सेती नदीको कटानले बस्ती जोखिममा

डोटी । वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेका छन्। नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ।

वर्षात्को समय सुरु भएसँगै सेती नदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताए। उनले भने; ‘गाउँका बस्ती कहीँ नदीले कटान गर्दैछ त कहीँ बाढी र पहिरोको उच्च जोखिममा छन्, राति ठूलोपानी पर्दा कहाँ के हुने हो भनेर हामीलाई निन्द्रासम्म पर्दैन।’

जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ। सेती नदीमा पानीको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन्। सेती नदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांश बस्तीका खेत नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकाएले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देवहादुर धामीले बताउँछन्। उनले भने, ‘नदीले धार परिर्वतन गरेर दैनिक खेतबारी बगाउन थालेको छ रोकथामका लागि कहीँकतैबाट पहल भएको छैन।’

त्यसैगरी जिल्लामा दैनिकरुपमा भइरहेकाको वर्षात्का कारण स्थानीयवासीमा बाढी पहिराको त्रास फैलिएको छ। वर्षात्कै कारण यहाँका विभिन्न ठाउँका सडकमा पहिरा आएका छन्। जिल्लाका ग्रामीण क्षेत्रका एक दजर्न बढी सडक अवरुद्ध भएका छन्। यहाँका ग्रामीण क्षेत्रका अधिकांश स्थानीयलाई वर्षात्का कारण बाढी र पहिरा आउन सक्ने भन्दै त्रास बढ्न थालेको हो।

यहाँका ग्रामीण बस्ती बाढी तथा पहिराको उच्च जोखिममा भएका कारण यहाँका स्थानीयवासीलाई चिन्ता बढ्न थालेको हो। त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षात्को मौसम सुरु भएसँगै जिल्लाको सायल गाउँपालिका वडा नंं ४ बावनसैनका बासिन्दालाई पाँच वर्ष अगाडि घटेको कहालीलाग्दो रातको सम्झनाले तर्साउने गर्छ। विसं २०७२ साउन २३ गते आएको भीषण वर्षात्सँगैको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँच जनासहित छ जनाको ज्यान जानुका साथै उक्त क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो।

त्यस्तै सायल गाउँपालिका–४ मात्रै होइन यस अगाडिका वर्षहरुमा भएका प्रकोपका घटनाका आधारमा यस वर्ष मनसुन शुरु हुनुअगावै जिल्लामा दैवी प्रकोप पूर्वतयारीलाई पूर्णता दिइएको छ। सम्भावित दैवी प्रकोपका घटनालाई मध्यनजर गर्दै जिल्लामा विपत् पूर्वतयारीका विभिन्न कार्य गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाको विपत् प्रतिकार्य योजना अध्यावधिक गरिनुका साथै स्थानीय, समुदाय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सङ्घ संस्थालाई सम्भावित प्रकोप भइहाले उद्धारमा जुट्नका लागि तयारी अवस्थामा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए। उनले भने, ‘हामीले स्थानीयस्तरदेखि जिल्लास्तरसम्म विपत् व्यवस्थापन समितिलाई पर्याप्त मात्रामा आवश्यक सामग्री प्रदान गरिसकेका छौँ, विपद् आइपरे समाधान गर्न तयारी अवस्थामा छौँ।’

जिल्लाका विभिन्न २२ वटा स्थानलाई दैवी प्रकोपको हिसाबले उच्च जोखिममा राखिएको छ। जोखिम रहेका स्थानको पहिचानको आधारमा विभिन्न सङ्घ संस्थाले उक्त क्षेत्रमा कार्य गरिरहेका छन्। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीले विपत् प्रतिकार्यका लागि सामुदायिक पहल कार्यक्रम सञ्चालन गरिरहेको छ।

जिल्लामा पहिचान भएका विभिन्न २२ वटा प्रकोपको उच्च जोखिम भएका समुदायमा प्रतिसमुदायमा १२ व्यक्तिलाई उद्धारकर्ताको तालीम र आवश्यक सामग्री दिई आधारभूत खोज तथा उद्धार सामग्री केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासङ्घका महासचिव देवबहादुर बोहराले बताए। उनले भने, ‘कुनै प्रकोप भइहाले पहिलो उद्धारकर्ताको रुपमा काम गर्न जिल्लाका नौवटै स्थानीय तहका जोखिमयुक्त समुदायका व्यक्तिलाई तालीम दिई परिचालन गरिएको छ, विपद् परिहाले हामी तत्काल खटिने छौँ।’

जिल्लाको कति प्रतिशत भूभाग पहिरोको उच्च जोखिममा छ भन्ने एकिन तथ्याङ्क कसैसँग पनि छैन। उच्च पहाडी भाग तथा यसअघि हुँदै आएका दैवी प्रकोपका घटनाको आधारमा जोखिमयुक्त स्थानको पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। डोटीमा बाढी पहिरोमा परी चालु आर्थिक वर्षमा एक जना छ महिने बालकको ज्यान गइसकेको छ। लगातारको वर्षात्का कारण यहाँका दजनौँ ग्रामीण सडक अवरुद्ध भएका छन्। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.