाँको एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण नेपाल सरकारमार्फत लिएको थियो । जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन बिना ब्याजको र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने शर्तमा गरेर १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गर्दै नेपाल सरकारले प्राधिकरणलाई ५ प्रतिशत ब्याजदरमा (सहायक ऋण) उपलब्ध गराएको थियो ।

ऋण सम्झौता अनुसार एक्जिम बैंकले ७ वर्ष ग्रेस पिरेड अर्थात् परीक्षण अवधि राखेकोमा उक्त अवधि तीन महिना अघि नै सकिएको छ। अबको तीन महिनामा नेपालले चीनको उक्त ऋणको पहिलो किस्ता तिर्नुपर्ने हुन्छ। सम्झौता अनुसार अबको १३ वर्षभित्र ऋणको साँवा ब्याज दुबै चुक्ता गरिसक्नुपर्ने छ। तर आम्दानी छैन। चीनको लगानी र चीनको प्रविधि भन्ने सन्देश गएपछि अहिलेसम्म उडानका लागि कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो देखाएका छैनन्। मुक्तिनाथ पोखरा हुँदै जानुपर्ने भएकाले यो भारतीय पर्यटकको प्रमुख गन्तव्यस्थल मानिन्छ तर चीनको लगानी र चीनको प्रविधि भन्ने सन्देशका कारण भारतीय वायुसेवाले पोखरामा सोझै उडान गर्न चासो नै देखाएका छैनन्।

यही अन्यौल र अनिश्चिततामा नेपालले पहिलो किस्ता तिर्नुपर्ने समय भएपछि चीनले पहिलो पटक सिचुआन एअर मार्फत केही चिनियाँ खेलाडीलाई चार्टर उडान मार्फत सोझै पोखरा उतारेको हो। चार्टर उडानबाहेक चिनियाँ विमानले सोझै पोखरामा नियमित उडान भर्ने अझै निश्चित् छैन। जबकी ऋण लगानी सम्झौता हुँदा चिनियाँ पक्षले यो विमानस्थलले चीनका विभिन्न सहरलाई हवाई सेवा मार्फत जोड्ने भन्ने दाबी गरेको थियो। तर विमानस्थलमा उडान अवतरण सुरु भएको करिब एक वर्षसम्म पनि कुनै चिनियाँ वायु सेवाले उडानका लागि रुची नै देखाएका छैनन्। साविकको सानो विमानस्थलबाट भइरहेको आम्दानी कै भरमा ठूलो विमानस्थलको खर्च थेग्नुपर्ने अवस्थामा रहेको बेला पोखरा विमानस्थलमा पहिलो चिनियाँ जहाज अवतरण हुँदा पनि चीनले बीआरआईको लगानी भन्दै ऋणको पासो देखाई दिएको छ।

पोखरा विमानस्थल कसरी गयो चिनियाँ पोल्टामा ?
पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनावरी १ मा उद्घाटन भएपछि अघिल्लो बुधबार सिचुआन एअरले चाइनाबाट सोझै पहिलो चार्टर उडान गरेको हो। त्यसअघि चार महिनासम्म यो विमानस्थल सुनसान नै रहयो र यसपछि पनि सुनसान नै रहने अवस्था छ। पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखरेली जनताको पाँच दशक लामो सपना र संघर्षसँग जोडिएको छ। तर सञ्चालनमा आउँदा नआउँदै यो विमानस्थल आर्थिक संकटबाट गुज्रिन पुगेको छ।

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको अवधारणा तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७१ मा अघि सारेका थिए। जसको परिकल्पनाकार थिए, तत्कालीन अञ्चलाधीश शंकरराज पाठक।

राजा वीरेन्द्रको चाहना अनुसार सन् १९७१ मा जर्मनको इञ्जिनीयरिङ फर्म डिआईडब्लुलाई सरकारले विमानस्थलको साइट सेलेक्सन र डिटेल इन्जिनियरिङको जिम्मा दिइको थियो। नयाँ क्षेत्रीय विमानस्थल सम्बन्धी योजनासँगै प्रारम्भिक अध्ययनको काम सकिएपछि सन् १९७६ अर्थात् २०३३ सालमा पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण सुरु भयो। जग्गा अधिग्रहरण चल्दै गर्दा, सरकारले जर्मनको इञ्जिनियरिङ फर्म डिआईडब्लुले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि थप अध्ययन थाल्यो।

२०४५ सालमा गुरु योजना पुनरावलोकनका लागि जाईका भित्रियो। जाईकाले एकै चरणमा पोखरामा ठूलो लगानी गर्दा आर्थिक रुपमा चलाउन नसकिने निष्कर्षसहित सरकारलाई दुई चरणमा विमानस्थल बनाउन सिफारिस गरेको थियो। जसमा, सन् १९९५ देखि सन् २००० सम्म पहिलो चरणको काम सक्न ४० मिलियन डलर खर्चिन सिफारिस गरिएको थियो। त्यस्तै दोस्रो चरणको काम सन् २००१ देखि सन् २०१० सम्म गर्न सकिने र यसका लागि ४५ मिलियन अमेरिकी डलर खर्च लाग्ने उल्लेख थियो। यी दुवै चरणको आयोजना पुरा गर्न लाग्ने अधिकतम ८५ मिलियन डलर एशियाली विकास बैंकबाट जुटाउन सकिने जाइकाको प्रस्ताव थियो। तर सरकारले एकै चरणमा दुबै काम अघि बढाउने जनाउ दिएपछि एशियाली विकास बैंकपछि हट्यो।

एडीबीपछि हटेपछि जाइकाले वर्षौं लगाएर गरेको विस्तृत अध्ययन तथा करोडौं खर्चिएर अधिग्रहण गरेको जमिन अलपत्र भयो। पोखराको आर्थिक गतिविधि विश्लेषण भइसकेकाले ठूलो ऋण लगानीका लागि दातृ निकाय तयार भएनन्। यही संकटमा भित्रियो चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीई।

२०६३ सालको राजनीतिक आन्दोलनपछि पोखरा विमानस्थलको एजेण्डा फेरि उठ्यो। जतिबेला भर्खरै, नेपाल र भारतका बीचमा विभिन्न भारतीय सहरमा व्यवसायिक उडान सुरु गर्ने विषयमा हवाई सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौता कार्यान्वयनमा आउँदा नआउँदै सरकार फेरियो। तीन जना प्रधानमन्त्री परिवर्तन भए। डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो। सरकारले यो विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनामा राख्यो। जतिबेला वर्षमान पुन अर्थमन्त्री थिए।

पोखरामा बन्ने भनिएको विमानस्थल कस्ले, कसरी र कहिले बनाउने ? स्रोत कसरी जुटाउने भन्ने विषय सार्वजनीक बहसमा नआउँदै, अर्थमन्त्री पुनले चिनियाँ इन्जिनियरिङ कम्पनी सिएएमसीईसँग हस्ताक्षर गरे। यो कम्पनीलाई पोखरा विमानस्थल निर्माणको जिम्मा दिने भन्दै, २०११ को सेम्टेम्बर २० मा एमओयु गरेपछि यो विषय अख्तियार पुग्यो। अख्तियारले छानबिन थालेपछि सरकारले बिना प्रतिस्पर्धा, चिनियाँ कम्पनी सिएएमसीईलाई विमानस्थल निमार्णको काम नदिने भन्दै २०११ को सेम्टेम्बर २० मा भएको अपारदर्शी एमओयु खारेज भयो।

३५ वर्षदेखि जग्गा अधिग्रहरण गरेर पनि विमानस्थल निमार्णमा चासो नदेखाएको भन्दै पोखरेली जनताले एक सय दिनसम्म भोक हड्ताल गरे। त्यसपछि २०१२ जुलाई १८ मा नागरिक उड्डयान प्राधिकरणले पुनः विमानस्थल निमार्णका लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको हो।

वर्षमानको सेटिङ
यो बीचमा एशियाली विकास बैंकले विमानस्थल आर्थिक हिसाबले चल्न नसक्ने ठहरसहित हात झिकी सकेको थियो। यही मौकामा तत्कालीन माओवादीको एउटा धारको संरक्षणमा चीनको एक्जिम बैंक भित्रियो। क्यानले टेण्डर आह्वान गरेपछि एक्जिम बैंकले आफ्नो सूचीमा रहेका निश्चित कम्पनीले मात्र ठेक्का लिन पाउने अन्यथा कुनै प्रकारको ऋण लगानी नगर्ने शर्त राखेर पोखरा विमानस्थल निमार्णमा अड्को थाप्यो। त्यसैको परिणाम, सुरुमा, २२ वटा कम्पनीले टेण्डर प्रक्रियामा सहभागी हुन फारम भरेकोमा एक्जिम बैंकको सूचनापछि ९ वटा कम्पनीले मात्र फारम बुझाए। त्यसमा पनि ६ वटा फारम एक्जिम बैंकको सूचीमै थिएनन्। त्यसैले २२ वटा कम्पनी इच्छुक भएर पनि अन्ततः एक्जिम बैंकको रणनीति अनुसार ३ वटा कम्पनी मात्रै प्रतिस्पर्धामा छानिए। ती सबै टप थ्री कम्पनी चिनियाँ मात्र थिए।

जसमा सिएएमसीई कम्पनीले सबैभन्दा सस्तो ३०५ मिलियन डलरमा टेण्डर हालेको थियो। चिनियाँ कम्पनी सिनो हाइड्रोको ३३७ दशमलव ८२ मिलियन डलर र अर्को चिनियाँ कम्पनीको ३४९ दशमलव २८ डलर विड टेण्डर थियो। तर यी ३ वटै टेण्डर सामान्य भन्दा निकै महंगो थिए। तर यो विमानस्थल निमार्णमा जति लागे पनि चीनको एक्जिम बैंकको ऋण सहायता रहने निश्चित् भइसकेकाले कसैले पनि लगानी बढेको विषयमा प्रश्न गरेनन्।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. जगदीश चन्द्र पोखरेल पहिलेको डिजाइनमा भन्दा ७० मिलियन डलर बढी लागत देखाएर अपारदर्शी रुपमा पोखरा विमानस्थल बनाइएको र यो विषयमा प्रश्न गर्नेलाई विकास विरोधी भन्दै खेदिएको स्मरण गर्छन्। पोखरेलका अनुसार, यो ऋण कुन शीर्षक र शर्तमा लगानी गर्ने भन्ने प्रष्ट नहुँदै नेपालले सोझै राजनीतिक प्रभावमा चिनियाँ ठेकेदारको जिम्मा लगाएको थियो। नेपाल त्यही फसेको हो। जतिबेला अत्यन्तै महंगोमा पोखरा विमानस्थलको ठेक्का चिनियाँ कम्पनी सिएएमसीईको हातमा जाने लगभग निश्चित भइसकेको थियो। त्यसबेला विज्ञको लगानीको पारदर्शीता बारे प्रश्न गरेका थिए। किनकी नेपाल सरकारले एशियाली विकास बैंकको सहयोगमा विमानस्थल बनाउने विस्तृत आयोजना प्रतिवेदन तयार पार्दा भन्दा ८० प्रतिशत बढी अर्थात् ३०५ मिलियन डलरको प्रस्ताव नै यो आयोजनाको सबैभन्दा कम प्रस्ताव बनाइएका थियो।

उपाध्यक्ष डा. पोखरेल यो विमानस्थलको कुल लागत बढीमा १३२ मिलियन डलर पुग्ने र चिनियाँ कम्पनीले गरेको प्रस्ताव ज्यादै महंगो रहेको बताउँछन्। किनकी सुरुमा चिनियाँ कम्पनीले २६४ मिलियन डलरसम्म यो विमानस्थल बनाउन सकिने जनाउ दिएकोमा टेण्डर प्रक्रियामा जाँदा उक्त रकम बढेर ३०५ मिलियन डलर पुग्यो। यहाँ झण्डै ७५ देखि ८० मिलियन डलर लगानी बढेको छ।

यही अपारदर्शी निर्णय कै निरन्तरता, सन् २०१४ को अप्रिलमा सरकारले चीनको एक्जिम बैंकबाट २१७ मिलियन डलर ऋण लिने र विमानस्थल निमार्णको जिम्मा चिनियाँ कम्पनीलाई नै दिने औपचारिक निर्णय गर्यो। जसमा चिनियाँ पक्षका लागि माओवादी नेता वर्षमान पुनले आधिकारीक एजेण्टका रुपमा भूमिका खेलेका थिए। लगत्तै सन् २०१६ मा चिनियाँ कम्पनी सिएएमसीई इञ्जिनियरिङसँग २१५ दशमलव ९६ मिलियन डलरमा विमानस्थल निमार्ण गर्ने प्रारम्भिक सम्झौता भयो। विज्ञका अनुसार यो सम्झौता अनुसार विमानस्थलको निमार्ण लागत ७० अर्ब डलर भन्दा बढी भइसकेको थियो। थेग्नै नसकिने ऋण भार पर्ने भएपछि नागरिक उड्डयन प्राधिकरणले एक्जिम बैंकको उक्त शर्त अनुसार ऋण तिर्न नसकिने भन्दै हस्ताक्षरका लागि आनाकानी गर्यो। कर्मचारी आन्दोलनमा उत्रिए।

नागरिक उड्यन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिषचन्द्रलाल सुमन आफूले एक्जिम बैंकले ऋणको साँवा ब्याज भुक्तानीका लागि नागरिक उड्डयन प्राधिकरणले मातहतका सबै विमानस्थलबाट हुने सबै आम्दानी जम्मा गर्ने एउटा संयुक्त खाता खोल्नुपर्ने शर्त राखेपछि उक्त शर्त अस्वीकार गरेको बताउँछन्। पोखरा विमानस्थलको मात्रै आम्दानीले ऋण लगानी अनुसारको साँवा ब्याज भुक्तानी गर्न सकिने अवस्था थिएन। यो चिनियाँ पक्षले बुझिसकेको थियो।

प्राधिकरणले पोखरा विमानस्थलको आम्दानी मात्रै जम्मा हुने संयुक्त खाता खोल्ने र सोही खाताबाट साँवा ब्याज भुक्तानी गरिने शर्त राखेर क्यानका महानिर्देशक सुमनले अन्ततः यो राष्ट्रिय गौरवको आयोजना चीनको एक्जिम बैंककै ऋण सहयोगमा बन्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यो बेला सुशील कोइराला नेतृत्वको सरकार थियो। महानिर्देशक सुमनका अनुसार उक्त सम्झौतामा यो विमानस्थल निर्माणाका लागि एक्जिम बैंकले दुई प्रतिशत ब्याजमा ऋण लगानी गर्ने कुरा मात्र लेखिएको छ, बीआरआईको विषय कतै उल्लेख छैन।

सन् २०१६ मा नेपालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि ओली चीन भ्रमणमा गए। बेइजिङमा, २१५ दशमलव ९६ मिलियन डलर सफ्ट लोन सम्झौतामा हस्ताक्षर भयो। उक्त सम्झौतामा २५ प्रतिशत रकम एक्जिम बैंकले ब्याज बापतको रकमका रुपमा कटौती गरेर ७५ प्रतिशत मात्र ऋण लगानी गर्ने उल्लेख थियो। जसमा अहिलेसम्मकै महंगो वैदेशिक ऋण अर्थात् २ प्रतिशत वार्षिक ब्याजको शर्त राखिएको छ। जुन ऋण पोखरा विमानस्थलले २० वर्ष भित्र तिरिसक्नुपर्ने छ। तर भू–राजनीतिक मामिलाका जानकार अरुणकुमार सुवेदी पोखरा विमानस्थलले अहिलेकै अवस्थामा सय वर्ष भित्र पनि चीनको ऋण तिर्न नसक्ने बताउँछन्। अन्तिममा यो विमानस्थल सञ्चालनको जिम्मा चीनलाई नै दिनुपर्ने उनको भनाइ छ। अपारदर्शी स्वार्थ र शर्त मिसिएको ऋण सम्झौता बनिसकेको उनको बुझाइ छ।

एक्जिम बैंकले लगानी गर्ने निश्चित् भएपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले सन् २०१६ को अप्रिल १३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेका हुन्। त्यसपछि बाँकी प्रक्रिया पुरा गरेर सन् २०१७ को नोभेम्वर १ बाट चिनियाँ ठेकेदार कम्पनी सिएएमसीईले निमार्ण सुरु गरेको हो। सन् २०२३ को जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको यो विमानस्थल आजसम्म सुनसान छ। आन्तरिक वायुसेवाले पुरानो विमानस्थलबाट भइरहेका उडान नयाँ विमानस्थलबाट गरिरहेका छन्। न राष्ट्रिय उडान गन्तव्य थपिएका छन्। न त अन्तर्राष्ट्रिय वायुसेवा नै जोडिएका छन्। पोखरा विमानस्थल ऋणको पासो मात्रै बनेको छ। जुन पासो नेपालको जस्तो सानो अर्थतन्त्रयुक्त मुलुकको घाँटीमा दैनिक रुपमा कसिंदै गएको छ।

गएको वर्ष पोखरा विमानस्थलले ११ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेकामा यो विमानस्थल सञ्चालनमा आएपछि खर्च मात्रै बढेको छ। आम्दानी निराशाजनक छ। जबकी यो विमानस्थल निमार्णमा लागेको खर्च र त्यसको साँवा ब्याज तिर्न नयाँ विमानस्थलले मात्रै वार्षिक ११ दशमलव ४ मिलियन डलर अर्थात १ खर्ब ५० अर्ब रुपैयाँ कमाउनै पर्ने हुन्छ। तर अहिले विमानस्थलले पुरानो एअरपोर्टबाट भइरहेको उडान तथा अवतरण लगभग सबै बन्द गरेर दुबै विमानस्थलको आम्दानी एउटै खातामा जम्मा गर्दासमेत महिनामा औशत भन्दा १३ गुणा कम आम्दानी देखिएको छ। तर अबको तीन महिनापछि एक्जिम बैंक चाइनालाई मासिक ३ दशमलव २ मिलियन डलर ब्याज मात्र भुक्तानी गर्नुपर्ने दबाब र भार भने छ।

तीब्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनमा एकाएक देखिएको संकट के हो ?

धिरज पौड्याल
चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्र हो । पछिल्लो दुई दशकमा चीनले द्रुत गतिमा आर्थिक वृद्धि हासिल गर्दै कुल गार्हस्थ उत्पादनको आकार करिब २०० खर्ब डलर बराबर बनाएको छ । यद्दपि, सन् २०१६ पछि भने देशको आर्थिक वृद्धिदरमा केही कमी देखिँदै आएको छ । सन् २०१६ पछि चीनको आर्थिक वृद्धिदरमा संकुचन आउनुको कारण, यसको ब्याजदर र कडा बैंकिङ तथा मौद्रिक नीतिसँगको सम्बन्धलाई यस लेखमा चर्चा गर्नेछौं ।

दोस्रो ठूलो अर्थतन्त्र बनाउन चीनले लिएको नीति
सन् १९७० को दशकमा चीनले गरेको आर्थिक पुनर्संरचना र सुधारले अर्थ व्यवस्थालाई खुलारुप दियो । निजी व्यवसाय र वैदेशिक लगानीलाई प्रोत्साहन गर्यो । व्यवसाय प्रवद्र्धन गर्न विशेष आर्थिक क्षेत्र घोषणा गरी आन्तरिक र वैदेशिक लगानी आकर्षित गर्यो । चीन निर्यातमुखी अर्थतन्त्रका रुपमा अघि बढिरहेको थियो । कम ज्यालादर, ठूलो कार्यक्षेत्र र व्यवसाय उन्मुख चीनको नीतिले अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्यो ।

चीनले विश्व बजारमा अन्तर्राष्ट्रिय कारखानाको परिचय बनायो । बहुराष्ट्रिय कम्पनीहरुले चीनमा प्रविधि हस्तान्तरण, रोजगारी र आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरे । यस मुलुकले प्राथमिकताका साथ पूर्वाधार विकासलाई जोड दियो । पूर्वाधार विकासले आर्थिक गतिविधिलाई सहज बनायो, विभिन्न क्षेत्रलाई सञ्जालमा जोड्यो । जसले राज्य भित्रका अन्य क्षेत्रमा पनि व्यवसाय विकासमा सहयोग गर्यो ।

चीनले गरेको मानव संशाधन विकास, शिक्षा र लिएको आर्थिक नीतिका कारण छोटो समयमा भिन्न परिचयका साथ उदायो। वर्ल्ड इकोनोमिक फोरमको तथ्यांक अनुसार सन् २०१८ मा चीन २८.४% हिस्सासहित विश्वको सबैभन्दा ठूलो उत्पादक राष्ट्र थियो । उत्पादन क्षेत्रले चीनको जीडीपीमा ३०% योगदान दिँदै आएको छ ।तर पछिल्लो समय चीनको आर्थिक क्रियाकलाप संकुचित बन्दै गइरहेको छ भने विभिन्न आर्थिक संकटसँग जुधिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अहिले चीनका विभिन्न कम्पनीहरु बन्द भएका छन् भने केही बहुराष्ट्रिय कम्पनीहरु चीनबाट बाहिरिएका छन् ।

२००८ मा वित्तीय संकटको चीनमा पनि प्रभाव

सन् १९७० मा ९२ अर्ब रहेको चीनको कुल ग्राह्यस्थ उत्पादन २००८ सम्म आइपुग्दा ४५ खर्ब ९४ अर्ब अमेरिकी डलर पुगेको थियो । प्रत्यक्ष वैदेशिक लगानी शून्यबाट १०० अर्ब डलर बढी भित्रिएको थियो । चीनले भित्र्याएको लगानी सही रुपमा सदुपयोग गरिरहेको थियो । त्यसैबीच, सन् २००८ मा विश्वभर वित्तीय संकट देखा पर्यो । जसले सहज रुपमा अघि बढिरहेको चीनकोे अर्थतन्त्रमा पनि ठूलो प्रभाव ल्यायो र परिस्थिति कष्टकर बन्न पुग्यो ।

२००७ मा निर्यात व्यापारले चीनको जीडीपीमा ३४% योगदान दिएको थियो । अन्तराष्ट्रिय रुपमा आएको आर्थिक मन्दीको प्रभाव यहाँको निर्यात व्यापारमा पनि पर्यो । उच्च मुद्रास्फीति र बढ्दो ब्याजदरले अमेरिका, युरोप लगायतका राष्ट्रहरूले गर्ने खर्च न्यून हुँदै जाँदा निर्यात व्यापार खस्किएको थियो नै, आन्तरिक माग पनि पर्यप्त नहुँदा उत्पादन वृद्धिको अवस्था थिएन । आर्थिक क्रियाकलाप घट्दो थियो । जसका कारण चीनले यसको विकल्पमा विभिन्न सुधारका काम सुरु गर्यो ।

विकल्पबाट समस्याको जन्म

चीनले संकुचित रहेको आर्थिक क्रियाकलाप वृद्धि गर्न विभिन्न नीति अवलम्बन गर्यो । अर्थतन्त्र चलायमान बनाउन वित्तीय प्रोत्साहनको प्याकेज अगाडि बढायो । व्यवसाय वृद्धि र रोजगारी सुरुवात गर्न ५८६ अर्ब अमेरिकी डलरको राहत प्याकेज ल्यायो । व्यवसायमैत्री वातावरण सिर्जना गर्न ब्याजदर कम गर्यो । सहज मौद्रिक नीति अवलम्बन गर्दै ब्याजदर कर्जामा ५.३१% र मुद्दति निक्षेपमा २.३% कायम गर्यो ।

आन्तरिक खपतलाई प्राथमिकता दियो भने निर्यात गर्ने उद्योगहरुलाई सहजीकरण गर्यो । दीर्घकालीन विकासको नीति अवलम्बन गर्यो र क्षेत्रीय विकासलाई प्राथमिकता दियो । यो मुलुकले प्रान्तहरुको जीडीपी टार्गेटलाई थप सशक्त बनायो । केन्द्रीय सरकारले सक्रिय रुपमा प्रान्त वा प्रदेश सरकारहरुलाई जीडीपीको टार्गेट तय गर्न थाल्यो । जीडीपीको टार्गेट तय गर्न सन् १९९० मा अर्थतन्त्र पुनर्संरचनाको अवधिबाट सुरुवात गरेको थियो ।

केन्द्र सरकारले प्रदेश सरकारलाई दिएको टार्गेट

केन्द्र सरकारले प्रादेशिक रुपमा जीडीपीको टार्गेट तय गर्न सुरुवात गर्यो । केन्द्र सरकारले टार्गेट पुर्याउन मुश्किल रहने गरी लक्ष्य तय गर्दथ्यो । सरकारले पुग्नै नसक्ने गरी तय गरेको टार्गेट भेट्न गर्नुपर्ने लगानी प्रदेश सरकारसँग अपर्याप्त हुन्थ्यो । प्रदेश सरकारले आफ्नो सार्वजनिक खर्च आफैं जुटाउनुपर्ने बाध्यता पनि थियो भने प्रदेशभित्र उठेको कर केन्द्रीय सरकारले लैजाने हुँदा खर्च अभाव झन् बढिरहेको थियो ।केन्द्रले दिएको जीडीपीको टार्गेट भेट्नलाई प्रदेश सरकारसँग पैसाको अपुग थियो । खर्चको पैसा पुर्याउन प्रदेश सरकारसँग दुइ विकल्प थिए ।

पहिलो ऋण लिने र दोश्रो ‘लोकल गभर्मेन्ट फिनान्सिङ भेइकल टुल’ को प्रयोग गर्ने । केन्द्र सरकारले प्रदेश सरकारले लिन सक्ने ऋणको सीमालाई निर्धारित गरेको थियो । त्यसैले सीमित सीमा भन्दा बढी ऋण लिन प्रदेश सरकारले पाउँदैनथे ।अर्को ‘लोकल गभर्मेन्ट फिनान्सिङ भेइकल’ अर्थात प्रदेश सरकारले जग्गा बिक्री गर्ने वा लिजमा दिने गर्दथ्यो । लोकल गभर्मेन्ट फिनान्सिङ भेइकल टुलले सरकारको जग्गा लिजमा दिई वा बेची प्रदेश सरकारलाई आवश्यक पैसा उठाउने गर्दथ्यो । जसका कारण समस्या निम्तिँदै गएको थियो । प्रान्त सरकारले जीडीपीको टार्गेट पूरा गर्न पूर्वाधारमा खर्च गर्न थाल्यो । पूर्वाधारमा गरेको खर्च जीडीपीमा गणना हुन्छ ।

सुरुवातमा पूर्वाधारमा गरेको खर्चले उत्पादकत्व बढाइरहेको थियो । तर बिस्तारै अनावश्यक रुपमा पूर्वाधारमा खर्च बढिरहेको थियो । पूर्वाधार उच्चतम किफायती विन्दुसम्म पुगिसक्दा पनि ऋण लिएरै पूर्वाधारमा खर्च भइरहेको थियो । जीडीपीको टार्गेट पूरा नभएको खण्डमा उनीहरुलाई कारबाही हुने नियम छ । राजनीतिज्ञको भविष्य टार्गेटमा निहित छ । आवश्यकता नभए पनि उनीहरु टार्गेट भेट्नका लागि खर्च गरिरहेका थिए । प्रदेश सरकारले खर्च जुटाउनका लागी लोकल गभर्मेन्ट फिनान्सिङ भेइकल टुल प्रयोग गरेका थिए । राज्यको जग्गा लिजमा वा बिक्री गरेर पैसा उठाउने गर्दथ्यो । जति जति बढी जग्गामा उद्योगपतिले पैसा लगाउँथे सरकारलाई उति उति फाइदा भइरहेको पनि थियो । जग्गाको भाउ बबल भइरहेको थियो । टार्गेट पूर्व गर्न आवश्यक पर्ने पैसा जुटाउन प्रदेश सरकार अर्को अनावश्यक बाटो प्रयोग बाध्य बनेका थिए । यसैबीच तेस्रो विकल्पको रुपमा उदायो ‘स्याडो बैंक’ ।

स्याडो बैंक

स्याडो बैंक हाम्रो बुझाइको बैंक भन्दा भिन्न हन्छ । यो अनौपचारिक बैंकिङ च्यानल हो । यसले चलनचल्तीमा रहेको बैंकले जस्तै लोन दिने गर्छ तर बैंकको जस्तो प्रक्रिया पूरा गर्दैन । यो बैंक नै हो भन्ने पनि हैन । यो एउटा कम्पनीले काम गर्छ । स्याडो बैंकले लोन चाहिएकाहरुको समूह बनाउँछ र सूचीकृत गर्छ । यसरी बनेको समूहलाई वेल्थ म्यानेजमेन्ट प्रोडक्ट भनिन्छ ।स्याडो बैंकले यो वेल्थ म्यानेजमेन्ट प्रोडक्टको विज्ञापन गर्छ र लगानीकर्तालाई बेच्छ ।

लगानीकर्ताले बैंकमार्फत खरिद गर्छन् । यसमा रिस्क भए पनि उच्च ब्याजदर प्राप्त गर्ने हुँदा लगानीकर्ता यसमा पैसा लगाउने गर्छन् । र, स्याडो बैंकले कमिसनको रुपमा मुनाफा कमाउँछ । स्याडो बैंकले लगानीकर्तामा रिस्क ट्रान्सफर गर्दछ । सन् २००७ मा अमेरिकामा जसरी सबप्राइम मोर्गेजले वित्तीय संकट निम्तिएको थियो, सोही रुपमा चीन पुनः यसतर्फ अगाडि बढिरहेको थियो ।

किन वैधानिक बैंकको सट्टा स्याडो बैंक प्रयोग हुन थाल्यो ? कसरी चीनको कडा कर्जा नीति अर्थिक सत्रु बन्न पुग्यो ?

चीनले कर्जामा कडा नीति अवलम्बन गरेको थियो । आर्थिक विकासमा फड्को मार्दै गरेको चीनमा बढ्दो विकासका लागि थप पैसा आवश्यक थियो । बैंकहरु नियामकको कडा नीतिको कारण सहज रुपमा कर्जा परिचालन गर्न सकिरहेका थिएनन् । व्यवसायका लागि कर्जाको प्रक्रिया पुर्याउन कठीन थियो र प्रक्रिया पूरा गरेको खण्डमा पनि कर्जा प्राप्त गर्न विविध बाधाहरु खडा गरिएको थियो ।

उत्कृष्ट कर्जा इतिहास भएका व्यवसायी पनि सीमित कर्जा सिमाभित्र संकुचित हुनुपर्ने बाध्यता थियो । व्यवसायका लागि वा प्रान्त सरकारका लागि आवश्यक पर्ने पैसाको अभावको खाडल बढ्दै थियो । साना तथा मझौला उद्यमहरु कर्जाको प्रक्रिया पुर्याउन कठीन थियो । बैंकको कठीन प्रक्रिया छल्न र आवश्यक पैसा जुटाउन अनौपचारिक बैंकिङ माध्यमको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

स्याडो बैंकले झन्झट बिना सहज रुपमा कर्जा प्रदान गर्दथ्यो ।तर स्याडो बैंकको नियमनको कमी थियो । तर औपचारिक बैंकहरुलाई बढी कडाई गरिएको थियो । मुलुकले लिएको सहज मौद्रिक नीति र न्यून ब्याजदर बैंकले पालना गर्नुपर्ने थियो । बैंकहरु उच्च ब्याजदरमा मुनाफा बनाउन चाहन्थे तर उनीहरुलाई न्यून ब्याजदरमा काम गर्नुपर्ने बाध्यता थियो ।

व्यवसायीहरु लोन खोजिरहेका थिए तर पैसा पाइरहेका थिएनन् । यहाँ दुवै पक्षलाई घाटा भइरहेको थियो । औपचारिक बैंकहरु पनि स्याडो बैंकको प्रक्रियामा आबद्ध हुन थाले । उनीहरुले वेल्थ म्यानेजमेन्ट प्रोडक्टको रुपमा कर्जालाई विस्तारित गरी लगानीकर्तामा रिस्क ट्रान्सफर गर्थे । स्याडो बैंकको कारोबार ब्यालेन्स सिटमा उल्लेख गर्नु नपर्ने हुँदा बैंकले जोखिमयुक्त कर्जा स्याडो बैंकको माध्यमबाट परिचालित गर्न थाले ।बैंकको औपचारिक कर्जामा ब्याजदर ६% हुँदा स्याडो बैंकको ब्याजदर १८% सम्म रहेको एक अध्ययनले देखाएको छ । व्यवसायी र प्रान्त सरकार औपचारिक बैंकको लोन क्याप र कर्जाको झन्झटिलो प्रक्रियाको सट्टा स्याडो बैंकको उच्च ब्याजदर तिर्न तयार भए ।

सन् २००७ मा लेहमन ब्रदर्सले घर जग्गाको बन्ड बनाएर बेचिरहेका थिए, त्यसरी नै चीनमा विकासको प्रोजेक्टको विस्तारित कर्जा बनिरहेको थियो । विकास प्रोजेक्ट डुब्न पुगेमा सरकारले राहत दिने नीतिले लगानीकर्ता विश्वस्त रही कारोबार गरिरहेका थिए । स्याडो बैंकको प्रयोग सरकारी तवरमा मात्र नभई निजी तहमा उच्च प्रयोग भएको थियो । ९० खर्ब डलरको स्याडो बैंक तयार भएको थियो ।

स्याडो बैंकको निराकरणले समस्या झन् थपियो

सन् २००८ बाट उदाएको स्याडो बैंक सन् २०१६ मा शिखरमा पुगेको थियो । सन् २०१६ मा स्याडो बैंकहरुको आकार १०० खर्ब अमेरिकी डलर बढी पुगेको थियो । बढ्दो अनौपचारिक कर्जाले संकट देखाइरहेको थियो । स्याडो बैंकले सहज रुपमा जोखिमयुक्त कर्जा प्रवाह गरिरहेका थिए । अब यो मुलुकले बढ्दो वित्तीय जोखिम न्यूनीकरण गरी वित्तीय स्थायित्वको लागि सन् २०१६ मा ‘डी लेभरेजिङ स्ट्राटेजी’ अवलम्बन गर्यो । अत्यधिक र जोखिमयुक्त कर्जा प्रवाहलाई थप कडाई गर्यो । अनौपचारिक माध्यमबाट प्रवाह हुने कर्जालाई कडाई गर्ने नीतिले वित्तीय पारदर्शिता स्थापित गर्न स्याडो बैंक, अफ ब्यालेन्स सिट कर्जा र अन्तर बैंक गतिविधिमा लक्षित गर्यो । यतिबेला घर जग्गा व्यवसाय बबलमा पुगिसकेको थियो । भएभरको ऋण घर जग्गाको कारोबारमा जम्मा भइरहेको थियो । नयाँ नीतिले यसलाई थप कडाई गर्यो ।

चीनले सरकारी स्वामित्वका संस्था गाभ्नेदेखि बन्दसम्म गर्न थाल्यो । यसले ‘डी लेभरेजिङ स्ट्राटेजी’ ले वित्तीय संस्थालाई थप कडाई गरेको थियो नै साथमा स्याडो बैंकलाई निर्मूल पार्ने योजनामा अगाडि बढिरहेको थियो । यो नीति पालना नगनेलाई हदैसम्मको कारबाही गर्न चीन पछि हटेको थिएन । सन् २०१६ पछि स्याडो बैंकको वित्तपोषण घट्न पुग्यो । चीन एक हिसाबले लिएको नीतिबाट सफल देखिएको थियो । तरसँगै समस्या जन्मिएको थियो । व्यवसायीले पहिला जस्तो सहजरुपमा कर्जा प्राप्त गर्न सकिरहेका थिएनन् । स्याडो बैंकमार्फत चाहेको समयमा चाहेजति कर्जा लिई व्यवसाय विस्तार गर्न सक्थे तर उनीहरु पुनः पैसाको अभावमा चेपिन बाध्य भए । बैंकको कर्जा सीमा र झन्झटिलो प्रक्रियाले व्यवसायीलाई पेलेको थियो । जसका कारण चीनको आर्थिक वृद्धिमा कमी देखियो । पैसा अभावका कारण व्यापार, व्यवसाय अस्ताउँदै थिए । नगद अभावको प्रभाव सबै व्यवसायमा परेको थियो नै तर सबैभन्दा बढी रियल स्टेट व्यवसायलाई धक्का पुग्यो । विभिन्न ठूलाठूला महत्वकांक्षी योजना सुरुवात भइरहेका थिए । तर बीचमै नीतिगत कडाई गर्दा व्यवसायीले नगद अभाव भोग्नुपर्यो । विभिन्न बन्दै गरेका प्रोजेक्ट बीचमै रोकिन थाले । घर जग्गाको कारोबारमा आएको गिरावटको प्रभाव अर्थतन्त्रमा सबैभन्दा बढी देखिन्छ । चीनमा पनि त्यस्तै भयो । अवस्था झन् भन्दा झन् बिग्रिँदै गएको थियो । विभिन्न चिनियाँ कन्स्ट्रक्सन कम्पनी जोखिमको संघारमा पुगेका थिए ।

जीडीपीमा ३०% योगदान दिने यो क्षेत्र चलायमान नहुँदा यससँग जोडिएका अन्य क्षेत्र पनि सुस्ताउन थाले । निजी तवरले बन्दै गरेका ठूलाठूला भवन नगद अभावकै कारण रोकिए । चिनियाँ कन्स्ट्रक्सन कम्पनीले पुरानो प्रोजेक्टलाई बीचमा रोकी नयाँ प्रोजेक्टको काम सुरु गरे । उनीहरुसँग पुरानो प्रोजेक्टलाई निरन्तरता दिने पैसा थिएन, तर नयाँ अपार्टमेन्ट बन्नु अगावै डिस्काउन्टमा अपार्टमेन्ट बिक्री गरी पैसा उठाउन थाले । आर्थिक क्रियाकलापमा कमी आउँदा कन्स्ट्रक्सनको काम ढिला हुन पुग्यो । घर जग्गाको मूल्यमा गिरावट आएको थियो । यससँगै बैंकको घर जग्गाको लोनमा डिफल्ट बढ्दै गयो विभिन्न बैंकहरुमा यो समस्या देखियो । बैंकिङ समस्याको सबैभन्दा ठूलो चोट ग्रामीण बैंकहरुलाई पर्यो । र, यसको प्रत्यक्ष असर साना तथा मझौला उद्योगले भोगे । साना तथा मझौला उद्योग अहिले चरम नगद अभाव व्यहोरिरहेका छन् । अहिले पनि चीनमा विभिन्न बैंकहरुमा निक्षेपकर्ता लाइन लागेर निक्षेप फिर्ता मागिरहेको फोटो भिडियो विभिन्न सञ्चार माध्यममा भाइरल बनेका छन् । सीएनएनका अनुसार गत अप्रिलमा ५ चिनियाँ ग्रामीण बैंक बन्द हुन पुगेका थिए ।

जसबाट ४ लाख निक्षेपकर्ता प्रभावित बनेका थिए । चीनको प्रान्तहरु अहिले कर्जाको चपेटामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो केही समययता चीनबाट अन्तर्राष्ट्रिय कम्पनीहरु बाहिरिने चरणमा रहेका छन् । यसअघि प्रतिबद्धता गरिएको लगानी पनि भित्रिन सकेको छैन । यता, चिनियाँ सञ्चार माध्यमहरुले भने रियल स्टेट सेक्टरलाई केन्द्र सरकारले नजिकबाट नियमन गर्दा संकटउन्मुख नरहेको दाबी गरेका छन् । यस्तै, प्रान्तहरुका कर्जामा केन्द्र सरकारले आवश्यक कदम उठाई व्यवस्थापन गरिरहेको पनि चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तथापि, समग्रमा हेर्दा यो मुलुकले अहिले आर्थिक संकटको सामना गरिरहेको छ । आन्तरिक उत्पादनमा गिरावट र निर्यात व्यवसायमा ह्रास आएको अवस्था छ ।

शून्य कोभिड नीतिले पनि अर्थतन्त्रलाई समस्यामा पार्यो

यस्तै, सन् २०२० पछि अर्थतन्त्रमा थप समस्या आउनुमा शून्य कोभिड नीति पनि प्रमुुख कारण हो । चीनले कोभिड नियन्त्रणका लागि २ वर्षभन्दा बढी लगातारजसो लक डाउन गर्यो । हवाई उडानमा कडाई, विदेशी नागरिकलाई मुलुक प्रवेशमा निकै कडाई गर्यो । यसले विदेशी पर्यटक आउन पाएनन् । अर्थतन्त्रका अन्य क्षेत्रमा पनि समस्या पैदा गर्यो । यसको प्रभाव अहिले समग्र अर्थतन्त्रमा देखिएको छ ।

यसैगरी, जलवायु परिवर्तनको असर देखियो । लामो खडेरीका कारण कृषि उत्पादनमात्र होइन, उद्योगधन्दा पनि प्रभावित भए । उद्योगमा बिजुली कटौती हुँदा उत्पादनमा असर पर्न गयो । यस्तै, अलिबाबा जस्ता कम्पनी र यसका संस्थापकमाथि धरपकड र नियामकीय कडाईले देशको लगानीमैत्री वातावरणमै असर पुर्यायो । अन्तर्राष्ट्रियस्तरमै नराम्रो सन्देश पनि गयो । यी यावत् पक्षहरु एकसाथ देखिंदा समग्र अर्थतन्त्रले संकटको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

यसरी फैलाउँदै छ चीनले नेपालमा ‘सौम्य शक्ति’

निष्णु थिङ

चीनसँग नेपालको सम्बन्ध प्राचीन कालदेखिकै हो। पछिल्लो समय भने यो सम्बन्धमा खासगरी चिनियाँ सौम्य शक्तिको नीति हावी भएको देखिन्छ। सन् २०१५ को भूकम्प र संविधान जारी भएपछिको अवस्थामा नेपालमा प्रभाव ह्वात्तै बढाएको चीनको सौम्य शक्ति यहाँका विभिन्न क्षेत्रमा कार्यान्वयन भइरहेको छ। अनि त्यो संस्कृति, शिक्षा, पहिले कम्युनिस्ट अनि अहिले सी चिनफिङ विचारधारा, धर्म, व्यापार, भाषा, पर्यटन, अध्ययन–अनुसन्धान, प्राज्ञिक तह, चीन अध्ययन केन्द्र, विश्वविद्यालय, पुस्तक प्रकाशनदेखि सामान्य दैनिक जीवनसम्मका आयाममा प्रतिविम्बित छ।

होउ यान्छी राजदूत भएर आएको दुई महीनामै चिनियाँ दूतावासद्वारा १०७औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले ‘चरी जस्तै उड्न पाए, गगनको तलतिर’ बोलको नेपाली गीतमा नृत्य गरेर नेपालीको ध्यान तानिन्। यो सौम्य शक्तिको उत्कृष्ट प्रयोग हो।

चीनले नेपालमा उच्च शिक्षाका माध्यमबाट पनि काम गर्दै छ। एमडीपीआईले प्रकाशन गरेको सोसाइटिज जर्नलमा प्रिय गौतम, बाबा सिंह र विजयकुमार चट्टुले लेखेको ‘हाइअर इजुकेशन एज अ ब्रिज बिट्वीन चाइना एन्ड नेपाल म्यापिङ एजुकेशन एज सफ्ट पावर इन चाइनिज फरेन पोलिसी’ लेखमा चिनियाँ सौम्य शक्ति वृद्धि गर्न नेपालमा उच्च शिक्षाका माध्यमबाट कसरी काम हुँदै छ भन्नेबारे गहिरो विवेचना गरिएको छ।

अनुसन्धाताका अनुसार चीनले नेपालमा ‘साना हातहरू’, ‘नोइङ चाइना बेटर’, ‘शैक्षिक रेशम मार्ग’ र ‘बीआरआई छात्रवृत्ति’ जस्ता कार्यक्रम चलाएको छ। चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने सरकारी कार्यक्रम प्रभावकारी हुँदै गएको निष्कर्ष छ। उदाहरणका लागि सन् २०१८ मा ६ हजार ४०० नेपाली विद्यार्थीले चिनियाँ विश्वविद्यालयमा पढ्न त्यहाँको सरकारबाट छात्रवृत्ति पाएका थिए (स्रोत: उही)।

चीन सरकारले सन् २००४ देखि संसारभर कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गरेर चिनियाँ संस्कृति र मन्डारिन भाषालाई प्रोत्साहन गरिरहँदा नेपालमा पनि काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय मार्फत काम भइरहेको छ। काठमाडौंका विद्यालयमा मन्डारिन भाषा पढाइन थालेको छ। भाषाशिक्षकको सेवासुविधा चिनियाँ दूतावासले नै उपलब्ध गराउँछ।

त्रिविको केन्द्रीय पुस्तकालयमा ‘चाइनाज् तिब्बेत रीडिङ रुम’ छ। त्रिविमै ‘काठमाडौं अनुसन्धान तथा अध्ययन केन्द्र चाइनिज एकेडेमी अफ् साइन्सेज्’ उद्घाटनको तयारी हुँदै छ।

चीनले नेपालमा धेरै चीन अध्ययन केन्द्र खोलेर सीमावर्ती क्षेत्रमा काम गरिरहेको भनी भारतको लोकसभामा बहस समेत उठेको थियो। बीआरआईलाई चिनियाँ सौम्य शक्तिकै रूपमा लिने गरिन्छ। नेपालले सन् २०१७ मै हस्ताक्षर गरेको बीआरआई अन्तर्गतका परियोजना यहाँ सञ्चालनमा छन्। चिनियाँ पक्षले भर्खरै उद्घाटित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बीआरआई अन्तर्गतको परियोजना भनी विज्ञप्ति निकालेको थियो। यद्यपि नेपाली पक्षले यसलाई स्वीकार गरेको छैन।

चाइनिज एकेडेमीले केही वर्षअघि नै नेपाल प्रज्ञा प्रतिष्ठानसित सहकार्यको औपचारिक सहमति गरिसकेको छ। प्रज्ञा प्रतिष्ठानमा दुई देशका संयुक्त साहित्यिक कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन्। दुईतर्फी आदानप्रदान र भ्रमणका कार्यक्रम भइरहन्छन्। गत वर्ष प्रतिष्ठानकै आयोजनामा भएको ‘रेशम मार्ग साहित्य’ को विमर्शमा विद्वान्‌हरूले कार्यपत्र समेत प्रस्तुत गरेका थिए। अहिले चीन अध्ययन केन्द्रले सी चिनफिङ: द गभर्नेन्स् अफ चाइना पुस्तकको पहिलो भागको नेपाली अनुवाद प्रकाशन गरिसकेको छ भने बाँकी दुई भाग अनुवादको चरणमा छन्।

यस बाहेकका थुप्रै चिनियाँ पुस्तक पनि नेपालीमा अनुवाद तथा प्रकाशनको काम हुँदै छ। चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा र साहित्य पढाइन्छन्। त्यस मार्फत भाषिक दक्षता हासिल गरेका र नेपाल बुझेकाहरूलाई त्यहाँको सरकारले नेपाल मामिला हेर्ने जिम्मा दिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीले यहाँका कम्युनिस्ट पार्टीहरूलाई ‘सी विचारधारा’ को प्रशिक्षण दिंदै आएको छ। प्रत्येक वर्ष यहाँ चिनियाँ चलचित्र महोत्सव पनि गरिन्छ।

विदेश नीतिकै हिस्सा
सौम्य शक्तिको अवधारणा जोसेफ एस.नाईले सन् १९८० को दशकमै ल्याएका हुन्। उनको परिभाषामा सौम्य शक्ति त्यस्तो क्षमता हो जसले बल, दबाब वा आर्थिक शक्ति विनै अरूलाई आफूले चाहे जस्तो गर्ने बनाउन सक्छ (सफ्ट पावरः मिन्स टु सक्सेस इन वर्ल्ड पोलिटिक्स, २००९)।

सयद अली आकाशले पनि आफ्नो शोधग्रन्थ ‘पिस थ्रू सफ्ट पावरः एन अनालाइसिस अफ चाइनिज फरेन पोलिसी–२०१८’ को परिचयमा सैन्य बल र युद्ध विनै अरूलाई आफूले चाहे जस्तो बनाउन सक्नुलाई सौम्य शक्ति उल्लेख गरेका छन्।

चीनमा सौम्य शक्तिको चर्चा तङ स्याओफिङ आएसँगै हुन थालेको हो। त्यही वेलादेखि चिनियाँ कम्युनिस्ट पार्टीका माथिल्लो तहका बैठकमा सौम्य शक्तिबारे यथेष्ट बहस भई यसलाई विदेश नीतिको महत्त्वपूर्ण पक्षका रूपमा समेट्न थालियो (फन्डामेन्टल इस्यूज इन प्रेजेन्ट डे चाइना: देङ स्याओपिङ, १९८७)। तङको ‘हाइड आवर क्यापासिटिज एन्ड बाइड आवर टाइम, रिमेन फ्री अफ एम्बिशन्स, एन्ड नेभर क्लेम लिडरशिप’ विदेश नीति लामो समय रह्यो।

त्यस्तै, चिनियाँ पूर्व राष्ट्रपति हु जिन्ताओले सांस्कृतिक सौम्य शक्तिको नीति अवलम्बन गरेका थिए। यसमा उनले मुख्य दुई उद्देश्य अघि सारेका थिए। पहिलो– राष्ट्रिय एकता मजबूत बनाउन, सिर्जनशीलता विकास गर्न र जनताको आध्यात्मिक जीवनको आवश्यकता पूरा गर्न। दोस्रो– अन्तर्राष्ट्रिय परिदृश्यमा चीनको प्रतिस्पर्धात्मक क्षमता सुदृढीकरण हेतु राष्ट्रिय शक्ति व्यापक बनाउन (सीसीपी १७औं कंग्रेस, १५-२१ अक्टोबर २००७)। सोही १७औं कंग्रेसमा उनले सौम्य शक्तिमा लगानी बढाउनुपर्ने बताएका थिए। अहिलेका राष्ट्रपति सी चिनफिङले त तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै सौम्य र गरम दुवै कूटनीतिलाई शक्तिशाली बनाउने नीति लिएका छन्।

जोसेफ एस.नाईले सौम्य शक्तिका तीन वटा स्रोत किटान गरेका छन्– राजनीतिक मूल्यमान्यता, संस्कृति र विदेश नीति। चिनियाँ विद्वान्‌हरू नाईले अघि सारेका यिनै स्रोत, सिद्धान्त र अवधारणालाई आफ्ना सन्दर्भमा रूपान्तरण गर्नुपर्ने ठान्छन् र यसै अनुसार परिमार्जन पनि गर्दै छन्। छिन ली र भर्नर वर्मले नाईले अघि सारेका तीन स्रोतलाई पाँच वटामा बढाएका छन्। पहिलो, सांस्कृतिक आकर्षण; दोस्रो, राजनीतिक मूल्यमान्यता; तेस्रो, विकासको मोडल; चौथो, अन्तर्राष्ट्रिय संघसंस्था; पाँचौं, आर्थिक आसक्ति वा प्रलोभन (बिल्डिङ चाइनाज सफ्ट पावर फर अ पीसफुल राइज, २००९)।

अहिलेका राष्ट्रपति सीले चिनियाँ सपनाहरूलाई ‘ब्रान्डिङ’ गर्दै तिनको प्राप्तिका लागि सौम्य शक्तिको प्रयोगमा जोड दिंदै आएका छन् (चीनको सांस्कृतिक सौम्य शक्तिलाई बढाऔं, डिसेम्बर ३०, २०१३)। अर्थात् चीनले देश, काल र परिस्थिति अनुसार आफ्नो सौम्य शक्ति बढाउँदै लगेको छ।

भूराजनीतिमा निगरानी
समग्रमा चीनले यति वेला आफ्नो कूटनीति सफल बनाउन यहाँ सौम्य शक्तिको भरपूर उपयोग गरिरहेको छ। विश्वशक्तिका रूपमा उदाउँदै गर्दा ऊ आफ्नो छरछिमेकमा के भइरहेछ भन्नेमा निकै चनाखो देखिन्छ। यसबाट चीन आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच नआओस् भनेर नेपालमा बढिरहेको भूराजनीतिक खिचातानी र चलखेलप्रति सचेत रहेको थाहा हुन्छ।

विश्वशक्तिका यहाँ आआफ्नै स्वार्थ छन्। तिनलाई नेपालले आफ्नो हित प्राथमिकतामा राखेर व्यवस्थापन गर्न जरुरी छ। आजभन्दा ४० वर्षअघि कमजोर अवस्थामा रहेको चीनले विश्वशक्तिहरूका सबैखाले सहयोग लिएर देश विकास गर्‍यो। आधुनिक प्रविधि भित्र्याएर आर्थिक क्षमतामा चमत्कार ल्यायो, दक्ष जनशक्ति तयार गर्‍यो।

नेपालले पनि त्यसरी नै कुनै विश्वशक्तिको गठबन्धनमा सहभागी नभई देश विकासका लागि सरसहयोग लिन र आफ्नो क्षमतामा व्यापक सुधार गर्न आवश्यक छ। यसरी नै आफ्नो सौम्य शक्तिको भरपूर उपयोग गर्न सके नेपाललाई विकासको चोला फेर्न दुई–तीन दशक नै पर्याप्त छ।