पाकिस्तानमा इमरान खानलाई पक्राउ गर्ने क्रममा मुठभेड

एजेन्सी । पाकिस्तानको मुख्य विपक्षी दलका नेता इमरान खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्।

उनले बीबीसीसँग भने, “उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।” तर उनले पाकिस्तानमा “जङ्गली राज” रहेको आरोप लगाए।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो।

बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका छन्।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।

लाहोरस्थित उनको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।

एक भिडिओ सन्देशमा ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गरे।

उनले अदालतमा यसअघि दुई लडाकु हमला भइसकेको भन्दै त्यहाँ सुरक्षा चासोहरू रहेको बताए।

खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको “कुनै कारण नरहेको” दाबी गरे।

इमरान खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताए।

“म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु,” मङ्गलवार उनले भने।

“कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।”

खानले आफ्नो घरभित्र प्रहार गरिएका भन्दै अश्रुग्याँसका खोकाहरू देखाए।

उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको बताए।

तर उनले भने: “म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्नेछैनन्।”