काठमाडाैं । चिनियाँ नागरिकले याैन शाेषणकाे लागि नेपाली किशाेरीहरुलाई सामाजिक सञ्जालकाे प्रयाेग गरी जालमा पार्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ ।
४९ वर्षीय चिनियाँ नागरिक यान लिङमिङले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटक लगायतका सामाजिक सञ्जाल प्रयाेग गरी याैन शाेषणकाे लागि नेपाली किशाेरीहरुलाई जालमा पार्ने गरेकाे अनुसन्धानबाट खुलेकाे हाे।
४९ वर्षीय लिङमिङको नेपाल बसाइ लामो छ । ललितपुरमा व्यवसाय सञ्चालन गरेर बसेका कारण उनी नेपाली र अंग्रेजी भाषासमेत राम्ररी बोल्न सक्छन् ।
उनी व्यापक रुपमा सामाजिक सञ्जालकाे प्रयाेग गर्थे । केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)का प्रवक्ता एसपी सञ्जय थापाका अनुसार चिनियाँ नागरिक लिङमिङले नाबालिकादेखि किशोरीसम्मलाई फकाउने भरपर्दो हतियार नै सामाजिक सञ्जाल बनाएका थिए ।
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमार्फत साथी बन्ने गरेका लिङमिङले उपत्यकाभन्दा बाहिरका जिल्लाका नाबालिकालाई आफ्नै खर्चमा काठमाडौं बोलाउने गर्थे ।
यसरी काठमाडौं पुगेका किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर रात्रिकालीन मनोरञ्जन ‘नाइट क्लबदेखि महँगाका रेस्टुरेन्टमा समेत लैजाने गरेको खुलेको छ ।
त्यसरी प्रभावमा पर्ने गरेका किशोरीमध्ये केहीलाई काठमाडौंको ठमेलका विभिन्न होटल र ललितपुरस्थित आफ्नै कोठामा पुर्याएर यौन शोषण गर्ने गरेको खुलेको छ ।
लिङमिङमाथि ललितपुर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान अघि बढाएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लिङमिङमाथि नाबालिगसहित ३ जनाकिशोरीमाथि बलात्कार गरेको खुलेको छ । उनले एक जना नाबालिगसहित दुई जनालाई पोखराबाट ललितपुर ल्याएर र अर्का एक जना युवतीलाई झापाबाट ललितपुर बोलाएर बलात्कार गरेको खुलेको छ ।
प्रहरीका अनुसार १७, १८ र १९ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको खुलेको हो ।
साेही क्रममा सीआईबीको टोलीले ठमेलको एक होटलमा लिङमिङले चार जना नाबालिकालाई ललाइफकाइ राखेको अवस्थामा फेला पारेर उद्धार गरेकाे थियाे ।
पीडितका आफन्तले सीआईबीमा यौन शोषणबारे उजुरी दिएपछि ललितपुर प्रहरी उनको खोजीमा लागेको थियो । हालसम्म ललितपुर प्रहरीमा तीन जनाले जाहेरी दिएका छन् ।
प्रहरीका अनुसार २०७३ सालदेखि व्यवसाय गर्दै आएका लिङमिङले लामो समयदेखि बालिकामाथि यौन शोषण गर्ने गरेको आशंका गरेको छ ।
सामाजिक सञ्जालबाहेक उनले आफ्नै कारखानामा काम गर्ने महिला कर्मचारीमार्फतसमेत बालिकालाई आफ्नो सम्पर्कमा ल्याउन लगाएर यौन शोषण गरेको आशंका प्रहरीले गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लिङमिङबाट हालसम्म छ जना पीडित भएको खुलेको छ ।
ललितपुर प्रहरी प्रमुख एसएसपी शाहका अनुसार लिङमिङले काठमाडाैंमा ‘न्यु प्युरी एण्ड म्याट्रेस’ कम्पनीसमेत सञ्चालन गरेका थिए ।
