काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्दा कीर्ते गरेको पाइएको छ । घिसिङको नियुक्तिमा सरकारले गलत बाटो प्रयोग गरेको खुलेको हो । कुलमान घिसिङलाई गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले सरकारसँग जवाफ मागेपछि पठाइएको पत्रमा नै घिसिङलाई गलत बाटोबाट नियुक्ति गरेको प्रष्ट देखिन्छ । शाक्यले आफू प्राधिकरणको एमडी बहाल रहँदा नै घिसिङलाई एमडी नियुक्ति गरिएको कारण घिसिङको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै साउन ३२ गते सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।
सरकारले सर्वोच्चलाई पठाएको पत्रलाई नै आधार मान्ने हो भने कानुनतः अहिलेसम्म प्राधिकरणमा दुई जना प्रमुख (एमडी) देखिन्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वोच्चलाई पठाएको जवाफमा निवर्तमान एमडी हितेन्द्रदेव शाक्यको पद बदर गरिएको व्यहोरा उल्लेख गरिएकै छैन। जसले शाक्यको पद कायमै रहेको देखाउँछ ।
त्यसमाथि किर्तेमाथि कीर्ते गर्दै घिसिङको नियुक्ति भएको पाइन्छ । सरकारले २०७८ साउन २५ गते विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हीतेन्द्रदेव शाक्यलाई हटाएर सरकारले कुलमान घिसिङलाई नियुक्त गरेको जानकारी गरायो । तर, सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त दिन साउन २५ गतेको निर्णय सुनाउँदा कुलमानबारे कुनै निर्णय नभएको बताएका थिए ।
तर, एकाएक साउन २६ गते हिजैको निर्णय भन्दै घिसिङलाई प्रधिकरणको प्रमुख बनाइएको समाचारले सञ्चारमाध्यम भरिए । त्यसपछि शुरु भयो किर्तेको धन्दा । अघिल्लो दिन प्रवक्ताले कुनै पनि जानकारी नगराएको विषयमा एकाएक भोलिपल्ट मन्त्रीपरिषद्को अघिल्लो दिनकै निर्णय भन्दै कसरी समाचार प्रवाह भए त ? कतिपयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबपछि भोलिपल्ट निर्णय सच्याइएको आरोप लगाए पनि । जता जे भएपनि मन्त्रिपरिषद्को निर्णय भोलिपल्ट मिलाएको चाहिँ घटनाक्रमबाटै प्रष्ट हुन्छ ।
घिसिङलाई नियुक्त गर्न एकै दिन चार वटा निर्णय गरिएको छ । जल तथा ऊर्जा आयोगबाट ऊर्जा मन्त्रीलाई विशेषज्ञ पद माग गरी पठाएको पत्रको स्वीकृति, जल तथा ऊर्जा आयोग गठन आदेश संशोधन, अर्थ मन्त्रालयबाट सहमति प्रदान, हीतेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्यमा नियुक्ति विद्युतीय गतिमा एकै दिन गरिएको हो ।
२०७८ श्रावण २५ गते साँझ बसेको मन्त्रिपरिषदमा यी कुनै पनि विषयमा निर्णय नभएको जानकारी सरकारका प्रवक्तासमेत रहेका कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोहि दिन जानकारी गराएका थिए ।
कुलमानलाई नियुक्त गर्न ऊर्जा मन्त्रालयको प्रस्तावमा कार्यकारी निर्देशकको पद रिक्त भएको भनी उल्लेख छ । जबकि, मन्त्रीपरिषद्को कुनै पनि निर्णयबाट हीतेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने ०७७ माघ २६ को निर्णय बदर भएको देखिँदैन र शाक्यले राजिनामा दिएका पनि होइनन् ।
कानूनका जानकारहरूका अनुसार नेपाल सरकारको मिति २०७८ श्रावण २५ गतेको निर्णयले विद्युत् प्राधिकरणमा हीतेन्द्रदेव शाक्यको पदाधिकार कायमै रहेको अवस्थामा कुलमानको नियुक्ति भएको देखिन्छ ।
साउन २५ गते ५ बजेपछि मन्त्रिपरिषद् बैठक बसे पनि त्यही दिन अर्थ मन्त्रालयले आयोगको गठन विधि संशोधनअनुसार जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्यमा नियुक्त हुने व्यक्तिका लागि पारिश्रमिक तथा सुविधा आयोगले प्रस्ताव गरेअनुसार हुने भनेर स्वीकृत गरेको पत्र आएको उल्लेख छ। अर्थ मन्त्रालयको पत्रअनुसार शाक्यलाई प्राधिकरणको एमडीबाट हटाएको आधिकारिक निर्णयविना जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्य पदमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको छ।
मन्त्रिपरिषद्ले सोही दिन शाक्यलाई आयोगको सदस्य र घिसिङलाई एमडीमा नियुक्त गरेको निर्णय गरेको छ। मन्त्रिपरिषद्ले पहिला शाक्यलाई हटाएर एमडी पद रिक्त भएपछि उक्त रिक्त पदमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव जानुपर्ने थियो। तर, साउन २५ गते एक पटक मात्र मन्त्रिपरिषद् बैठक बसेको छ। त्यही बैठकमा शाक्यलाई आयोगको विशेषज्ञ सदस्यमा नियुक्ति र घिसिङलाई एमडीमा नियुक्ति गरिएको छ। दुई नियुक्ति एउटै मन्त्रिपरिषद् बैठकले गर्न सक्ने भए पनि प्राधिकरणमा शाक्यको एमडी पद कतिखेर रिक्त भयो भन्ने कतै उल्लेख छैन।
सर्वोच्चको आदेशअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यही भदौ ११ गते शुक्रबार सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा दर्ता नम्बर ११३३ मा दर्ता भएको कागजातमा कतै पनि हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको एमडीबाट हटाएर उक्त पद रिक्त भएको प्रमाण देखाउन सकेको छैन। सरकारले सर्वोच्चमा बुझाएको पत्रमा शाक्य एमडी भएकै बेला घिसिङ पनि एमडी भएको देखिन्छ।
शाक्यले प्राधिकरणको एमडी पदबाट राजीनामा पनि दिएका छैनन् र सरकारले हटाएर एमडी पद रिक्त भएको पनि छैन। सर्वोच्चमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा घिसिङलाई एमडीमा नियुक्ति गरिएको भनिएको छ तर शाक्य आफैँले पद त्याग गरे वा सरकारले शाक्यलाई हटायो भनेर उल्लेख गरिएको छैन।