स्वास्थ्य राज्यमन्त्रीको ध्यान कर्मचारी सरुवा–बढुवामा

काठमाडौं । व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेको दुई महिना पुग्न लागेको छ । १० साउनमा राज्यमन्त्री नियुक्त भएसँगै विवादमा तानिएका उनको कार्यशैलीबाट मन्त्रालयका अधिकारीहरु आजित छन् ।

‘स्वास्थ्य क्षेत्रको विकृति हटाउन’ मन्त्री बनेको बताएका श्रेष्ठको प्राथमिकता कोरोना महामारी नियन्त्रणमा छैन । उनको ध्यान शक्ति केन्द्रको ईशारामा कर्मचारी सरुवा–बढुवा गर्नेमा केन्द्रित देखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘महामारी र स्वास्थ्य क्षेत्रको भद्रगोल व्यावस्थापनमा पटक्कै ध्यान देखिएन,’ एक अधिकारी भन्छन्, ‘शक्ति केन्द्र रिझाउन कानून विपरीत निर्णयहरु गर्ने, योग्यता नपुगेका कर्मचारीलाई महत्वपूर्ण निकायको जिम्मेवारी सुम्पिनेमा रमेको देखियो ।’

राज्यमन्त्री श्रेष्ठले विज्ञ कर्मचारीको सुझाव सुन्नेभन्दा शक्ति केन्द्रको स्वार्थ र निर्देशन अनुरुप निर्णयहरु गर्दा मन्त्रालयको काम कारबाही समेत प्रभावित हुँदै गएको अर्का एक अधिकारी बताउँछन् । बल्ल सुध्रिँदै गएको स्वास्थ क्षेत्रको ‘सिस्टम’लाई मन्त्री श्रेष्ठको कार्यशैलीले फेरि भताभुंग पार्दै लगेको उनले बताए ।

‘सचिव, सहसचिव लगायत कर्मचारीको अनावश्यक हेरफेर भइरहँदा मन्त्रालयले ‘फर्म’ रहेर काम गर्न नपाएको अवस्था छँदै थियो,’ उनी भन्छन्, ‘त्यसमाथि पटक–पटक बदलिने मन्त्रीले स्वार्थ मात्र हेर्दा महामारीपछि भताभुंग भएर सुध्रिँदै गएको सिस्टम नै भताभुंग बन्ने स्थिति देखिएको छ ।’ स्वास्थ्य मन्त्रालयको राजनीतिक नेतृत्व पाएपछि श्रेष्ठले गरेका विवादित चलखेलको फेहरिस्त लामै भइसकेको छ । तीमध्ये धेरैजसो सरुवासँग सम्बन्धित छन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.