नाबालिकहरूलाई फकाएर बिहे गर्ने र यौन शोषण गर्ने चार चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । विवाह र सुखसयलको प्रलोभन देखाएर नाबालिक किशोरीहरूको यौनशोषण गरेको आरोपमा कास्की प्रहरीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

त्यस्तै मतियारका रूपमा तीन जना नेपालीहरूलाई पनि पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ। पीडित नाबालिक किशोरीहरूले प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीमा जाहेरी दिएकी एक नाबालिक किशोरी कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी हुन्। उनलाई पोखराका सरू विश्वकर्मा र भगवती अधिकारीले चिनियाँ नागरिकसँग बिहे गर्न फकाएका थिए।

उनीहरूले किशोरीलाई ‘दुःख पाउने केटी रहेछौ, चिनियाँ नागरिक झी मिङ चेन सम्पर्कमा आएका छन्। उनले पढाउँछु भनेका छन्, बिहे गर’ भनेर फकाएका थिए।

पढाइदिने प्रलोभनमा नाबालिक किशोरी चिनिया मिङ चेनसँग बिहे गर्न तयार भइन्। सरू र भगवतीले २०८१ साउन १३ गते पोखराको विन्ध्यावासिनी मन्दिर लगेर उनीहरूको बिहे गराइदिए।

बिहे भएकै दिन मिङ चेनले लेकसाइडको एक होटलमा लगेर बलात्कार प्रयास गरेपछि आफूले भाउजूकी बहिनीलाई फोन सम्पर्क गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्।

त्यसपछि उनी मिङ चेनबाट उम्किएर काठमाडौंमा भाउजूको बहिनी बसेकै ठाउँमा आइन्। आफूले बिहे गरेका चिनियाँ नागरिक मिङ चेन, सरू र भगवतीविरूद्ध जाहेरी दिइन्।

आफूलाई प्रलोभनमा पारेर ललाई फकाई बिहे गराइदिएको र बलात्कार प्रयास गरेको आरोपमा उनले जाहेरी दिएकी छिन्।

जाहेरी दिने अर्की १५ वर्षीया किशोरी नवलपुरकी हुन्। उनले पनि आफूलाई ललाई फकाई चिनियाँ नागरिकसँग बिहे गराइदिएको जाहेरीमा उल्लेख गरेकी छन्।

उनले आफूमाथि बलात्कार र कुटपिट भएको पनि बताएकी छन्। कास्की प्रहरीमा उनले दिएको जाहेरीमा चिनियाँ नागरिक लि मिङ मिङसँग बिहे गर्न पोखरा बस्ने शान्ति नेपाली र चिनियाँ नागरिक येन झेङले मिलोमतो गरेको उल्लेख छ।

जाहेरी अनुसार किशोरीसँग बिहे गराइदिए वापत् मिङ मिङले शान्तिलाई एक लाख र झेङलाई ५ लाख रूपैयाँ दिएका थिए। मिङ मिङले चीनमा घर किनेर सुखसयलमा राख्ने भनेर प्रलोभन पनि देखाएका थिए।

‘लेकसाइडको चिनियाँ रेस्टुरेन्टमा सिन्दुर हालेर बिहे गरेको केही समयपछि नै मिङ मिङले बलात्कार गर्ने, कुटपिट गर्ने, घाँटी समाउने जस्ता गतिविधि गर्न थालेको…,’ जाहेरीमा उल्लेख छ, ‘तँलाई बिहे गर्न शान्तिलाई एक लाख र येन झेङलाई ५ लाख रूपैयाँ दिएको छु, त्यो पैसा फिर्ता मागेर दे भनेर धम्क्याउने गरेको…।’

शारीरिक र मानसिक यातना दिन थालेपछि किशोरीले जबरजस्ती करणी र मानव बेचबिखनको आरोपमा मिङ मिङ, शान्ति र झेन विरूद्ध जाहेरी दिएकी हुन्।

त्यस्तै चितवन घर भएकी १७ वर्षीया किशोरीले पनि कास्की प्रहरीमा यस्तै प्रकृतिको जाहेरी दिएकी छन्। हेनान प्रान्तका चाङ केकेले चीन लगेर सुखसयलमा राख्ने प्रलोभन देखाएर आफूसँग बिहे गरेको उनले उल्लेख गरेकी छन्।

प्रेम गर्ने र चीनमा घर किनेर राख्ने प्रलोभनमा पारेर केकेले पटक पटक बलात्कार गरेको किशोरीकी आमाले दिएको जाहेरीमा उल्लेख छ। यस्तै जाहेरी पोखराकी १८ वर्षीया युवतीले पनि दिएकी छन्।

प्रेमको प्रलोभन देखाएर ललाई फकाई पटक पटक बलात्कार गरेको भन्दै उनले चीनको हुनान प्रान्तका हु सिआओजुन विरूद्ध प्रहरीमा जाहेरी दिएकी हुन्।

यसरी आएका चार वटा जाहेरीका आधारमा प्रहरीले चार जना चिनियाँ नागरिक र मतियारको आरोपमा तीन जना नेपालीलाई पक्राउ गरी मुद्दा चलाएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।

‘नाबालिकको यौन शोषण, बलात्कार र मानव बेचबिखन कसुरमा चार जना चिनियाँ र तीन जना नेपालीलाई पक्राउ गरेर मुद्दा चलाएका छौं,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर र पछाडि परेका समुदायका किशोरी र युवतीलाई यसरी प्रलोभन पार्ने गरेको अनुसन्धानबाट देखिएको छ।’

चिनियाँ नागरिकहरूले प्रलोभन देखाएर नेपाली महिलासँग बिहे गर्ने र यौन शोषण गर्ने घटनाहरू अरू पनि भएको पीडित महिलाले दाबी गरेका छन्।

यस्तै दाबी गर्नेमध्ये एक हुन् चिनियाँ नागरिकसँग मिलापत्र गरेर सम्बन्ध तोडेकी एक महिला। उनले मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि तादुङ नाम गरेका चिनियाँसँग मिलापत्रमा विवाह सम्बन्ध तोडेकी हुन्।

उनले पोखरामा विवाह गरी चीन लैजाने र यौन शोषण गर्ने क्रम चलिरहेको बताइन्। ‘म जस्ता दर्जनौं दिदीबहिनीलाई चिनियाँले विवाह गरेर चीन लगेको कुरा आएको छ। उनीहरू सम्पर्कमा पनि आएका छैनन् र फर्केर पनि आएका छैनन्,’ उनले भनिन्।

उनले पोखरामै व्यवसाय गरेर बस्ने सहमतिमा तादुङसँग विवाह गरेकी थिइन्। 7’बिहेपछि पोखरामा व्यवसाय पनि खोलेन, चीन लैजान पनि खोजेन,’ उनले भनिन्, ‘यौन शोषण गर्ने उद्देश्यले मात्र बिहे गरेको थाहा पाएपछि मैले सम्बन्ध तोडेकी हुँ।’

तादुङसँग बिहे गर्न पोखराका दुई महिलाले सम्पर्क मिलाइदिएका उनले बताइन्। उनीहरूले भेटघाट गराएर सहमति गरेपछि उनले एक पार्टी प्यालेसमा बिहे गरेकी थिइन्। बिचौलिया महिलाहरूले आफ्नो मोबाइल र तीन तोला सुनका गहना पनि खोसेको उनले बताइन्।

यसरी बिहे र अन्य प्रलोभन देखाएर यौन शोषण, बलात्कार र मानव बेचबिखनमा परेका महिला र उनका परिवारलाई जाहेरी दिन आह्वान गरेको कास्की प्रहरी प्रमुख एसपी ओलियाले बताए। साभार सेतोपाटी

Facebook Comments