विद्युत् प्राधिकरण र वायुसेवा निगम बीच सहकार्य : प्राधिकरणका कर्मचारीले अन्तरराष्ट्रिय उडानमा छूट पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमवार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तरराष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छूट पाउने भएका छन् । कर्मचारीले छूट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने बताइएको छ । निगमको विक्री कार्यालयबाट टिकट खरीद गर्नेले मात्र छूट सुविधा पाउने भएका छन् ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छूट पाउने छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तरराष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।

कार्यक्रममा मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गरे ।

उनले अन्तरराष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेश गरिसकेकोले यस बारेमा छिट्टै निर्णय गरिने बताए ।

न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले एमओयूमा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताए ।

कोरोनाको दोस्रो लहरले सुनसान बन्यो सौराहा

चितवन । कोभिड-१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरू भएपछि व्यवसायी निरास छन्। पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किँदै थियो।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ। होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुविधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन्।

अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए। अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन्। उनले भने ‘अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो।’ सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए। तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन्।

कोभिडका कारण दैनिक ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउँछन्‌। अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए। यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो। अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ।

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन्। उनले भने ‘मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो।’ हाल सौराहा सुनसान हुँदै गएको छ। अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सी रहेको छ। ‘अब मजदूरलाई के गर्ने ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ,’ उनले भने।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो। रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेकालागि तय भएको अन्तरराष्ट्रिय क्लबको कार्यशाला पनि रद्द भएको छ। उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए। उनले भने ‘कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ।’

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौँलगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो। कोरोनाको कहरले यसलाई पनि असर गरेको छ। भारतसमेत विवाहका लागि सौराहा आउने क्रम शुरू भएको थियो। जङ्गल क्राउनका सन्तोष गिरीले बुकिङ भएको विवाह पनि स्थगित भएको जानकारी दिए।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्नुहुन्छ। सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरी कोरोना बढेपछि प्रभावित भएको उनको भनाइ छ। उनले भने ‘सबै बुकिङ रद्द भए। हाम्रो उत्साह हराएर गयो।’ कोभिडको प्रभावसँगै आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले व्यवसाय पूर्ववत् अवस्थामा पुर्‍याएको बताइएको छ।

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन्। ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ। सौराहाको पर्यटन व्यवसायमा मात्र ३३ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन्‌। यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उनी बताउँछन्‌।

​कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ। अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन्। मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन्। रासस

पाल्पाको रानीमहल सुनशसान

रुपन्देही। काठमाडौंको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न भईन् । उनको कल्पनामा जस्तो थियो, वास्तविक त्यस्तो थिएन रानीमहल ।

“मैले त राजाले बनाएको दरबार अत्यन्तै आकर्षक होला भन्ने सोचेकी थिएँ तर यहाँ आउँदा त एउटा रित्तो भवन मात्रै रहेछ”, ढकालले भने, “त्यतिबेलाको राजामहाराजाको तथा महलको पनि झल्को दिने कुनै सामान यहाँ रहेनछन् । न त यसको ऐतिहासिक महत्वबारे यहाँ कतै लेखिएको पाइयो ।” ऐतिहासिक महत्वको स्थल भएर पनि व्यवस्थित गर्न नसक्नु कमजोरी भएको ढकालको भनाइ छ ।

साथीहरुसँगै काठमाडौँ बानेश्वरबाट रानीमहल अवलोकनका लागि पुगेका भवानी सिंह पनि दङ्ग परिन् । “रानीमहलका बारेमा धेरै सुने पनि आँखा अगाडि देख्न पाउँदा वास्तविकता थाहा हुँदो रहेछ, मैले त नाम सुन्ने बित्तिकै कति राम्रो र आकर्षक होला भन्ने कल्पना गरेकी थिएँ तर रित्तो घर मात्रै देखेपछि अलि नमज्जा लाग्यो”, सिंह भन्छिन्, “यहाँ आउँदा रानीमहलका बारेमा धेरै कुरा बुझ्न र देख्न पाइन्छ जस्तो लागेको थियो तर त्यस्तो भएन ।”

विसं १९५४ मा तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पाको तानसेन नगरपालिका-१३ स्थित कालीगण्डकी नदीको तिरबाटै जग उठाएर रानीमहल निर्माण गरेका थिए । धार्मिक रूपमा पवित्र कालीगण्डकीको किनारमा रहेको विशाल पत्थरबाट ठड्याएर बनाइएको विशाल दरबार व्यवस्थित नगरिँदा त्यहाँ पुग्ने पर्यटक खिन्न हुने गरेका छन् । “रानीको स्मृतिमा बनाइएको रानीमहलबारे धेरै सुनेको थिएँ त्यसैले पहिलो पटक घुम्न आएँ । त्यति व्यवस्थित र आकर्षक भने रानीमहल रहेनछ”, रुपन्देहीको भलुहीका सुरज सुनारले भने ।

करीब ५६ फिट चौडाइ, ११२ फिट उचाइ भएको चारतले भवनको सन् १९५० मा शिलान्यास भई चार वर्षमा दरबार, मन्दिर र पाटीपौवासहित निर्माण कार्य पूरा भएको थियो । यस महल जीर्ण भएपछि २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले रानीमहलको पुनर्निर्माण गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले रानीमहल परिसरमा सामान्य पार्क निर्माण गर्नेबाहेक खासै काम गरेको छैन । रानीमहललाई प्रदेशको महत्वपूर्ण पर्यटकीयस्थल बनाउने लक्ष्यअनुसार पहिलो चरणमा पार्क बनाउने काम भए पनि तानसेन नगरपालिकालाई जिम्मेवारी दिइएकाले अहिले कुनै योजना तथा कार्यक्रम तय नभएको बताउनुहुन्छ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दीपक ज्ञवाली ।

पाल्पा सदरमुकाम तानसेनबाट करीब १४ किलोमिटरको दूरीमा रहेको रानीमहल ऐतिहासिक महत्वको स्थल भएर पनि सरकारको खासै प्राथमिकतामा परेको छैन । सदरमुकामबाट महल पुग्ने सडक निर्माणको काम भइरहेको छ । यो आर्थिक वर्षमा सबै सडक कालोपत्र हुने तानसेन नगरपालिकाले जनाएको छ ।

साबिकको बौघागुम्बा गाविस–२ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि उभिएको छ । रानीमहल दरबारको बायाँतर्फको शीतलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एकै किसिमका शिव र गङ्गाका दुई मन्दिर छन् ।

यो महलको युनानी शैलीमा बेलायती इन्जिनीयरले डिजाइन गरेका थिए । वरिपरि रहेको बगैँचा र रानीपोखरीले महल आकर्षक देखाएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा छ । महलभित्र पानीपोखरी, मन्दिर, बगैँचा आदि रहेका छन् ।

दरबारको मूलढोकाबाट कुँदिएका ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला तल सिधा कालीगण्डकी नदी कुण्डसम्म जोडिएका छन् । प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवासमेत निर्माण गरिएको छ ।

पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करीब तीन घण्टा पैदल यात्राबाट रानीमहल पुग्न सकिन्छ । सन् १९६० मा खड्ग शमशेरले श्री ३ को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाई तैनाथी आफ्नो हातमा लिएका थिए । खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमूल्य वस्तु छोडेर तीनवटा साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतीक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानीय बासिन्दाको भनाइ छ । दिवङ्गत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिन्छ । -रासस

पर्यटकको पहिलो रोजाइ ‘मिनी ग्रेटवाल’

तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि हुँदै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । उनले भने, “अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारको दिन एक हजारदेखि दुई हजारसम्म पर्यटक आउने गरेका छन् ।”

बाह्य पर्यटक खासै देख्न नपाए पनि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएकाले बन्दीपुर पुग्ने जो कोही पर्यटक मिनी ग्रेटवाल पुगेर मात्रै फर्किने गरेको उनले बताए । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएकाले छिट्टै टेण्डरका लागि प्रक्रिया अघि बढाइने छ ।

नेपाल सरकारको रु चार करोड ५५ लाख नेपाल सरकारको र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायतका संरचना निर्माण गर्ने योजना छ । बहुवर्षीय कार्यक्रमअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)मा रु १९ करोड रहेको छ भने २०७९ फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने बन्दीपुर गाउँपालिकका अध्यक्ष पूर्ण थापाले जानकारी दिए । टिकट काटेर घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले पनि रोजगार पाउने गरी दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको हो । मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ । पदमार्ग निर्माणपछि स्थानीय युवालाई घोडा चलाउने तालीम प्रदान गरिने अध्यक्ष थापा बताए ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । बन्दीपुरमा आउने पर्यटकका लागि मिनी ग्रेटवाल थप आकर्षण स्थलका रुपमा रहेको पर्यटन व्यवसायी बैश गुरुङले बताए ।

कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने उनले बताए । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।

पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । प्रमुख आकर्षण दोहोरो लाइन मिलाइएका ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रा बाटो, थानीमाई खड्गमाई, बिध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, शहीद पार्कलगायतका बन्दीपुरको दृश्यावलोकन गर्ने मुख्य स्थान हुन् ।

बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेशन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँ जात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुरमा प्याराग्लाइडिङका लागि पनि प्रचुर सम्भावना रहेको बताइएको छ । -रासस

यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौँ । नेपाल घुम्न आउने पर्यटकले स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने भएको छ । पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७ मन्त्रिपरिषद बैठकले पारित गरेर जारी गरेको हो ।

मापदण्ड अनुसार अब पर्यटकले आफ्नो सम्पूर्ण विवरण पर्यटनसम्बन्धिका कार्यालयहरुमा जानकारी गराउनुपर्नेछ । भारत लगायतका देशबाट आउने पर्यटकले सीमानाकामा खोलिएको हेल्थ डेस्क वा पर्यटन सम्बन्धिका कार्यालयहरुमा यसबारेमा जानकारी गराउनुपर्नेछ ।

नेपाल घुम्न आउने पर्यटकले नेपाल पर्यटन बोर्डबाट अनुमति लिएर मात्रै आउन पाउनेछन् । कुनै ट्राभल कम्पनी वा एजेन्टमार्फत नेपाल आउँदा पनि सम्बन्धित सरकारी कार्यालयबाट स्वास्थ्य मापदण्ड पालना गरेर सम्पूर्ण अनुमति लिनुपर्ने मापदण्डमा उल्लेख छ ।

१३६ विदेशी निष्कासित

काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।

पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसूर, लागुऔषधलगायत कसूरका धेरै रहेका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् ।

निष्कासित हुने विदेशी नागरिकलाई कसूरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको महानिर्देशक केसीले जानकारी दिनुभयो । विभागको तथ्याङ्कअनुसार आठ महिनामा विभिन्न १३ शीर्षकमा ४२ हजारभन्दा बढी विदेशीलाई नेपाल प्रवेशका लागि भिसा जारी गरिएको छ । आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो ।

आठ महिनामा १२ हजार २१७ विदेशीलाई थप पर्यटक भिसा, एक हजार ७०० लाई व्यावसायिक भिसा, ८८४ जनालाई वैवाहिक भिसा जारी गरिएको छ । यस्तै ७३९ अध्ययन भिसा, २५ आवासीय भिसा, दुई हजार ९९३ नाता भिसा, एक हजार ९१२ जनालाई कामदार भिसा र २७२ जनाालाई आश्रित भिसा जारी गरिएको छ । विभागले आठ महिनामा विभिन्न शीर्षकमा भिसा जारी गरेर रु ४२ करोड २६ लाख २९ हजार राजश्व सङ्कलन गरेको छ ।

भिसा सकिएपछि पनि आफ्नो देश फर्कन मानेनन् पर्यटक

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् ।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ ।

अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो ।

जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन् ।

विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो । त्यसपछि नेपाल बस्ने उनलाई कानूनी अनुमति छैन ।

होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताए । “केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ”, उनले भने, “कसरी पठाउने भन्ने अलमलमा परेका छौँ । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।”

एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन् । स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन् । कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए ।

विदेशबाट आउने पर्यटकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं । विदेशबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था सरकारले हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा बस्नुनपर्ने निणर्य गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हटाइएको बताए ।

नेपाली पर्यटन व्यवसायीले क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्थाले विदेशी पर्यटकहरु आउन नमान्ने गरेको गुनासो गर्दै त्यस्तो व्यवस्था हटाउन माग गर्दे आएका थिए ।

यसअघि विदेशबाट आउने पर्यटकले अनिवार्य रुपमा कम्तीमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो । यस्तै, पर्यटकको सहजताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने निणर्यसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा

झापा । पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ । यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ ।

कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा रु चार करोड ४९ लाख विनियोजन हुने भएको छ । रु छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि रु चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।

प्रस्ताव आह्वान गरी छनोट गरिएका झापाका अन्य पर्यटकीय गन्तव्यमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिलसिमसार, नेपालकै होचो भूभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत रु पाँच करोडका दरले अनुमान गरिएको छ भने मन्त्रालयले भने रु तीन करोड ५० लाखका दरले बजेट विनियोजन गरेको छ । यस्तै रु एक करोड ५० लाख कुल लागत अनुमान रहेको दमक नगरपालिकाको इन्द्रेणी तालका लागि रु ९८ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

झापामा छनोट गरिएका योजनाहरुको कुल लागत रु ४३ करोड ८३ लाख अनुमान गरिएको भए पनि यो वर्ष मन्त्रालयले रु ३३ करोड बजेट विनियोजन गरेको जनाइएको छ । बाँकी रकम साझेदारका रूपमा स्थानीय तहले स्रोत जुटाउने उल्लेख छ ।

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए ।

उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।”

सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान वृद्धि गर्न सकिनेछ ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो ।

छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ ।

प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ । अन्य गन्तव्यमा उडान भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।