नेपालमा सलह किरा भित्रियाे, अनिकाल निम्त्याउने खतरा!

काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको छ । उनका अनुसार ‘हिजोअस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पुर्‍याएको हो।

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार-प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ । यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो । यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब एक सय ३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजकसमेत रहेका हुमागाईले जानकारी दिए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.