प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नै सेनाले दियाे द्रुतमार्गकाे ठेक्का

प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीले नै द्रुतमार्गको ठेक्का हात पारेकाे छ । नेपाली सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीलाई नै काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेजको ठेक्का दिएको हाे । प्याकेज ६ का लागि ग्लोबल टेन्डर आह्वान हुँदा सुरुमा सेनाले छनाेट गरेका कम्पनीमा नरहेको चाइना फस्ट हाइवे कम्पनीले सोही प्याकेज निर्माणको ठेक्का पाएको खुलेकाे छ ।

प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वानमा १२ कम्पनीले प्रस्ताव पेस गरेका थिए। सेनाले १६ भदौमा प्राविधिक प्रस्तावमा पास भएका पाँचवटा कम्पनीलाई भदौ ३१ गते वित्तीय प्रस्ताव खुला गर्ने भन्दै सहभागिताका लागि चिठी लेख्यो। तर, एक दिनअघि ३० भदौमा सेनाले सबै कम्पनीहरूलाई चिठी लेखेर भने पनि उक्त प्रस्ताव खुला गर्ने मिति पछि सर्‍यो।

प्राविधिक प्रस्ताव अस्वीकृत भएको चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीले अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो। उसैलाई पछि, सेनाले प्याकेज ६ को जिम्मा दिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा उक्त कम्पनीले पुनरावेदन दिएपछि कार्यालयले उसलाई पनि टेन्डर प्रक्रियामा सामेल गराउन निर्देशन सेनालाई पठायो।

सेनाले कात्तिक २० गते साँझ ५ बजे वित्तीय प्रस्ताव खोल्ने चिठी पठायो। भोलिपल्ट १ बजे सेनाले बाँकी कम्पनीहरूलाई पठाएको इमेलमा त्यही चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छनाेट भएको सूचित गरियो, जसले पुनरावेदन दिएको थियो । उसलाई लेटर अफ इन्टेन्ट (एलओआई) शुक्रबार दिएको छ।

उक्त चिनियाँ कम्पनीले वित्तीय प्रस्ताव १८ अर्ब ७ करोड ८६ लाख रुपियाँ पेस गरेको थियो । टेन्डरकै बीचमा काठमाडौं फास्ट ट्रयाक आयोजना प्रमुख विकास पोखरेलको सरुवा भयो। उनको ठाउँमा प्राविधिक सहायक रथी कमलविक्रम शाहले जिम्मेवारी पाएका छन्। शाहले नै हस्ताक्षर गरेर चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनीलाई एलओआई दिएका हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.