अन्तत: चीनले मिचेको भूमि खोज्न अध्ययन समिति पुग्यो हुम्ला, १५ वटै सीमा स्तम्भको अवलोकन गर्ने

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ । उत्तरी सीमा क्षेत्रमा देखिएको सीमा विवादलागयत विषयको अध्ययन गर्न छानविन समिति हुम्ला पुगेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले उत्तरी छिमेकी चीनसँगको सीमा विवाद सल्टाउन गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा छानविन समिति बनाएका थिए। समिति शनिबार हुम्ला पुगेर सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।

छलफलपछि छानविन टोली सीमातिर लागेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ ।

अध्ययन टोलीले लिमी लाप्चासहित १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्ने कार्यतालिका छन् । लिमी लाप्चा क्षेत्रमा नेपाली भूभागमा चीनले भवन बनाएपछि विवाद उत्पन्न भएको थियो ।

तर तत्कालीन केपी ओली सरकारले उक्त भूभागलाई चीनकै हो भनिदिएपछि कांग्रेस नेता जीवनबहादुर शाही आफै स्थलगत अध्ययनमा गएर लिमी लाप्चामात्र होइन ८ ठाउँमा चीनले सीमामा भूमि मिचेको तथ्य बाहिर ल्याएका थिए । यो समस्यालाई हल गर्न चीनबाट भूमि फिर्ता गराउन देउवा सरकारले छानविन समिति बनाएको हो ।

Facebook Comments