आपूर्तिमन्त्री बनेका हमाल र प्रधानन्यायाधीशबीच के सम्बन्ध छ ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् ।

संविधानको मूल मर्मविपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालगञ्जका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि प्रधानन्यायाधीश जबराको कोटाबाट दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उनको नाममा विवाद आएपछि देउवाले कांग्रेस पृष्ठभूमिका हमाललाई प्रधानन्यायाधीश जबराको कोटाबाट मन्त्री बनाएका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।

प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशंकालाई हमालको नियुक्तिले सही प्रमाणित गरिदिएको छ । गैरसांसद हमाल कांग्रेसका जिल्लास्तरीय नेता हुन् ।

उनी देउवाले कांग्रेस फुटाउँदा उनको पार्टीको बाँके सभापति बनेका थिए । देउवा पत्नी आरजुसँग पनि हमालको पारिवारिक नाता रहेको छ । २०४० सालमा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आएका थिए ।

गैरसांसद मन्त्री बनेको अवस्थामा छ महिनाभित्र जनताबाट अनुमोदित हुनुपर्ने, नभए पदमुक्त हुने व्यवस्था छ । त्यस आधारमा अहिले मन्त्री बनेका हमाल छ महिनाभित्र संघीय संसद्‌को सदस्यमा निर्वाचित हुनुपर्छ । नभए उनी पदमुक्त हुनेछन् ।