चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा महाशाखाका इन्स्पेक्टर रम्तेलमाथि छानविन

काठमाडौं : चोरीको मुद्दा मिलापत्र गराएको आरोपमा महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेल छानविनमा तानिएका छन् । उनलाई ललितपुर शाखाको जिम्मेवारीबाट हटाएर बानेश्वरस्थित महाशाखामा सरुवा गरेर छानबिन थालिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।

ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही दिनअघि चोरी भएको थियो । चोरीमा संलग्न आरोपीलाई पक्रेर रम्तेलले मुद्दा प्रक्रियाअघि बढाएर महानगरीय प्रहरी परिसर ललितपुरलाई जिम्मा लगाउनुको साटो उनले घटना मिलापत्र गराएको थाहा भएको छ । चोरीमा संलग्न आरोपीलाई सुन बापतको रकम तिराएर उनले मिलापत्र गराएको सुचना पाएपछि महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले छानविन गर्न निर्देशन दिएका थिए ।

महाशाखाका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा समिति बनाएर उनीमाथि छानविन भइरहेको छ । समितिमा इन्स्पेक्टर किरण न्यौपाने सदस्य छन् ।

‘सुन चोरी भएपछि कानुनी दायरामा नल्याएर पीडितलाई पैसा दिलाएर मिलापत्र गराएको भन्ने छ,’ एसएसपी कुँवर भन्छन्, ‘छानविन प्रतिवेदनका आधारमा दोषी देखिए कारवाही हुन्छ ।’ ललितपुरमा रम्तेलको ठाउँमा महाशाखामा कार्यरत इन्स्पेक्टर केशव बह्राकोटीलाई पठाइएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.