नियम विपरीत राजेन्द्र महतोका ज्वाइँलाई प्रदेशसभा सचिवालयबाट प्रतिमहिना एक लाख

काठमाडौं । प्रदेश २ का सभामुख सरोजकुमार यादवले कानुन विपरीत राजनीतिक सल्लाहकार पद स्थापना गरेर अनिल महासेठलाई नियुक्त गरेको र उनलाई प्रदेशसभा सचिवालयबाट तलब तथा सुविधाबापत रकम भुक्तानी गरेको पाइएको छ । राजनीतिक सल्लाहकारमा नियुक्त महासेठ लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र महतोका ज्वाइँ हुन् ।

महासेठले पाँच महिनामा विभिन्न सेवा सुविधाको नाममा ५ लाख रुपैयाँ प्रदेशसभा सचिवालयबाट भुक्तानी लिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयको दरबन्दीमा राजनीतिक सल्लाहकारको व्यवस्था नै नभएको अवस्थामा सभामुख यादवले अधिकृतस्तर एघारौँ तहको पारिश्रमिक पाउने गरी महासेठलाई राजनीतिक सल्लाहकार नियुक्ति गरी ५ लाख १ हजार रुपैयाँ खर्च गरेको सो प्रतिवेदनमा उल्लेख छ । महासेठले गाडी सुविधासहित प्रदेशसभा सचिवालयबाट मासिक १ लाख रुपैयाँका दरले २०७६ माघ १५ देखि २०७७ असार १५ सम्म ५ लाख १ हजार रुपैयाँ लिएको जनाइएको छ ।

सचिवालय व्यवस्थापन तथा सञ्चालक समितिको २०७६ माघ १५ को निर्णयले महासेठलाई सल्लाहकारमा नियुक्त गर्दा मासिक ५० हजार ६ सय रुपैयाँ र गाडी सुविधाबापत तलबको ८० प्रतिशत दिने निर्धारण भएको पाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

सभामुख, उपसभामुख तथा अन्य प्रदेशसभा सदस्यले पाउने सेवा सुविधामा कानुनी तथा राजनीतिक सल्लाहकार राख्न पाउने व्यवस्था छैन । राजनीतिक सल्लाहकार नियुक्त गर्दा सञ्चालन कार्य र सेवा अवधि समेत खुलाउनुपर्ने हुन्छ । तर महासेठलाई नियुक्त गर्दा प्रदेशसभा सचिवालयले त्यस्तो कुनै प्रक्रिया नै पूरा गरेको छैन ।