अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई ९ महिनाको जेल सजाय

एजेन्सी । अमेरिकामा एक चिनियाँ विद्यार्थीलाई नौ महिनाको जेल सजाय सुनाइएको छ।

लोकतन्त्रका पक्षमा पर्चा देखाएकी चिनियाँ छात्रा (महिला) लाई पछ्याउने र धम्की दिएको कसुरमा चिनियाँ नै विद्यार्थी (पुरुष) सियाओली वुलाई उक्त जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ।

ती चिनियाँ छात्राले सन् २०२२ को बोस्टनको बर्कली कलेज अफ म्युजिकमा लोकतन्त्र समर्थक पर्चा देखाएकी थिइन्, जसमा लेखिएको थियो- ‘हामी स्वतन्त्रता चाहन्छौँ, हामी लोकतन्त्र चाहन्छौँ, हामी प्रेम चाहन्छौँ र हामी चीनका जनतासँग उभिन चाहन्छौँ।’

जवाफमा वुले ती छात्राको हात काट्ने धम्की दिएका थिए। एक संघीय न्यायाधीशले २६ वर्षीय वुलाई आफ्नो सजाय पूरा गरेपछि चीन फिर्ता पठाउन आदेश दिएका छन्।

ज्याज पढिरहेका वुले पीडित महिलालाई विच्याट, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जाल तथा इमेल मार्फत धेरैपटक सीधै सम्पर्क गरेको अदालतलाई भनिएको थियो।

वुले ती महिलालाई आफ्नो गतिविधिबारे चिनियाँ अधिकारीलाई जानकारी गराएको र चीनका सुरक्षा निकायले पीडित परिवारलाई ‘राम्रो सत्कार’ गर्ने चेतावनी दिएका थिए।

अमेरिकी अधिकारीहरूका अनुसार वुले पीडित महिलाको इमेल ठेगाना पनि सार्वजनिक गरे ताकि उनलाई अरूले पनि नराम्रो टिप्पणी गरुन्।

डिसेम्बर २०२२ मा वुविरुद्ध अभियोग लगाइएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.