उपत्यकामा ट्याक्सी भाडा बढ्यो

काठमाडौँ : बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडा वृद्धि गरेको छ। बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट उपत्यकामा चल्ने ट्याक्सीको भाडा बढाइएको हो। मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले गत पुस २० गतेको मन्त्रीस्तरीय निर्णयले ट्याक्सी भाडा निर्धारण तथा समायोजन गरेको जानकारी दिए।

नयाँ भाडा आगामी माघ १ गतेदेखि लागू हुनेछ। प्रदेश सरकारले भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ अनुसार नयाँ भाडा तोकेको हो। नयाँ व्यवस्था अनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको सुरु फ्ल्याग डाउन ६० रूपैयाँ कायम गरिएको छ। सुरुको एक किलोमिटर यात्रापछि प्रत्येक दुई सय मिटरको ९ रूपैयाँ ८० पैसाका दरले थप हुने गरी भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ।

यातायात व्यवस्था विभागले २०७५ असोज ७ गते ट्याक्सीको भाडा समायोजन गरेको थियो। त्यो बेला ट्याक्सीको प्रतिकिलोमिटर ३९ रूपैयाँ कायम गरिएको थियो। फ्ल्याग १४ रूपैयाँ कायम गरिएको थियो। प्रति २०० सय मिटरमा ७ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। मन्त्रालयले ट्याक्सीले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने व्यवस्था गरेको छ।

सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने बित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्नेछ। ट्याक्सीमा छुटेको सामान, ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्नेछ। ट्याक्सी नियमित रूपमा सरसफाइ गरी लैंगिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्नेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.