भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच आज समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ ।
उदयपुर जिल्लामा श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्र र धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजना निर्माण हुने दूतावासले जनाएकाे छ ।
यी तीन परियोजनाहरु कूल अनुमानित नेपाली रूपैयाँ १० करोड १७ लाख रहेकाे दूतावासले जनाएकाे छ ।
दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘माथि उल्लिखित तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ।’
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेकाे दूतावासले जनाएकाे छ ।
नजिकको छिमेकीको नाताले नेपाल र भारतबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको दूतावासकाे भनाइ छ । यी परियोजनाको कार्यान्वयनले आफ्ना नागरिकको उत्थानमा नेपाल सरकारले चालेका हरेक प्रयासमा भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेकाे दूतावासले जनाएकाे छ ।