नाच्दै, गाउँदै तनाव भगाउँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् ।

नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ । आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगविरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्नेछ ।

“क्वारेन्टिनमा बस्दै आएकालाई रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुमा सकरात्मक सोचको विकास गर्न योगले सहयोग पु¥याउने विश्वास लिइएको छ”, कुमालले भन्नुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बसेकालाई रोगप्रतिरोधात्मक शक्ति बढाउने औषधिसमेत वितरण गरिएको छ । उक्त क्वारेन्टिनमा १८ जना छन् । क्वारेन्टिनमा बसिरहेकाले गीत सङ्गीतको माध्यमबाट योगसम्बन्धी प्रशिक्षण दिन थालेपछि खुशी व्यक्त गरेका छन् । क्वारेन्टिनमा बस्दा मानसिक तनाव हुने भएकाले योगले तनाव व्यवस्थापन गर्न मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिकाले गाउँफर्कोदय माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, तालवेशी माध्यमिक विद्यालय र खैरेनीर माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बनाएको छ । गाउँफर्कोदय माविमा २०, जनकल्याण माविमा १६ र खैरेनी माविमा १८ गरी ५४ जना क्वारेन्टिनमा छन् । तालवेशी माविमा रहेका १६ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि एघारौँ दिनपछि उनीहरुलाई घर पठाइएको छ ।

यसैबीच पोखरास्थित कुसुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्ण राउतले शुक्लागण्डकी नगरपालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि सहयोग गर्नुभएको छ । उहाँले सात प्रकारका औषधि नगरपालिकाका उपप्रमुख सविता रसाइलीलाई हस्तान्तरण गरिएकाे हो ।

ऋषिङ गाउँपालिकास्थित २८ वर्षीय युवकमा कोरोना पुष्टि भएर सोही नगरपालिकास्थित जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाको उपचार तथा खोप तयार नभइसकेको अवस्थामा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण भएका जडीबुटीको प्रयोग गर्न सुझाव दिएको छ ।

विभागले गुडुची चुर्ण ५ ग्राम आधा लिटर पानीमा पकाएर, असुराको पात र बेसार एक लिटर पानीमा पकाएर, सुठो, मरिच, पिप्ला दुई ग्राम र पाँच तुलसी पात एक लिटर पानीमा पकाएर, तेजपात र दालचिनी दुई ग्राम आधा लिटर पानीमा पकाएर नियमित प्रयोग गर्न सुझाव दिएको छ ।

शुक्लागण्डकीका चार क्वारेन्टिनमा रहेकालाई आयुर्वेद औषधिको मात्रा मिलाएर सेवन गर्न दिइने खैरेनीटार आयुर्वेद औषाधालयका प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.