नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि आफूविरुद्ध मुद्धा दर्ता गरेको आरोप लगाएका छन्।
उनले पूर्व प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्धा दर्ता गराएको आरोप लगाए।
बुधबार गृह जिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी समेत गरे।
सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको समेत बताए।
आफू निश्कलंक रहेको पनि दोहोर्याउँदै उनले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु। फाँसीमा झुण्डिन तयार छु। मेरो चुनौति छ–राज्यसँग। मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन। म निष्कलंक छु। ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो।’