यौन शोषण र मानव बेचविखनको नयाँ रुप ‘चिनियाँ विवाह’

पोखरा । गत वर्ष पोखराको एक विद्यालयका दुइ छात्रा एकाएक सम्पर्क विहिन भए । विद्यालय आएका ति छात्रहरू सम्पर्क विहिन भएपछि परिवार र विद्यालयले खोजतलास ग¥यो । खोज्दै जाँदा दुवै जना तिब्बततर्फ पुगेको देखियो । त्यसपछि परिवार र विद्यालयले थाहा पाए की ति त चिनियाँ युवा विहे गरेर चीन पुगे ।

यस्तै २०८१ साउन १३ गते पोखराको विन्ध्यवासिनी मन्दिरमा नाबालिग किशोरीहरूको चिनियाँ संग विवाह भयो । उनीहरुलाई भविष्य राम्रो हुने र ति चिनियाँहरुको राम्रो कमाइ भएकाले सुख संग बस्न पाउने भन्दै नेपाली विचौलिया हरुले नै विवाह गराइदिए । विवाह र सुख सयलको प्रलोभन देखाएर नाबालिग किशोरीहरूको यौनशोषण गरेको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो भने मतियारको रूपमा तीन जना नेपालीहरूलाई पनि पक्राउ गरेर मुद्दा चलायो ।

पीडित नाबालिग किशोरीहरूले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । प्रहरीमा जाहेरी दिएकी एक नाबालिग किशोरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी हुन् । उनलाई पोखराका सरु विश्वकर्मा र भगवती अधिकारीले प्रलोभनमा पारी ललाइ फकाइ चिनियाँ नागरिकसँग बिहे गराइदिएका थिए । उनीहरूले किशोरीलाई ‘दुःख पाउने केटी रहेछौ,’ चिनियाँ नागरिक झी मिङ चेन सम्पर्कमा आएका छन् । उनले पढाउँछु भनेका छन्, बिहे गर’ भनि सम्झाएका थिए । प्रलोभनमा परेकी नाबालिग किशोरी चिनिया मिङ चेनसँग बिहे गरिन् ।

अर्की पीडित हुन नवलपुरकी । १५ वर्षिया किशोरीले चिनिया नागरिक लि मिङ मिङसँग बिहे गरिन् । दुवै जनाले आफूहरुमाथि बलात्कार र कुटपिट भएको भन्दै जाहेरी दिएका थिए ।

पोखराकी १८ वर्षीया युवतीले पनि जाहेरी दिएकी थिइन् । प्रेमको प्रलोभन देखाएर ललाई फकाई पटक पटक बलात्कार गरेको भन्दै उनले चीनको हुनान प्रान्तका हु सिआओजुन विरूद्ध प्रहरीमा जाहेरी दिएकी हुन् । यसरी आएका चार वटा जाहेरीका आधारमा प्रहरीले चार जना चिनियाँ नागरिक र मतियारको आरोपमा तीन जना नेपालीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

तीन हप्ता अघि अर्थात साउन ५ गते पुनः पोखरामा चिनिया विवाहको चर्चा चुलियो । एक महिलाले पोखराको बुद्ध चोकस्थित एक पार्टी प्यालेसमा आफुलाई प्रलोभनमा पारी चिनियाँ नागरिक तादुङ संग विवाह गराएको र आफु चीन पुगे बेचिने भन्दै प्रहरी गुहार्न पुगेकी थिइन् । माथि उल्लेखित घटनाहरुमा नाबालिग जोडिए पनि यो घटनामा पीडित व्यक्ति उमेर पुगेकै महिला थिइन् । आफुलाई सुन, केहि नगद र आइफोन दिएर तादुङ संग विवाह गराइदिएको र आफुमाथि तिनै चिनियाँले लेक साइडको होटलमा अर्का चिनियाँ संग बस्न भन्दै दबाब दिएको समेत बताइन् । साउन ६ गते उनले प्रहरीकै अगाडी चिनियाँ सँग मिलापत्रमा विवाह सम्बन्ध तोडिन् ।

सुरुमा मुद्दा नै हाल्ने पक्षमा रहेको र कुनै पनि हालतमा अन्य महिला प्रलोभनमा परि जिवन वर्वाद नगरोस् भनेर अघि बढेको बताएपनि उनले केहि लेनदेनमा मिलापत्र गरेकी थिइन् । मिलापत्र गराउनुमा समेत मतियारकै हात थियो । यस्तै घटनामा चीन पुग्नै लाग्दा नेपाल फर्काएकी एक बालिका अहिले पोखरा छाडेर बागलुङमा बस्न थालेकी छन् ।

यि प्रतिनिधि घटनामात्र हुन् । पोखरामा यस्ता थुप्रै घटना छन् जुन बाहिर आएका छैनन् । पछिल्लो समय मानव बेचविखन, यौनशोषण र ठगीको नयाँ स्वरुप बनेको छ ‘चिनियाँ विवाह’ । चिनियाँहरुले नेपाली किशोरीसँग विवाह गर्ने र यौन शोषण गर्ने गरेको व्यापक भेटिएको छ । उनीहरुले यहाँ नाबालिग विवाह गर्ने र नाबालिग भएकै कारणले चीन लैजान नमिल्ने भन्दै नेपाल आउँदै यौन शोषण गर्दै जाने गरेका छन् । अझ यि सबै घटनामा हेर्ने हो भने आर्थिक अवस्था कमजोर भएका महिला त्यसमा पनि दलित समुदायका बढि छन् । जुन नेपालीहरुले चिनियाँ संग भेटाउँछन् उनीहरुको फकाउने शैली भने एउटै छ त्यो हो, ‘दुःख पाउने केटी रहेछौ, केटा राम्रो छ चिनियाँ हो सुख पाउँछौ ।’

चार वर्षयता नेपालमा नाता भिसामा आउने चिनियाँको संख्या ह्वात्तै बढेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ मा ९ हजार चार सय १० चिनियाँ नेपाल आउँदा नाता भिसामा ८३ जना चिनियाँ आएका थिए । २०२३ मा ८१ हजार दुई सय १४ चिनियाँ मध्ये आठ सय १६ जना नाता भिसामा आए । २०२४ मा एक लाख ४० हजार चार सय ५२ चिनियाँ नेपाल आउँदा १ हजार एक सय ९२ जना नाता भिसामा आए । ०२५ को हालसम्म ८५ हजार आठ सय ६१ जना चिनियाँ आउँदा ६ सय ३४ जना नाता भिसामा आइपुगे । यो तथ्यांकअनुसार हरेक वर्ष विवाह गर्ने र नाता भिसामा आउनेको संख्यामा वृद्धि भइरहेको छ ।

यता अध्यागमन कार्यालय पोखराको तथ्यांकअनुसार सन् २०२३ मा कुल सात हजार सात सय ८६ विदेशीले पोखरामा भिसा थप गर्दा चार सय ८५ चिनियाँले भिसा थप गरे । ०२४ मा ८ हजार सात सय ७९ मध्ये ९ सय ३५ चिनियाँले भिसा थप गरेका थिए भने २०२५ जुलाईसम्म ५ हजार चार सय ६२ मध्ये चार सय ८५ जनाले भिषा थप गरेका छन् ।

अध्यागमन कार्यालय पोखराका प्रमुख टंक प्रसाद पन्थीका अनुसार गत वर्ष विवाह भिसाका लागि मात्रै करिब एक सय ५० को संख्यामा आएका थिए । पोखरामा चिनियाँ विवाह बढ्दो क्रममा रहेको पाइन्छ । अध्यागमनकै तथ्यांक बाट हेर्दा समेत नाता भिषामा आउने चिनिया निकै रहेका छन् । यतिमात्र होइन अध्यागमनका कर्मचारीहरुका अनुसार विवाह भिषा विभिन्न राष्ट्रका नागरिकले समेत गर्ने गरेका छन् ।

अन्य राष्ट्रमा विदेशी महिलाले नेपाली पुरुषलाई विवाह गर्ने बढि रहेपनि चिनियाँको हकमा भने नेपाली महिलाले बढि विवाह गर्ने गरेको खुलेको छ । त्यसमा पनि नेपाली महिलाको भन्दा करिब दोब्बर उमेरकै चिनिया हुने गरेका छन । ‘यहाँ विवाह भिसा लिन आउने छन् तर, अन्य देशको तुलनामा चिनिया पुरुष र नेपाली महिलाको विवाह हुने गरेको छ अन्यमा नेपाली पुरुष बढि छन् । त्यतिमात्र होइन नेपाली महिला भन्दा चिनियाँ पुरुषको उमेर दोब्बर हुने गरेको समेत हामीले पाउँछौं ।’ विदेशीले भिसा ९० दिनसम्मको थप गर्न पाउछन् । विवाह गरेको अवस्थामा भने उनीहरुको भिसामा समस्या रहँदैन । अध्यागमन पोखराका प्रमुखको अनुसार यि हवाइ मार्ग हुँदै आउनेको संख्या हो ति बाहेक स्थलगत आउनेको संख्या भने छैन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नीतु गर्तौलाले अहिलेको परिवेशमा मानव बेचविखनको प्रकृतिमा परिवर्तन आएको सुनाइन् । हिजोका दिनमा अन्य व्यक्तिले विशुद्ध तरिकाले नै मानव बेचविखन गर्ने गरेपनि आजको समयमा आफुले आफैलाई बेच्ने अवस्था सिर्जना भएको बताइन् । उनले हिजोको दिनमा मानव बेचबिखन हुदैँ गर्दा आजको परिस्थितिमा भने मानव स्मग्लीङ हुने गरेको बताइन् । नेपाली समाजमा अहिलेका युवाहरु जुनसुकै जोखिम मोलेर पनि युरोप, अमेरिका जस्ता देशमा जाने गरेको सुनाइन् ।

त्यतिमात्र होइन अहिलेको ह्युमन स्मग्लीङमा परिवारकै संलग्न रहेको उनी सुनाउँछिन् । ‘पहिला पहिला ललाई फकाई गरेर विशुद्ध रुपमा नै मानव बेचबिखन हुने गर्दथ्यो त्यतिबेला बेचिएका हरुलाई यौन शोषणमै लाइन्थ्यो’ उनले भनिन्, ‘तर, अहिले फेरिएको छ । मानिस आफै बेचिन तयार हुन्छन् । राम्रो देशको प्रलोभन देखाउँदा जस्तो सुकै जोखिम समेत मोल्न तयार हुन्छन् । मानिसहरुलाई मिहेनत गरेर होइन बसि बसि पैसा कमाउने सोचका कारण पनि यस्तो हुन थालेको छ ।’

आफुले पनि चिनियाँले गरेको शोषणको बारेमा केहि घटनामा चासो दिएर हेर्दा त्यहाँ गरिबी नै देखेको उनको भनाइ छ । धमाधम विवाह हुनुले ठुलो संकट समेत निम्त्याउन सक्ने उनी सुनाउँछिन् । यो सामान्य नभइ मानव अधिकारका लागि जटिल विषय रहेको उनले बताइन् यसलाई कुटनीतिक विषयको रुपमा हेरिनुपर्नेमा उनी जोड दिन्छिन् ।

छोरी बेच्न परिवारकै साथ
विशेष गरि चिनियासंग विवाह गर्ने ग्राफ बढ्दै गर्दा परिवार नै संलग्न भएको भेटिन्छ । साउन ६ गते मिलापत्र भएको नमिता (नाम परिवर्तन) को घटनामा समेत विचौलियाको आरोप लागेको एक महिलाले आफ्नै नाबालिग छोरीको चिनियाँ सँग विवाह गराइ छन् । नाबालिग भएकै कारण उनको अहिले विवाह दर्ता हुन सकेको छैन् । सुरुवातमा विहे गरेको नस्विकारेकी ति महिलाले पछि भने स्विकार गर्दै चिनियाँ नागरिकलाई ज्वाइँ रहेको बताइन् । ‘मेरो छोरीकै चिनियाँ सँग प्रेम बसेको छ’ ति महिलाले भनिन् । उनलाई तपाईको छोरीले चिनियाँ भाषा जानेको छ ? भनि प्रश्न गर्दा नजानेको सुनाइन् ।

‘मेरो ज्वाइँ पोखरा आउने जाने गर्नुहुन्छ । सम्बन्ध राम्रै छ । अब १२ सकेपछि छोरीले भाषा पढ्छ । अब अहिलेका प्रेम गरे छुटाउन सकिदैन आफ्नै देशमा भर छैन अर्काको भर गरेर पनि हुँदैन हामीले रोकेर रोकिदैन’ ति महिलाले भनिन् । तिनै महिलालाई नमितालाई किन विवाह गराइदिएको भनि प्रश्न गर्दा नमिता दुःख पाएकी महिला भएका कारण आफ्नै ज्वाइँको साथि संग विवाह गराइदिन खोजेको बताइन् ।

सबै मुद्दा प्रहरीमा आइपुगेको छैन : एसपी ओलिया
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले चिनिया शोषणको सबै मुद्दा प्रहरी समक्ष आइ नपुगेको बताए । उनले चिनियाँ नागरिकहरु पोखरा आउने र यहाँका नेपाली महिलालाई विवाह गरेर चीन लैजान्छु भन्दै शोषण गर्ने गरेको भेटिएको बताए ।

‘कतिपय त हामीकहाँ नआएको पनि हुन सक्छ । हामीले पनि कता कति यस्तो भएको छ भन्ने जानकारी आएको हुन्छ । विशेष गरि चिनिया नागरिक पोखरा आउने र प्रयोग गरेर छाड्ने किसिमको देखिन्छ । ठ्याक्कै चीन लगेर राम्रो गरे नगरेको भन्न सकिदैन तर, जे भनेर विवाह गर्ने गरेका छन् त्यो भने देखिदैन’ उनले भने, ‘प्रलोभनमा फस्न हुदैँन ।

पोखरा आएर मिडिएटर खोजेर चीन लैजाने भन्दै विवाह गर्ने र लेकसाइडमा राखेर चीन नलाने गरेको भेटियो । यसमा विशेषगरि आर्थिक अवस्था कम्जोर भएका महिलाहरु खोजेको देखियो ।’ यसरी आउँदा त्यस देशको कानुन के छ विवाह पश्चात के हुन्छ भन्ने कुराहरुको बारेमा राम्ररी बुझेर मात्रै जानु पर्ने बताए ।

Facebook Comments