भ्वाइस अफ नेपालका विजेता किरणलाई नेपाल प्रवेशमा रोक, एयरपोर्टबाटै अमेरिका फर्काइयो

काठमाडौं । गृह मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। गजमेरलाई गृहले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।

उक्त शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो ।

उनी अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन् । गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् ।

गजमेर सोमबार कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए ।

श्रोतका अनुसार, किरण ‘द भ्वाइस अफ नेपाल’को विजेता बनेर अमेरिका प्रस्थान गर्दा ‘ओभर स्टे’ वापत जरिवाना समेत तिरेका थिए । तर, यसपटक नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन् ।

‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए। भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए। संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए ।

सन् २००६ बाट राष्ट्रसंघले भुटानी शरणार्थीलाई अमेरिकामा पुर्नवास गराउन थालेको थियो । गजमेर सन् २०११ मा परिवारसहित अमेरिका गएका हुन । त्यसपछि उनले अमेरिकाको राहदानी प्रयोग गर्दै आएका छन्। गजमेर प्रतिभावान गायक हुन्। उनी समाजसेवामा समेत सक्रिय छन्।

नेपाल र अमेरिकाबीच भीषा पारस्पारिकता भएपछि पर्यटन भीषामा दुवै देशका नागरिक एकअर्को मुलुकमा १८० दिन बस्‍न पाउँछन्। अमेरिकाबाहेकका अन्य मुलुकका नागरिकहरुले पर्यटक भीषामा १५० दिन मात्र नेपालमा बस्न पाउँछन्।

Facebook Comments