चीनमाथि अमेरिका र जर्मनीले निगरानी बढाउँदै

एजेन्सी । अहिलेसम्म अमेरिका र चीनबीच एक अर्कालाई चेतावनी दिने क्रम चलिरहेको थियो । ताइवानदेखि जासुसी बेलुनसम्मका अन्य धेरै विषयमा दुवै देशबीच एक अर्कालाई चेतावनी दिने क्रम चलिरहेको थियो ।

यसैबीच, जर्मनीले पहिलो पटक चीनलाई कडा चेतावनी दिएको छ। जर्मनीले चीनलाई युक्रेनविरुद्धको युद्धमा रुसलाई हतियार पठाउन नरोकेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

जर्मनीको यो धम्कीले चीनमा त्रास फैलाएको छ । जर्मनीको यो धम्कीपूर्ण चेतावनीबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकाे छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अब जर्मनी र चीनबीचको तनाव पनि बढ्ने अनुमान गरिएको छ ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले चीनले युक्रेनमा आक्रमण गर्न रुसलाई हतियार उपलब्ध गराएमा त्यसले गम्भीर ‘परिणाम’ भोग्नुपर्ने बताए । यद्यपि, स्कोल्जले चीनले यस्तो नगर्ने आशा पनि व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वासिङ्टनमा भेटेको दुई दिनपछि आइतबार ‘सीएनएन’ लाई दिएको अन्तर्वार्तामा जर्मनीका चान्सलरले यस्तो बताएका हुन् ।

अमेरिकी अधिकारीहरूले हालै चीनले रुसलाई हतियार र गोलाबारुद उपलब्ध गराउन सुरु गर्न सक्ने चेतावनी दिएका थिए। आफ्नो भ्रमण अघि, स्कोल्जले चीनलाई हतियार नपठाउन र रूसलाई युक्रेनबाट सेना फिर्ता गर्न दबाब दिन आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरे।

चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप लागेदेखि नै अमेरिका र जर्मनीले कडा निगरानी गरिरहेका छन् । जर्मनीअघि अमेरिकाले पनि चीनलाई यस्तो चेतावनी दिएको थियाे । यद्यपि त्यसबेला चीनले यी आरोपहरूलाई अस्वीकार गरेको थियो।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले भने, “मलाई लाग्छ कि यसले (चीन) नतिजा भोग्नुपर्नेछ, तर अहिले हामी यस्तो चरणमा छौं, जहाँ हामी यो हुन नहुने कुरा स्पष्ट गर्दैछौं र मलाई आशा छ कि यो मुद्दा समाधान हुनेछ, हाम्रो अनुरोध स्वीकार गर्नेछ, तर हामीले यसमा नजर राख्नु पर्छ र हामी धेरै, धेरै होसियार हुनुपर्छ।”