काठमाडौं । ओमनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो।
पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा म्याचको अन्त्यतिर रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए।
नेपालको जितमा सर्वाधिक रोहितले ४१, ओपनर कुशल भुर्तेलले १५ रन बनाए भने डेब्यु खेलाडी आसिफ शेखले ३० रनमा बनाउदा सोमपालले २२ रनको योगदान दिए। आठौं विकेटका लागि रोहित र सोमपालले ५२ रनको महत्वपूर्ण साझेदारी गरे । पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डामिन राभुले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो । पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए ।
पीएनजीलाई ससतैमा समेट्ने क्रममा स्पीनर लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोब र कुशल मल्लले समान २/२ विकेट लिए । यस्तै, सोमपाल कामीले १ विकेट लिए । दुई खेलको सिरिज अन्तर्गत अबको दोस्रो खेल भने शुक्रबार हुनेछ ।











Facebook Comments