काठमाडौं । अमेरिकाले लोकप्रिय एप टिकटकमा रहेको चिनियाँ स्वामित्व बिक्री नगरे आफ्नो देशमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । टिकटकका प्रतिनिधिले बुधबार अमेरिकी प्रशासनबाट त्यस्तो चेतावनी आएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी प्रयोगकर्ताको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराइरहेको हुनसक्ने भन्दै अमेरिकी अधिकारीहरूले चासो व्यक्त गर्दै आइरहेका छन् । द वालस्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार अमेरिकाको विदेशी लगानी समितिले टिकटक बिक्री गर्नुपर्ने सर्त अगाडि सारेको हो।
चीन सरकारले कुनै निश्चित कन्टेन्ट देखाएर वा नदेखाएर आफ्नो देशका नागरिकहरूको लोकप्रिय अभिमत प्रभावित पार्ने कार्यमा टिकटकलाई प्रयोग गर्नसक्ने कुरामा अमेरिकी अधिकारीहरूको मुख्य सरोकार रहेको छ ।
छोटो भिडिओको लागि चर्चित एप टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइटड्यान्सको हातमा छ । जुन अमेरिकामा खासगरी किशोरकिशोरीमाझ निकै नै लोकप्रिय छ । पिउ रिसर्च सेन्टरले सन् २०२२ मा गरेको एक सर्भेका क्रममा अमेरिकाका करिब ६७ प्रतिशत किशोरकिशोरीहरू टिकटक प्रयोग गर्नेगरेको बताएका थिए ।
यही मार्चको सुरुताका संसद्को विदेशी मामिला समितिले अमेरिकी प्रशासनले टिकटकमाथि राष्ट्रव्यापी प्रतिबन्ध लगाउनुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेको थियो ।
यद्यपि गत जनवरीमा द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार टिकटकका अधिकारीहरूले अमेरिकी सांसदहरूसँग बैठक गरेको र कम्पनीको १.५ अर्ब डलरको अमेरिकी व्यवसायको पुनः संरचना गर्ने बताएका थिए । तर टिकटकले भने आफूले चीन सरकारसँग प्रयोगकर्ताको कुनै पनि डेटा शेयर नगर्ने बताउँदै आएको छ ।