एजेन्सी । चिनियाँ सेनाले ताइवान वरपर युद्ध अभ्यास शुरू गरेपछि ताइवान आक्रोशित बनेको छ । यसलाई ताइवान कब्जा गर्ने चीनको प्रयास भन्दै ताइवानी स्वतन्त्रता समर्थकहरू आक्रोशित बनेका हुन् । अमेरिकी सरकारले पनि चीनको कदमको निन्दा गरेको छ ।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्दै आएको छ भने ताइवान भने आफू लोकतान्त्रिक देश रहेको दाबी गर्दै आएको छ । ताइवानका राष्ट्रपतिलाई छिङ-तेले गत साता राष्ट्रिय दिवसको अवसरमा गरेको भाषणमा ताइवानले नयाँ युद्ध अभ्यास गर्ने बताएका थिए । लाइले आफ्नो सम्बोधनमा चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको भन्ने अधिकार नभएको उल्लेख गरेपछि बेइजिङले तीव्र विरोध जनाएको थियो ।
चीनको पूर्वी थियेटर कमान्डले ‘ज्वाइन्ट स्वोर्ड–२०२४ बी’ नामक सैन्य अभ्यास ताइवानको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा भइरहेको बतायो । ‘यो अभ्यास ताइवान स्वतन्त्रता पक्षधरको भुइँफुट्टा क्रियाकलापलाई कडा चेतावनी दिने उद्देश्यले गरिएको हो । यो राज्यको सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्नका लागि कानूनी र आवश्यक कदम हो,’ उक्त कमान्डले चिनियाँ र अंग्रेजी दुवै भाषामा जारी गरिएको विज्ञप्तिमा भनेको छ ।
कमाण्डले यो अभ्यास कहिलेसम्म चल्छ भन्नेबारे जानकारी दिएको छैन । विज्ञप्तिसँगै प्रकाशित नक्सामा ताइवानको पूर्वी तटमा दुईवटा, पश्चिमी तटमा तीनवटा, उत्तरमा एउटा र ताइवानका नजिकैका टापुहरूमा तीनवटा गरी नौ वटा सैन्य अभ्यास भइरहेको देखाइएको छ ।
युद्ध अभ्यासका क्रममा चिनियाँ जहाज र विमानहरू विभिन्न दिशाबाट ताइवाननजिक पुगेका छन् । विज्ञप्तिमा समुद्री र हवाई युद्ध अभ्यास, प्रमुख बन्दरगाह नाकाबन्दी गर्ने, समुद्री र स्थल लक्ष्यहरूमा आक्रमण गर्ने र ‘सर्वोच्चता कब्जा गर्ने संयुक्त कार्य’ उल्लेख गरिएको छ ।
चीनले युद्ध अभ्यासका क्रममा ‘लिआओनिङ’ नामको विमानवाहक युद्धपोत ताइवानको पूर्वतर्फ सञ्चालन गरेको पुष्टि गरेको छ, तर कुनै प्रत्यक्ष गोलीबारी अभ्यास वा उडान निषेध क्षेत्र भने घोषणा गरिएको छैन ।
सन् २०२२ मा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानमाथि मिसाइल प्रक्षेपण गरेको थियो । चीनको नेभीले ताइवान वरिपरि गस्ती गरिरहेको छ ।
ताइवानको रक्षा मन्त्रालय र नेभीले पनि चीनको यस कदमविरुद्ध आफ्ना सुरक्षा संयन्त्र परिचालन गरेको छ भने राष्ट्रिय सुरक्षा परिषदका अधिकारीहरूले सोमबार बैठकगरी यसबारे छलफल गरेको बताएका छन् ।
ताइवानको राष्ट्रिय सुरक्षा परिषद्का महासचिव जोसेफ वुले चीनले लाइको सद्भावनाको सन्देशलाई बेवास्ता गरेको आरोप लगाए ।
‘अन्य राष्ट्रहरूलाई सैन्य शक्तिले धम्की दिनु विवाद शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने संयुक्त राष्ट्र संघको वडापत्रविरुद्ध हो,’ जोसेफ वुको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ ।
चिनियाँ सरकारी मिडियाले सेनाले मिसाइल प्रक्षेपणको अभ्यास गरेको र लडाकु विमानले हवाई हमला मार्ग खोलेको उल्लेख गरेका छन् भने बमवर्षक विमानहरूले लामो दूरीको मिशन सञ्चालन गरेको जनाएका छन् ।
चीनको पूर्वी थियेटर कमान्डले लाइको कार्टूनसँगै जारी गरेको प्रोपेगान्डा भिडियोमा ताइवान वरिपरि युद्धपोत र लडाकु विमानहरूलाई राखिएको देखाएको छ ।
ताइवानको एक सुरक्षा स्रोतले भने अहिलेसम्म कुनै मिसाइल प्रक्षेपणको संकेत नरहेको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले चिनियाँ अभ्यासको नजिकबाट अवलोकन गरिरहेको रोयटर्सको दाबी छ । अमेरिकी विदेश विभागका प्रवक्ताले भने, ‘चीनलाई संयमित भएर काम गर्न र कुनै पनि यस्ता गतिविधि नगर्न आग्रह गर्दछौं । जसले ताइवान स्ट्रेट र क्षेत्रीय शान्ति तथा स्थायित्वलाई कमजोर बनाउन सक्छ ।’
ताइवानको चीन मामिला परिषदले चीनको पछिल्लो युद्ध अभ्यास र बल प्रयोगको धम्कीलाई ‘उत्तेजना’ भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई गम्भीर रूपमा कमजोर पारेको जनाएको छ ।
ताइवानको राष्ट्रपतिको कार्यालयले चीनले ताइवानको अस्तित्वलाई स्वीकार्नुपर्ने र ताइवानका जनताको लोकतन्त्रलाई सम्मान गर्नुपर्ने बताएको छ ।












Facebook Comments