विरगञ्जमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुत्ला दहन

विरगञ्ज । राष्ट्रिय एकता अभियानले पर्साको विरगञ्जमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका जिल्ला संयोजक श्याम किशोर तिवारीको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुतलासमेत दहन गरेको छ ।

अभियानले गहवामाई मन्दिरको प्रांगणबाट निस्केको र्‍याली घण्टाघर पुगी कोण सभा मा परिणात भएको थियो । र्‍यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद, भ्रष्ट कमिसनखोर मुख्यमन्त्री राजीनामा दे र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

उक्त विरोध कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेशलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए। उनले भने, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन्, यस्ता भ्रष्ट मुख्यमन्त्रीलाई पदमा बसी राख्न कुनै औचित्य छैन।’

त्यस्तै अभियानका पर्सा जिल्ला संयोजक तिवारीले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

विश्वका अधिकांश देशमा आज मदरसामाथि प्रतिबन्ध लागीरहेको बेला हिन्दू देशमा मदरसा शिक्षा विधयेक ल्याई प्रदेश २ लाई तालिबान संस्कृतितिर धकेलिन लागिएको अभियानका विभिन्न वक्ताहरुले आरोप लगाए । त्यस्तै विरोध कार्यक्रममा अभियानका अभियन्ता कृष्ण साह, ओमबाबु यादव, अशोक यादव, पर्सा जिल्ला सहसंयोजक उमेश यादव, अभियान निकट राष्ट्रिय विद्यार्थी परिष का संयोजक विवेक कुशवाहा, लगायत सयौँको सख्यामा सहभागीहरु उपस्थित भएका थिए ।

Facebook Comments