एजेन्सी । चिनियाँ ऋणका कारण श्रीलंकाले अहिले वर्तमान समयमा आर्थिक संकटको सामना गरिरहेको छ । चीनको भारी ऋणका कारण सिर्जित अवस्थालाई मध्येनजर गरी श्रीलंकाले देशमा आपतकालीन खाद्य संकटको समेत घोषणा गरेको छ ।
मंगलबार खाद्य संकट भएको घोषणा गर्दै श्रीलंकाका राष्ट्रपति गोतावे राजापाक्षले भनेका छन्, ‘मुलुक यतिबेला भारी ऋणका कारण चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । बितरक कम्पनीहरुले चीनी, चामल र अन्य अत्यावश्यक खाद्य सामग्रीको भण्डारण नरोक्न आपतकालीन नियमहरु लागू गरिएको छ ।’
सोही क्रममा आर्थिक एवं भूराजनीतिक प्रभाव विस्तारका लागि चीनले अघि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट श्रीलंकालाई ऋण पासोमा परेर देशमा आर्थिक संकट निम्त्याएको छ ।
श्रीलंकाले चीनबाट सन् २०१० देखि सन् २०१५ सम्म ६.३ प्रतिशतसम्मको ब्याजदरमा ५ अर्ब अमेरिकी डलर ऋण लिएको थियो । यही ऋणमार्फत् श्रीलंकाले अत्यन्त महत्वाकांक्षी हम्बनटोटा बन्दरगाहको पूर्वाधार निर्माणमा लगानी गरेको थियो ।
चीनको ऋण तिर्न नसकेपछि भने श्रीलंकाले चाइना मर्चेन्ट होल्डिङ्स लिमिटेड नामक चिनियाँ कम्पनीलाई हम्बनटोटा बन्दरगाह सन् २०१७ मा १ अर्ब १२ करोड अमेरिकी डलरमा ९९ वर्षका लागि भाडामा दिनुपरेको थियो ।
अहिले पर्यटन व्यसायमा छाएको मन्दी, निर्यातमा उल्लेख्य गिरावट र भारी ऋणका कारण श्रीलंकाले पछिल्लो समय चरम आर्थिक संकट खेपिरहेको छ । साथै श्रीलंकामा २०२० मार्चयता देशको अर्थतन्त्र ३.६ प्रतिशतले घटेको बताइएको छ ।