काठमाडौं । नेपाली कांग्रेसले चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने प्रस्ताव गरेको थियो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्विकार गरेका छन् ।
गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले चीनले हुम्लामा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुटनीतिक पहल गर्ने भनेर राख्न खोजेको थियो तर प्रचण्डले त्यसलाई राख्न मानेनन् । जसपाले कुनै प्रतिक्रिया दिएन तर प्रचण्डले भने उक्त प्रस्तावलाई सिधै अस्विकार गरेका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उक्त प्रस्ताव प्रचण्डका कारण हटाउनु परेको जानकारी दिएका हुन् ।
बैठकमा उपसभापति विमेन्द्र निधिले सभापति देउवालाई सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नराखेको भनेर प्रश्न गरेका थिए । जवाफमा शेरबहादुर देउवाले आफूले चाहँदा चाहँदै प्रचण्डका कारण राख्न नसकेको बताएका छन् ।
कांग्रेस पार्टीका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययन गरेर चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएको निष्कर्ष निकालेर प्रतिवेदन सार्वजनिक गरेको थियो ।











Facebook Comments