पाकिस्तानमा कम हुँदै चिनियाँ लगानी

चीनले एक दशकअघि आफ्नो महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)को सुरुवात गरेको थियो । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपिइसी) यो महत्वाकांक्षी योजनाको महत्वपूर्ण हिस्सा हो । तर, अब यसमा लगानी रोकिन थालेको छ ।

सन् २०१५ मा यस योजनालाई लिएर चीन–पाकिस्तानबीच सम्झौतासमेत भएको थियो । सिपिइसीअन्तर्गत रेल र सडक सञ्जाल विकसित गर्न चीनले अर्बौं डलर लगानी गर्ने प्रतिबद्धतासमेत जनाएको थियो ।

सिपिइसी परियोजनाअन्तर्गत पूर्वाधार विकासको उद्देश्य चीनको पश्चिमी सिनजियाङ राज्यलाई पाकिस्तानको पश्चिमी अरब समुद्रनजिकको ग्वादर बन्दरगाहसँग जोड्नु थियो । सिपिइसीअन्तर्गत पाकिस्तानमा ऊर्जासँग जोडिएका पूर्वाधार निर्माणार्थ पनि अर्बौं डलर लगानी गर्ने चीनले वाचा गरेको थियो ।

अहिले आएर चीन यो परियोजनामा लगानी गर्न इच्छुक देखिएको छैन । जुलाईमा सिपिइसीसँग सम्बन्धित निर्णय गर्ने एक विभागको उच्चस्तरीय बैठक बसेको थियो । बैठकका अनुसार सिपिइसीअन्तर्गतका परियोजनामा लगानी गर्न चीन अनिच्छुक छ ।

सिपिइसीमा कम हुँदै लगानी : वासिङ्टनस्थित वुडरो विल्सन इन्टरनेसनल सेन्टर फर स्कलर्सका दक्षिण एसिया विशेषज्ञ माइकल कुगलम्यानका अनुसार आर्थिक र सुरक्षा दुवैका कारण सिपिइसीमा लगानी कम भएको हुन सक्छ । पाकिस्तानको बिग्रँदो आर्थिक एवं राजनीतिक अवस्था र चीनको हालसालैको आर्थिक मन्दीले नयाँ परियोजनाको सम्भावनालाई कम गरेको छ ।

यता, पाकिस्तानले भने यो महत्वपूर्ण पूर्वाधार परियोजनाले देशको बिग्रँदो अर्थतन्त्रलाई सहारा मिल्ने अपेक्षा लिएको छ । तर, केही विशेषज्ञहरूले भने पाकिस्तानलाई सिपिइसीबाट अपेक्षाअनुसारको नतिजा नमिलेको टिप्पणी गरेका छन् ।

कमसेट युनिभर्सिटी इस्लामाबादमा पाकिस्तान–चीन सम्बन्धका स्कलर अजिम खालिदका अनुसार यो परियोजनामा प्रतिबद्धता धेरै र काम थोरै मात्र भएको छ । साथै, राजनीति र सुरक्षा मोर्चाका कारण पनि अस्थिरता सिर्जना भएको छ, जसले गर्दा पाकिस्तानले सही लाभ उठाउन सकेको छैन भने चीन पनि लगानी गर्न अनुदार बन्दै गएको देखिएको छ । खालिदका अनुसार पाकिस्तानका मानिसलाई सिपिइसीबाट सीमित लाभ मिल्नेछ । तर, सरकारी कर्जा र चिनियाँ कम्पनीलाई तिर्नुपर्ने बक्यौताको बोझ भने बढेको छ । उनी भन्छन्, ‘सिपिइसीबारे जति चर्चा गरिएको थियो, त्यो वास्तविक विकासको तुलनामा प्रोपोगान्डा बढी थियो । पाकिस्तानका मिडिया र शिक्षासँग जोडिएका मानिसको सहयोगमा चीनले यो परियोजनाको बढाइचढाइ गर्‍यो । जसले गर्दा अपेक्षा पनि बढेको थियो ।’

यद्यपि, अमेरिकाका लागि पाकिस्तानी पूर्वराजदूत मलिहा लोधीका अनुसार सिपिइसी आफ्नो योजनाअनुसार नै अगाडि बढेको छ । कोरोना महामारीका वेला यसमा केही व्यवधान आए पनि पुनः यसले गति लिन थालेको छ । ‘सिपिइसीका आलोचक गलत तरिकाले यो योजना अगाडि बढ्नै नसक्ने भन्दै दाबी गरिरहेका छन्,’ लोधी भन्छन्, ‘तर, वास्तविकता त्यसो होइन । यो परियोजनामार्फत पाकिस्तानमा सडक, रेल, ऊर्जा र यातायात व्यवस्थालाई आधुनिक बनाउन र यसको कनेक्टिभिटी बढाउन सहयोग पुग्नेछ ।’

राजनीतिक अस्थिरता : अप्रिल २०२२ मा पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान सत्ताच्युत भएपछि त्यहाँ राजनीतिक अस्थिरता छाएको छ । खान भ्रष्टाचारको आरोपमा जेलमा छन् र कार्यवाहक सरकारले देश चलाइरहेको छ । दक्षिण एसिया विशेषज्ञ कुगलम्यानका अनुसार बाह्य लगानीकर्ताका रूपमा चीन राजनीतिक स्थिरतालाई लिएर गम्भीर छ । कारण, जबसम्म राजनीतिक स्थिरता कायम हुँदैन, तबसम्म हिंसा तथा अशान्तिको जोखिम रहिरहन्छ । यसले पाकिस्तानमा त्यहाँका नागरिक र परियोजनालाई असुरक्षित बनाउँछ । देशमा आमनिर्वाचनको अनिश्चितताले चिनियाँ चिन्ता झन् बढ्न सक्छ ।’ त्यसैगरी, पाकिस्तानी स्कलर खालिद पनि यसमा सहमति जनाउँछन् । उनका अनुसार पाकिस्तानी राजनीतिक परिदृश्यलाई लिएर चीन वास्तवमै चिन्तित छ । ‘राजनीतिक करिडोरमा स्थायी अशान्तिले चिनियाँ नीति–निर्मातालाई अर्थ राख्छ,’ उनी भन्छन्, ‘पाकिस्तानमा चीनको रणनीतिक उद्देश्य देशको राजनीतिक अस्थिरतासँग जोडिएको छ ।’

कामदारको सुरक्षा जोखिम : बिआरआई लगानी परियोजनासँग जोडिएको सुरक्षा खतरासँग पनि चीन उस्तै चिन्तित छ । यसले नयाँ लगानी र परियोजना प्रभावित हुन सक्छ । हालसालै मात्रै पाकिस्तानी सेनाले दक्षिण–पश्चिम बलुचिस्तान राज्यमा चिनियाँ इन्जिनियरलाई आतंकवादी हमलाबाट बचाएका छन् । सुरक्षालाई लिएर चीनको चासो पनि यही हो । यसअघि सन् २०२१ मा उत्तरी पाकिस्तानमा बसमा भएको आत्मघाती हमलामा नौजना चिनियाँ कर्मचारीको मृत्यु भएको थियो । त्यस्तै, सन् २०२२ मा कराँचीको अर्को हमलामा आतंककारीले चिनियाँ शिक्षकको हत्या गरेका थिए । कुगलम्यानका अनुसार चीनका लागि सुरक्षासम्बन्धी जोखिम चिन्ताजनक छ । कारण, चीनले पाकिस्तानका बढ्दै गएको खतरा सामना गरिरहेको छ । उल्लिखित हमलामा बलोच विद्रोही, पाकिस्तानी तालिबान (टिटिपी) र तथाकथित इस्लामिक स्टेट खुरासान राज्य (आइएसके) सहभागी छन् ।

यति हुँदा पनि पाकिस्तानले सुरक्षा जोखिम कम गर्न सकेको छैन । स्थिति झन्झन् बिग्रँदै जाने हो भने आफ्नो सम्पत्ति र जनता सुरक्षित गर्न चीनले सैनिक तैनाथ गर्न सक्छ । र, यसले उल्टै पाकिस्तानको राजनीतिक छवि धुमिल पार्छ ।

पूर्वराजदूत लोधी भन्छन्, ‘सुरक्षासम्बन्धी चिन्ता छन् । तर, पाकिस्तान यसलाई कम गर्ने कोसिस गर्दै छ । आफ्ना कर्मचारी र पूर्वाधार परियोजनाको सुरक्षाका लागि चीन प्रतिबद्धसमेत छ । सिपिइसी परियोजना र चिनियाँ नागरिकको सुरक्षाका लागि जुनसुकै खतराले सिपिइसीको प्रगतिमा बाधा पुर्‍याउन सक्छ ।’ एजेन्सीको सहयोगमा

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.