‘तिम्रो तस्बिर’ : एउटा टुटेको प्रेमकहानी (भिडियो)

काठमाडाैँ । नवगायक तथा सङ्गीतकार उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्दमा ‘तिम्रो तस्बिर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।

लोकप्रिय गायक स्वरूपराज आचार्यको स्वरमा रहेको हृदयस्पर्शी गीत ‘उमेश राउत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्यालाई यस गीतमा प्रस्तुत गरिएको छ ।

प्रेम अनि बिछोडको विषय भए पनि त्यसलाई फरक किसिमले प्रस्तुत गरेर नेपाली गीतका श्रोता र दर्शकलाई फरक किसिमको स्वाद प्रस्तुत गरेका बताउँछन् गीतकार उज्ज्वल बस्नेत ‘हृदय’ ।

नेपाली साङ्गीतिक क्षेत्रमा चर्चा बटुल्नुभन्दा पनि यस क्षेत्रलाई सुगम तथा फराकिलो बनाउँदै लैजानु आफ्नो प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

पाँच वर्षदेखि लाबोनी प्रमोदसँग सङ्गीतको शिक्षा लिँदै आएका सङ्गीतकार राउत यो गीतबाट निकै आशावादी छन् ।

‘छोटो समयको लोकप्रियताभन्दा पनि आफ्नो रचना सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ गीत तयार गरिएको हो, अहिले सीमित नयाँ पुस्ताहरू रातारात लोकप्रिय बन्ने उद्देश्यका कारण आफ्नो मौलिक सङ्गीतलाई बिर्सिएर भाइरलको पछाडि दौडिएका छन् तर हामी त्यो बाटोमा छैनौँ’, उनले भने ।

नेपाली गीत सङ्गीतको आफ्नो छुट्टै पहिचान भएकोले त्यसमै रहेर अघि बढ्न चाहेको बताउँदै उनी भन्छन्, ‘त्यसकै फलस्वरूप ‘तिम्रो तस्बिर’ आएको हो ।’

चर्चित मात्र नभएर नेपाली सङ्गीतमा छुट्टै उचाइ बनाउन सफल गायक स्वरुपराज आचार्य पनि नयाँ पुस्ताले यस्ता किसिमका सङ्गीतमा रुचि राख्नु निकै सकारात्मक रुपमा लिन्छन् ।

गीतका बारेमा बोल्दै उनले भनेका छन्, ‘नेपाली सङ्गीतमा लोप हुँदै गएको रुपक तालको प्रयोग यस गीतको विशेष पहिचान हो, अझ अरेन्जमेन्टमा भएको एउटै गीतमा तीनवटा तालको प्रयोगले यस गीतको महत्व झनै बढेको छ ।’

कपनमा निर्माण गरिएको उक्त भिडियोमा गीता ढुंगाना र निराजन प्रधानको जीवन्त अभिनय देख्न सकिन्छ भने विशाल रेग्मी सानो भूमिकामा छन् । अहिलेका चर्चित निर्देशक अनुप चापागाईंले निर्देशन गरेको गीतको भिडियो समेत उत्कृष्ट बनेको छ ।

अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘तिम्रो तस्बिर’ अजयसिंह कार्कीले रेकर्ड गरेका हुन् भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

लाबोनी प्रमोदको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.