अझै खाेलेन चीनले ताक्लाकोट नाका

दार्चुला । छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन ।

तीन वर्षदेखि नाका बन्द रहँदा यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् ।

नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।

चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् ।

विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए । कोरोना आएपछि ताक्लाकोट बजार जान नपाउँदा अहिले तीन वर्षदेखि व्यापार व्यवसाय नै ठप्प रहेको छ ।

चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन । सन् २०१४ अगाडिसम्म भारत–चीन नाकामा भन्सारको व्यवस्था थिएन् । चीनको त्रिदेशीय नाका क्षेत्रमा हुने व्यापार भारत चीन सरकारले गरेको व्यापार सम्झौतापछि भारतसँग बढेको छ । नेपालसंँग विगतमा हुने गरेको व्यापार पछिल्लो समय बन्द हुन पुगेको हो ।

यहाँका भारतसित सीमा जोडिएका नेपाली बजारमा ५/७ वर्षअघिसम्म चिनियाँ रेडिमेड सामान खासगरी कपडाको राम्रो बजार थियो । अहिले धेरै घटिसकेको छ । नेपाली बजारमा चिनीया सामान किनमेलका लागि आउने भारतीय ग्राहक ६०/७० प्रतिशतले कमी आएका हुँदा सीमावर्ती बजार खस्कँदो अवस्थामा छ ।

देशका अन्य उत्तरी सीमाका जिल्लाका चीनसित जोडिएका अन्य नाकाबाट व्यापार सुरु भए पनि पश्चिम नेपाल दार्चुलासित जोडिएको ताक्लाकोट नाका सञ्चालनका लागि कुनै किसिमको जानकारी नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले पनि समयसमयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन् । नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । सङ्घीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आएका दार्चुलाका कमल बोहरा बताउँछन् ।

उनी भन्छन्, ‘चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन । ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन् । नेपालतर्फको बजार मात्र बन्द छ । चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ ।

कोभिडकै सङ्क्रमण हुने डर हो भने अन्य मुलुकसँग व्यापार गर्दा सङ्क्रमण नहुने र नेपालसँग गर्दा सङ्क्रमण हुन्छ भन्ने हुँदैन । व्यापारिक नाका सञ्चालनका लागि नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने उनीहरुको माग छ ।

ताक्लाकोट बजारमा नेपालीले वर्षौदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । यस्तै मह, घिउ, छुर्पी , खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ ।

ताक्लाकोटलगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ । हाते होजियारी र हस्तकलाका सामान नेपाली बजारभन्दा तीन गुणा महँगोमा बिक्री हुने गरेको छ ।

तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने शहर ताक्लाकोट भएर नै हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जानुपर्ने हुन्छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको सो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने अर्का व्यवसायी हुम्लाका लामा बताउँछन् ।

हालका वर्षमा दार्चुला सदरमुकाम खलंगादेखि छाङरुसम्मको घोरेटो बाटो बन्द भएदेखि ताक्लाकोटबाट कुनै किसिमको सामान नेपाल नभित्रिएको खलंगा छोटी भन्सारका कर्मचारी बताउँछन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.