चीनमा किन हराउँदै छन् धमाधम उद्योगपति ?

काठमाडाैं । चीनमा अर्बपति हराउने घटना एकपछि अर्को गरी बढ्दै गइरहेको छ । यसको एउटा कारण हो, सरकारको आलोचना । जसले चीन सरकारको आलोचना गर्छ, ऊ हराउँछ । पछिल्लो दिनमा रेन झिकियाङले चिनियाँ राष्ट्रपति सीको आलोचना गरेका थिए । त्यसको केही दिनपछि उनी हराए । पछि उनलाई १८ वर्षको सजाय सुनाइयो ।

यस्तै, सन् २०१५ मा फोसुन इन्टरनेसनल ग्रुपका अध्यक्ष अर्बपति गुओ गुआङचाङ पनि यसैगरी हराए । उनलाई चीनको ‘वारेन बफेट’ भनिन्थ्यो भने पश्चिमा उनलाई इंग्लिस प्रिमियर लिग फुटबल क्लब वोल्भरह्याम्पटन वन्डसर्सको स्वामित्वकर्ता भनेर चिन्थे । सो वर्षमा मात्रै कम्तीमा पाँच अधिकारी सम्पर्कविहीन बनेका थिए । त्यसको दुई वर्षपछि अर्थात् सन् २०१७ मा चिनियाँ मूलका क्यानेडियन उद्योगपति जिआओ जिन्हुवा हङकङको एक होटेलबाट पक्राउ परे । उनी चिनका धनाढ्यमध्ये एक थिए, जसलाई भ्रष्टाचारको आरोपमा जेल सजाय दिइएको थियो ।

सन् २०१२ मा राष्ट्रपतिका रूपमा सत्ता सम्हालेपछि सी जिनपिङले भ्रष्टाचारविरोधी अभियान सुरुवात गरे । अभियान राम्रो हुँदाहुँदै पनि यसले चीनमा आतंक मच्चाएको छ । यसै अभियानअन्तर्गत अहिलेसम्म लाखौँमाथि छानबिन गरिएको छ ।

अर्का अर्बपति ज्याक माले पनि चीन सरकारले कारोबारमा प्रतिबन्ध लगाएको आरोप लगाएका थिए । उनले सरकारको खुलेआम आलोचना गरेका थिए । त्यसपछि उनी पनि रेन र गुओझैँ हराए । चीनको हाई–प्रोफाइल अर्बपतिमध्येका एक हुन्, ज्याक ।

उनी हराएसँगै फाइनान्सियल टेक्नोलोजीको लोकप्रिय एन्ट ग्रुपको सेयर सूचीकरणलाई रोक्नुप¥यो । सामान्य समृद्धि (कमन प्रोस्परिटी) फन्डमा झन्डै १० अर्ब डलर दान गरेपछि उनी दुई वर्षयता चीनमा देखिएका छैनन्, न उनीमाथि कुनै अपराधको आरोप नै लगाइएको छ ।

ज्याक पछिल्लोपटक कहाँ देखिएका थिए भन्ने पनि स्पष्ट छैन । यद्यपि, हालसालै मात्र जापान, थाइल्यान्ड र अस्ट्रेलियामा देखिएको विषय आइरहेको छ । चीन सरकारले भने देशका केही धनाढ्यमाथि गरिएको छानबिन र कारबाही विशुद्ध रूपमा कानुनी भएको बताएको छ । साथै, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्ने संकल्प लिएको उसको भनाइ छ । तर, बेइजिङको यस्तो कारबाही उदारीकरणको दशकौँको पृष्ठभूमिमा पनि आउँछ, जुन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । चीनको भ्रष्टाचारविरुद्धको कडा नीतिले अहिले त्यहाँका उद्योगपति त्रसित छन् । बाओको कम्पनीका अध्यक्ष कोङ लिनमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

ज्याक मा, बाओ फ्यानलगायतका चिनियाँ उद्योगपति एकपछि अर्को हराउन थालेपछि रहस्य पटाक्षेप भएको हो ।