१० सुरक्षाकर्मीको मृत्यु

काबुल । अफगानिस्तानको सार ए साफा जिल्लामा तालिवान विद्रोहीले गरेका विभिन्न आक्रमणमा दस सुरक्षाकर्मीको ज्यान गएको छ । मृत्यु हुनेमा ६ प्रहरी र ४ जना सैनिक छन् ।

अफगानिस्तानका विभिन्न स्थानमा भएका आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको टोलो न्युजले जानकारी दिएको छ । जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिवानहरूले आक्रमण गर्दा ६ जना प्रहरीको मृत्यु भएको हो ।

त्यसैगरी हेल्मन्द प्रान्तको ओमार जवाक जिल्लामा तालिवानले कार बम आक्रमण गरेका हुन् । घटनामा चार जना सैनिकको ज्यान गएको हो । घटनामा ६ सैनिक घाइते भएका जनाइएको छ ।

पछिल्लो समय तालिवानहरूले हेल्मन्द प्रान्तमा आक्रमण तीव्र पारेका छन् । कतारको राजधानी दोहामा अफगान सरकार र तालिवान विद्रोहीबीच शान्ति वार्ता जारी रहेको भए पनि सुरक्षाकर्मीलक्षित आक्रमण भने रोकिएको छैन । एजेन्सी

Facebook Comments