धरमराएको पाँच दलीय सत्ता गठबन्धन जोगियो

काठमाडौं । नेपाली काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्झौतालाई अनुमोदन गराइछाड्ने अडानमा रहँदा सत्ता गठबन्धन विभाजन र विखण्डनको संघारमा पुगेको थियो। तर व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्न सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि गठबन्धन जोगिएको छ।

सरकारले प्रतिनिधिसभामा टेबुल गरेको एमसिसी प्रस्तावको विपक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएपछि कांग्रेस प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अनुमोदन गर्ने पक्षमा जुटेको थियो। उसले एमालेसँग नयाँ सत्ता समीकरण गर्नेसम्मको सोच पनि बनाएको थियो।

एमालेले एमसिसी सम्झौता अनुमोदनमा प्रधानमन्त्री देउवालाई सघाउन सकिने जवाफ दिएका थिए। तर त्यसका लागि उनले सभामुख अग्निप्रसाद सापकोटालाई कारबाही वा एमालेबाट अलग भएका १४ सांसदलाई कारबाहीको सर्त अघि सारेका थिए। यिनै माग राखेर उसले गत भदौदेखि संसद्मा अवरोध गर्दै आएको छ।

कांग्रेस र प्रधानमन्त्री देउवाले एकातिर एमालेसँग संवाद र अर्कोतिर सरकारले ल्याएको प्रस्तावको विपक्षमा गठबन्धनकै दल उभिए मान्य नहुने बताएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्न तयार भएका हुन्। सत्ता गठबन्धन टुट्ने सम्भावना बढ्दै गएपछि त्यसलाई जोगाउने र एमसिसी पनि पारित गर्ने उपायका रूपमा व्याख्यात्मक घोषणा ल्याइएको हो। यो समाचार नागरिक दैनिकमा छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.