जर्मनीका विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई तानाशाही भनेपछि…

एजेन्सी । जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले चीनका राष्ट्रपति सी चिनफिङलाई तानाशाही शासकको संज्ञा दिएकी छिन् ।

एनालेनाले सीलाई तानाशाही भनेपछि चीनको विदेश मन्त्रालयले जर्मनीका विदेशमन्त्रीको अभिव्यक्ति मूर्ख कार्य भएको र यो खुला राजनीतिक उत्तेजना भएको उल्लेख गरेको छ ।

फक्स न्युजसँगको कुराकानीमा गत हप्ता जर्मनीका विदेशमन्त्रीलाई युक्रेनमा रुसी आक्रमणबारे प्रश्न गरिँदा उनले प्रतिप्रश्न गर्दै भनेकी थिइन्, ‘यदि पुटिनले यो युद्ध जित्ने हो भने विश्वका अन्य तानाशाहहरूका लागि के संकेत हुनेछ, जस्तै सी, चिनियाँ राष्ट्रपति जस्ताहरूका लागि के संकेत हुनेछ ?’ उनका अनुसार तानाशाहीले नभएर युद्ध युक्रेनले जित्नुपर्छ ।

जर्मनी रुसविरुद्धको युद्धमा युक्रेनको एक प्रमुख हतियार साझेदार राष्ट्र हो । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले लियोपार्ड ट्यांकलगायत अन्य हतियार युक्रेनलाई दिइरहेका छन् । यस्तोमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले एनालिनाको भनाइ ‘अत्यन्तै बेतुका’ भएको र त्यसले चीनको राजनीतिक मर्यादाको हनन् गर्ने बताइन् ।

जर्मनीकी विदेशमन्त्रीले सीलाई तानाशाही भनेपछि नै चीन सरकारले चीनका लागि जर्मन राजदूत प्याट्रिसिया फ्लोरलाई यस विषयमा स्पष्टीकरण सोधेको छ । यसअघि गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सीलाई तानाशाह भनेका थिए । त्यसबेला पनि चीनले अमेरिकी राजदूतलाई यस विषयमा स्पष्टीकरण दिन भनेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.