बेइजिङ । चीनले आफ्नो राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै विद्यार्थीहरुले चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता सी जिङपिङको बिचारधारा अनिवार्य रुपमा लागू गरेको छ । समाजवादलाई प्राथमिकतामा राख्न प्राथमिक विद्यालयलदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरुले राष्ट्रपति सी जिङपिङको बिचार अनिवार्य रुपमा पढ्नुपर्ने बनाइएको हो ।
नयाँ पाठ्यक्रम मंगलबारदेखि जारी गरिएको छ । चीनको शिक्षा मन्त्रालयका अनुसार राष्ट्रपति सी जिङपिङको बिचार राष्ट्रिय पाठ्यक्रममा समावेश गराइँदा युवा पुस्तामा मार्क्सवादी बिचारधारा स्थापना गर्न मद्दत पुग्ने समेत बताइएको छ ।
नयाँ पाठ्यक्रमको लागि नयाँ निर्देशिकाहरु समेत जारी गरिएको छ । परिमार्जित पाठ्यक्रममार्फत विद्यार्थीहरुमा देशभक्तिको भावना र पार्टीको संकल्प पूरा गर्ने उद्देश्य राखिएको छ ।
राष्ट्रपति सी जिङपिङको बिचारधारामा आधारित परिमार्जित पाठ्यक्रमलाई सन् २०१८ को संविधानअनुसार जारी गरिएको हो । चीनका कतिपय विश्वविद्यालहरुमा पहिलेदेखि नै राष्ट्रपतिको बिचारधारा पठनपाठन गराउँदै आइएको छ । चीनका सबै तहका विद्यालयहरुमा राष्ट्रपतिको बिचारधारा अनिवार्य हुने गरी राष्ट्रिय पाठ्यक्रममा समावेश गराइएको यो पहिलो पटक हो।