चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

एजेन्सी । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले चीनलाई चिढ्याउने एक विधेयक पारित गरेको छ।

अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको एक विधेयक पारित गरेको हो। अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन्।

विधेयकको उद्देश्य दलाई लामा र तिब्बतका प्रजातान्त्रिक नेताहरूसँग वार्ता गर्न चिनियाँ सरकारलाई दबाब दिनु रहेको छ। यो विधेयक चीनको एक चीन नीतिलाई प्रत्यक्ष चुनौतीको रूपमा हेरिएको छ।

चीन–तिब्बत विवाद विधेयक कंग्रेसका सदस्य जिम म्याकगोभर र माइकल म्याककलले पेश गरेका थिए। विधेयकमा चीनले तिब्बतलाई आफ्नो हिस्सा भन्दै गरेको दाबीलाई अस्वीकार गरिएको छ।

सिनेटर जेफ मर्क्ले र टोड यंगले पनि यस्तै अर्को विधेयक अमेरिकी कंग्रेसमा पेश गरेका थिए।

जिम म्याकगभर्नले विधेयकको समर्थनमा मतदान गर्नु तिब्बतका जनताको अधिकारलाई मान्यता दिनु जस्तै हुने बताउँदै मतदान चीन र तिब्बतबिच जारी विवाद शान्तिपूर्ण रूपमा समाधान गर्ने पक्षमा हुने र अहिले पनि वार्ताबाट विवाद समाधान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको उल्लेख गरे।

चीनले तिब्बतलाई चीनकै एक प्रान्तको रुपमा दावी गर्छ। तर, तिब्बतका मानिसहरूले धेरै शताब्दीदेखि एक स्वतन्त्र राष्ट्र भएको विश्वास गर्छन्। चीनले तिब्बत १८औं शताब्दीमा चिनियाँ शासनको अधीनमा आएको र १९ औं शताब्दीसम्म चीनको अधीनमा रहेको दाबी गरेको छ।

यसपछि बेलायतले तिब्बतमाथि आक्रमण गरी चीनबाट अलग्गिएको थियो। भारतबाट बेलायती शासन बाहिरिएपछि चीनले दुई वर्ष अर्थात १९४९ सम्म तिब्बतमाथि दाबी गरेन। १९५० मा जनवादी गणतन्त्र चीनले आफ्नो राष्ट्रिय सुरक्षाको कारण तिब्बत कब्जा गर्न कोशिस गर्न थालेको थियो।

१९५१मा तिब्बत सरकारलाई चीनको हिस्साको रूपमा मान्यता दिन बाध्य पार्ने सम्झौतामा हस्ताक्षर गरियो र त्यसपछि चीनले तिब्बतमा आफ्नो शक्ति स्थापना गरेको हो।

सन् १९५९ मा तिब्बतका जनताले चीनको विरुद्धमा विद्रोह गरे तर चीनले बल प्रयोग गरेर त्यो विद्रोहलाई दबाएको थियो। त्यस अवधिमा ठूलो संख्यामा तिब्बती जनता मारिए र तिब्बतका सर्वोच्च धार्मिक नेता दलाई लामालगायत ८० हजारभन्दा बढी मानिसहरू निर्वासनमा गएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.