कला परिषदमा सम्भोता/भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी तथा कार्यशाला

काठमाडाैँ । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा सम्भोता/भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरिएको छ।

भारतीय राजदूतावास काठमाडौं, बीपी कोइराला भारत-नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन्। शुक्रबारदेखि सुरू कार्यक्रम शनिबारसम्म जारी रहने छ।

कार्यक्रमको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाए।

राज्यमन्त्री प्रमिला कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन्। उनले नेपाल र भारतका लागि बौद्ध धर्म एक साझा धागो भएको बताइन्।

जाम्याङ दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे। उनले नेपालमा शताब्दीयौंदेखि पवित्र र महत्त्वपूर्ण बौद्ध साहित्य लेखनमा प्रयोग हुँदै आएको रञ्जना लिपिको पनि आफ्नो समृद्ध परम्परा रहेको बताए।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषदमा शनिबारसम्म खुला रहने काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.