एजेन्सी । चिनियाँ टेनिस स्टार पेंग शुआईले एक वरिष्ठ कम्युनिष्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोमा एक पोष्ट साझा गरेर उनले पूर्वउपप्रधानमन्त्री झांग गाओलीले आफूसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य पारेको आरोप लगाएकी हुन् ।
चीनमा कम्युनिष्ट पार्टीका कुनै उच्च तहका नेतामाथि यस्तो आरोप लागेको यो पहिलो घटना हो । यो आरोपपछि पेंग शुआईका बारे चीनभित्र ‘इन्टरनेट सर्च’ सीमित पारिएको छ । वीबोमा उनले गरेको पोष्टलाई पनि इन्टरनेटबाट गायब पारिएको छ ।
झांग गाओली आफूमाथि लागेको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । सन २०१३ देखि २०१८ सम्म चीनका उपप्रधानमन्त्री रहेका झांग गाओली चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन् ।
झांगबारे टेनिस खिलाडी पेंगले लेखेकी थिइन्, ‘त्यो दिन मैले आफ्नो सहमति दिएकी थिइनँ । म लगातार रोइरहेकी थिएँ । तपाईँले मलाई आफ्नो घर लगेर जानुभो र मलाई यौन सम्बन्धका लागि बाध्य पार्नुभो ।’
तर यो आरोपको पक्षमा हाल आफूसँग कुनै प्रमाण नरहेको पनि पेंगले उल्लेख गरेकी छन् । आफूसँग मात्र वास्तविक अनुभव रहेको उनले बताएकी छन् ।
के लेखिन् सोसल मिडियामा ?
टेनिस खिलाडी पेंगले आफ्नो पोस्टमा लेखिन्, ‘उप–प्रधानमन्त्री झांग गाओली, मलाई थाहा छ कि तपाईंजस्तो प्रतिष्ठित व्यक्तिले ‘म डराउँदिनँ’ भन्नुहुनेछ । तर जे सुकै होस्, म तपाईंबारे वास्तविकता बताउनेछु ।’
पेंगले लेखे अनुसार झांग गाओलीले टेनिस खेल्न बोलाएकै बेला उनीमाथि यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य बनाएका थिए । उनले भनिन्, ‘त्यस दिन मैले आफ्नो सहमति जनाएको थिइनँ । म लगातार रोइरहेकी थिएँ । तपाईंले मलाई आफ्नो घर बोलाउनुभयो । त्यसपछि सम्बन्ध स्थापित गर्नका लागि मलाई बाध्य पार्नुभयो ।’
पेंगले थपेकी छिन्, ‘म आफ्नो आरोपको पक्षमा प्रमाण दिन सक्दिनँ । मसँग कुनै प्रमाण छैन । कुनै प्रमाण बटुल्न सम्भव पनि थिएन किनभने तपाईंलाई सधैं डर थिउो कि म टेप रेकर्डरजस्ता केही लिएर आउनेछु ताकि प्रमाण जम्मा गर्न सकूँ । त्यसैले न कुनै अडियो न नै भिडियो रेकर्ड छन् । मसँग वास्तविक अनुभव मात्रै छन् ।’